नुवाकोट काहुलेका निर्दोष पांच युवाहरु सेनाद्वारा यसरी मारिएका थिए ।


यो वर्ष बृहत् शान्ति सम्झौता (२०६३ मंसिर ५ गते) भएको १० बर्ष पुगेको छ । बृहत् शान्ति सम्झौेता भएको १० वर्ष पारेर हामीले १० वर्षे द्वन्द्वकालका मानवीय पीडाका कथाहरू प्रकाशित गर्ने जमर्को गरेका छौ  । आउँदा दिनहरुमा यस्ता कथाहरु भेटेसम्म नियमित रुपमा प्रकाशित गर्दै जाने छौं ।
द्वन्द्वका कथाहरू प्रकाशित गर्ने क्रममा आज हामीले प्रभातकिरण कोइरालाले संयोजन गरेको मिडिया फाउण्डेसनको प्रकाशन ‘नेपालको संक्रमणकालीन न्याय प्रक्रियाका कथाहरू’ को संगालो बुक ‘घाउमा मलम’बाट लिएका छौं ।
नुवाकोट जिल्लामा २०५९ मंसीरमा भएको घटनाबारे घाउमा मलम बुकबाट यस पटक पत्रकार दीपक अधिकारीले स्थलगत अनुसन्धान गरी लेखेको मार्मिक र बास्तविक कथा ‘काहुलेका निर्दोष युवा’ शीर्षकको राखेका छौं (सम्पादक) ।

दीपक अधिकारी

काहुले–४, नुवाकोट बस्ने बुद्धिबहादुर तामाङको घरमा २०५९ मंसीर १२ गते बिहान झिसमिसेमै एक हुल सेना आए । “माथि डाडामा माओवादी मारेको छ, लाश पुर्न बेल्चा, कोदालो बोकेर हिंड्नुस्,” उनीहरू मध्येको एउटा सैनिकले भन्यो । गाउको आफ्नो तीन रोपनी पाखोबारीबाट गुजारा चलाउदै आएका बुद्धिबहादुर सेनासगै उकालो लागे ।

माथि वालागाङ भन्ने कुलो छेउमा रहेको घटनास्थलमा पुग्दा उनलाई थाहा भयो, मारिनेमा आफ्नै १६ वर्षीय छोरा चन्द्रमान तामाङ समेत रहेछन् । “बाबु त्यो देख्ने बित्तिकै रोएर बेहोश भयो,” चन्द्रमानकी ४० वर्षीया आमा नरूमाया तामाङले भनिन् । अरू गाउले पनि भेला भए । एउटै गाउका ५ जना युवकको हत्या भएको देखेर पूरै गाउ“ एकसाथ शोक र आक्रोशमा डुब्यो । “मलाई त सेना गइसकेपछि मात्र थाहा भयो,” घटना भएको ८ वर्षपछि हालै नरूमायाले यस लेखकलाई बताइन् । “रोएर जिउ छाडेपछि मलाई पनि गाउलेहरूले त्यहा“ लिएर गए ।” पछि गएर अघिल्लो रात मारिएका ५ जनाको नाम सार्वजनिक गरियो । उनीहरू थिए— १४ वर्षका कान्छामान तामाङ, १५ वर्षका चोक्ता तामाङ, १६ वर्षका चन्द्रमान तामाङ अनि १७ वर्षका जितबहादुर तामाङ र परिमान तामाङ ।

मंसीर ११ गते साझ घटनास्थलबाट ४५ मिनेटमा हिडेर पुगिने गुम्बाडाडामा केही समयअघि दिवंगत भएका पुर्को तामाङको घेवा हुदै थियो । घेवा तामाङ जातिले मृत्युको तेह्र दिनपछि तीन दिनसम्म मनाउने मृत्यु संस्कार हो । पचासी वर्षे पुर्को तामाङ वालागाङमा मारिएका कतिपय ती ५ युवाहरूका हजुरबुबा पर्थे । झण्डै शत्प्रतिशत तामाङ रहेको त्यस गाउमा बस्ने पुर्कोका आफन्तहरू चामल, कोदो, रक्सी र पैसा बोकेर घेवाको अन्तिम दिन त्यहा भेला भएका थिए ।

“करिब पाचसय जति भेला भएका थियौ“,” मृतक परिमानका दाजु कालुमान तामाङले सुनाए, “भोलिपल्ट पाचै भाइ गाउ“ छाड्दै थिए ।” जितबहादुर काठमाडौमा दैनिक ज्यालादारी काम गर्थे भने पाच कक्षा पढेर छाडेका परिमान पोखराको एक पसलमा सहयोगी थिए । चन्द्रमान, चोक्ता र कान्छामान स्थानीय पञ्चलिङ्ग निमाविमा क्रमशः ८, ७ र कान्छामान ६ कक्षामा पढ्थे । “मैले मेरो भाइ (परिमान) लाई त्यहा“ भेटेको थिए“ । राति एक बजेसम्म उनीहरू रमाइलो गर्दै थिए,” कालुमानले बताए ।

त्यसअघि कहिल्यै पनि सेना गस्ती गर्दै त्यस गाउमा पाइलो टेकेकोे हेक्का गाउलेहरूलाई थिएन । तर, मंसीर ११ गते झण्डै २ सयको संख्यामा सेनाको गस्ती डाडागाउबाट काहुलेतर्फ अघि बढ्यो । काहुले–४ मा पुग्दा रात परेपछि अर्को गाउ“ भाल्चे जाने योजना स्थगित गर्दै उनीहरूले त्यहीं सेन्ट्री बस्ने निधो गरे । कालुमानका अनुसार सैनिकहरूले वालागाङ भन्ने कुलोदेखि अलि मास्तिरको घरबाट २० लिटर रक्सी लिएर गए र नजिकैको खेतमा पाल टागेर बसे ।

राती १ बजे १५ जना युवाको समूह घेवाबाट घर जान हिंड्यो । सेनाको गस्ती गाउमा आएको बारे उनीहरू बेखबर थिए । टर्चलाइट र राकोको भरमा हिंडिरहेको त्यो समूहबीच बाटोमा घर हुनेहरूलाई छाड्दै अघि बढ्दै थियो । उक्त समूहमा केही महिला समेत रहेकाले उनीहरूलाई घर पुर्याउदै युवाहरू अघि बढ्दै थिए । लामाराङ भन्ने ठाउनेर आइपुगेपछि ७ जना युवक बाकी रहे । तीमध्ये दुई जना त्यहाबाट सोझै आफ्नो घरतिर लागे । बाकी ५ जना डाडैडाडाको बाटो ओरालो झरे । अचानक राती १ः४५ बजे गोली पड्केको आवाज आयो । त्यसको १५ मिनेटपछि फेरि गोली चल्यो । पहिलो फाइरिङमा चन्द्रमान, चोक्ता र कान्छामानको ज्यान गएछ, दोस्रोमा परिमान र जितबहादुरको । चार जनाको लाश लस्करै कुलोमा भोलिपल्ट फेला परेको थियो । अर्को एकजनाको लाश गहुँको खेतमा लडेको पाइयो । कालुमानका अनुसार चन्द्रको छातीमा, परिमानको खुट्टामा, जितबहादुरको भूँडिमा, कान्छामानको निधारमा अनि चोक्ताको दाया“ खुट्टामा गोली लागेको थियो ।

त्यसअघि त्यस्तो घटना नभएको गाउमा ५ युवाको हत्याले सबैलाई मर्माहत बनायो । सेनाले रक्सी लिएर गएको घटनास्थल छेउको घरका मानिसहरू घरै छाडेर भागिसकेका थिए । बिहान साढे दस बजेसम्म पनि लाश सेनाले आफ्नो नियन्त्रणमा राख्यो । सेना हिंडेपछि मात्र आफन्तहरूले मृतकका शरीरलाई हेर्न पाए । सबैजना शोकमा डुबेका थिए । दिउसो अबेरमात्र लाश जलाउन नजिकैको दोङ्गाले डाडा लगियो ।
“दुई–तीनसय गाउले भेला भएका थिए,”। कालुमान सम्झिन्छन् । स्कुल बन्द भयो, शिक्षक विद्यार्थी सबै घटनास्थल आए । लाश जलाउन थालियो । तर, जलाएर नसक्दैे सेनाबाट ‘त्यहा“ नबस्नू’ भन्ने खबर आएकाले मलामीहरूले अधुरै छोडेर हिंड्नु परेको कालुमान बताउछन् । “भोलिपल्ट घर–घरबाट दाउरा लगेर जलायौं,” उनले भने ।

नुवाकोटको त्यस विकट र अविकसित गाउमा भएको घटनाले चर्चा पायो, तर झण्डै दुई सातापछि मात्र । २०५९ मंसिर २५ गते कान्तिपुर दैनिकको पहिलो पेजमा ‘सेनाद्वारा स्कुले किशोर मारिएको दावी, क्षतिपूर्ति माग’ शीर्षकमा समाचार छापियो । तर, घटना लगत्तै रक्षा मन्त्रालयले मंसीर १३ गते जारी गरेको विज्ञप्तिमा भनेको थियो, ‘काहुले इलाकामा सुरक्षाफौजको अस्थायी सुरक्षा बेसको पेरिमिटर इलाकामा केही व्यक्तिहरूलाई शंकास्पद गतिविधि गरेकोले सुरक्षा सेन्ट्रीको कारवाहीमा पांच  शंकास्पद व्यक्तिको मृत्यु भयो ।’

एकजना चिनेको सैनिकले ‘अन्योलमा पर्यो, तपाईंहरूको भाइ परेछ’ भनेर गल्ती स्वीकारेको कालुमान बताउछन् । तर, पीडित परिवार चूप लागेर बसेन । मंसिर २५ गते जिल्ला प्रशासन कार्यालय नुवाकोटमा ‘क्षतिपूर्ति पाउं भनी निवेदन दिए । त्यसपछि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बाट समेत छानबिनका लागि प्रतिनिधि गाउ“ आएको उनी बताउछन् । ती निर्दोष युवाहरूलाई ‘हाम्रो पार्टीका हुन्’ भनेर अन्यत्र जस्तो माओवादीले पनि दावी गर्न नसकेको उनको भनाइ छ । कालुमानका अनुसार सैनिक मुख्यालयले समेत पत्रकार सम्मेलन गरेर त्यो घटना गल्तीले हुन पुगेको जनाएको थियो ।

कालुमानको भनाइमा घटनापछि माओवादीले हस्तक्षेप गर्ने प्रयास गर्यो । “पैसा लिन सदरमुकाम जान खोज्दा पैसा नलिनू भन्थ्यो,” उनले बताए । गाउकै दुई–तीन जना माओवादी र बाहिरका ३–४ जनाले त्यसो भनेको उनी बताउछन् । “हामी यताबाट त्रिशुली जान नसक्ने,” नरूमायाले भनिन् । त्यसबेला मुलुकमा द्वन्द्व उत्कर्षमा पुगेको थियो । २०५२ फागुन १ गतेदेखि माओवादीले शुरू गरेको सशस्त्र युद्धमा परी ४ हजार ३ सय ९४ जनाले ज्यान गुमाइसकेका थिए त्यतिबेलासम्म । मुलुकका ३ जिल्लामा सानातिना आक्रमण गरेर उक्त भूमिगत दलले शुरू गरेको कथित ‘जनयुद्ध’ मेचीदेखि महाकालीसम्म फैलिसकेको थियो । एकाध जिल्ला मात्र द्वन्द्वबाट अछुतो थिए । माओवादीविरूद्ध लड्न सरकारले छुट्टै सशस्त्र प्रहरी बल समेत गठन गरिसकेको थियो ।

राजा ज्ञानेन्द्रले २०५९ असोज १८ मा सत्ता कब्जा गरे । उनले पञ्चायतका अन्तिम दिनमा प्रधानमन्त्री रहेका लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्री बनाएका थिए । चन्दभन्दा अगाडि प्रधानमन्त्री रहेका शेरबहादुर देउवालाई संसदको चुनाव गराउन नसकेकोमा ‘असक्षम’ घोषित गर्दै हटाएका थिए । सात वर्षदेखि सशस्त्र विद्रोह गरिरहेको माओवादीविरूद्ध सेना परिचालन भएको एक वर्ष मात्र भएको थियो ।अर्कोतिर नेपाली कांग्रेस, एमालेजस्ता राजनीतिक दलहरूले ‘शाही कदम’ बिरूद्धको आन्दोलनमा सडक तताउन थालेका थिए । असोज १८ को कदममार्फत तत्कालीन राजाले राजनीतिक दलहरूलाई पाखा लगाएर पञ्चायती पृष्ठभूमिका नेताहरूलाई मन्त्री बनाएका थिए । तर, कमल चौंलागाई र राधाकृष्ण मैनालीजस्ता एमाले नेताहरूसमेत राजाको सरकारमा सहभागी भएको अनौठो अवस्था थियो । किनारा लगाइएका दल, राजाको सरकार र भूमिगत माओवादी विद्रोही तीन थरिको शक्ति संघर्षको चपेटामा मुलुक परेको थियो ।

हुन त यी ठूला घटनाले बुद्धिबहादुर र नरूमायाको परिवारलाई केही असर नगर्नुपर्ने हो । तर त्यो युद्ध उनीहरूको घर आगनमै आइछाड्यो । घटनास्थलबाट सबभन्दा नजिक घर भएका चन्द्रमानकी आमा नरूमाया आफ्नो छोरालाई तेज दिमाग भएको र घरको काममा आफूहरूलाई सघाउने व्यक्तिको रूपमा सम्झिन्छिन् । “हुर्केको त्यही एउटा थियो,” उनी भन्छिन्, “बिहान बेलुका मलाई घरमा सघाउथ्यो ।” फुटबल खेल्न रूचि राख्ने चन्द्र त्यसदिन दिउसो स्कूलबाट घर फर्किएका थिए । “खाना खाएपछि उसको साथीहरू घेवामा जाउ भन्दै आएछ,” उनले भनिन्, “नजा भन्दाभन्दै राति आठ बजे हिडेछ ।” उनले राति आफ्नो छोरा साथीहरूसितै सुत्यो होला भन्ठानिन् ।

घटनापछि गाउलेले उजुरी गरेपनि केही दिन त्रासको वातावरण रहेको कालुमान बताउछन् । माओवादीले राहत नलिन दबाब दिएको उनको भनाइ छ । तर, २०६१ सालमा प्रत्येक परिवारले १ लाख रूपैया“ पायो । “एक लाख पाए पनि, दुई लाख पाए पनि आफ्नो छोरा छैन,” नरूमाया भन्छिन् । त्यो पैसा ऋण तिर्दातिर्दै सकिएको उनले बताइन् । उनका श्रीमान बुद्धिबहादुरलाई क्षयरोगले समात्यो । गत फागुनदेखि उनी काठमाडौँमा मिस्त्री काम गर्छन् । “ऊ पनि छोराकै शोकले बिरामी भयो,” उनी भन्छिन् । २० वर्षीया छोरी चोक्तिमायाको विवाह भइसकेको छ भने १६ वर्षीया अर्की छोरी जलमाया घरमै छिन् । १४ वर्षका छोरा सन्तकुमार भारतको हिमाञ्चल प्रदेशमा बुद्ध धर्मसम्बन्धी अध्ययनका लागि गएका रहेछन् । “गाउमा बसेपछि यस्तो घटना हुँदोरहेछ भनेर पठाएको,” उनी भन्छिन् । उनको कान्छो छोरा सञ्जीव अहिले ५ वर्षका भए । उनी चन्द्रको निधनपछि जन्मिएका रहेछन् ।

घरमा भएको एकमात्र तस्बीरमा चन्द्र बौद्ध भिक्षुको पोशाकमा अर्का एक युवासग देखिन्छन् । हाल कतारमा रहेका उनका फुपुका छोरासित खिचिएको त्यस तस्बीरमा खिरिलो ज्यानका चन्द्र हल्का ढंगले मुस्काउन खोजेजस्ता देखिन्छन् । नरूमायाको टिनको छानो भएको तीनतले कच्ची घर छ । वरिपरि झुरूप्प घरहरू छन् । कुराकानीकँ लागि म त्यहाँ  पुग्दा छिमेकका अधिकांश सदस्य नरूमायाको सिकुवामा भेला भए । “कहीं पनि जादिन, बच्चा र बाख्रा हेर्दै ठिक्क हुन्छ,” उनले भनिन्, “काम गर्ने मान्छे छैन ।”

हत्या किन गरियो, खास कुन–कुन व्यक्तिहरूले गरे भन्नेबारे आधिकारिक रूपमा मृतकका परिवारहरूलाई जानकारी गराइएको छैन । काठमाडौँका शक्ति केन्द्रहरूमा यसबारे बहस भए होला तर पीडितलाई केही थाहा छैन । नरूमायाले यतिमात्र भनिन्, दोषीहरूलाई कारवाही हुनुपर्छ । तर, दोषी सैनिकहरूको हालसम्म पहिचान भएको छैन । मृतकका आफन्तहरू उनीहरूलाई माफी दिने कुरा सोच्नसम्म पनि सक्दैनन् । कालुमानका अनुसार उनीहरूलाई थुनामा राख्नुपर्छ, दण्डहीनताको अन्त्य हुनुपर्छ, माओवादीभित्र होस् वा सेनामा ।

सरकारले दिएको क्षतिपूर्तिको रकमले काजक्रिया गर्न मात्र पुगेको कुरा सो घटनामा भाइ गुमाएका कालुमान बताउछन् । अहिले मृतकका आफन्तहरू सबै मृतकहरूको नाममा एउटा स्मारक बनाउन चाहन्छन् । त्यसका लागि सरकारको सहयोगको आशा गर्छन् । तर, सरकारले पीडित परिवारलाई घरी कोरिया लगिदिने, घरी १० लाख दिनेजस्ता आश्वासन मात्र दिएको उनी सुनाउछन् । “काठमाडौँ गयो, नेताकोमा धायो । हैरान भइसक्यो,” उनी भन्छन्, “भाइहरू त फर्किनेवाला छैन ।” तर, सो घटनापछि चाहिं सेना गाउ नआएकोले शान्ति भएको उनी बताउछन् । “घटना भएपछि चाहि“ सेना पनि छिर्न सकेन, माओवादी पनि आउन सकेन,” उनी भन्छन्, “निर्दोष बच्चाहरू मारिएको थाहा भएपछि उनीहरू २–३ महिना गाउ आएनन् ।”

कालुमानको विचारमा यस्ता घटनाहरू फेरि नदोहोरिउन् भन्नका लागि देशको न्याय प्रणालीमा सुधार गर्नु आवश्यक छ । नेताहरूले संविधानमा जनताका हक अधिकार सुनिश्चित गर्नुपर्छ । सर्वसाधारणले आफ्नो जीवन गुमाउनु नपरोस् भन्ने कुरा उनीहरूले निश्चित गर्नु पर्छ ।
झण्डै ३,४०० जनसंख्या भएको काहुलेमा एउटा कच्ची बाटो पुगेको छ । गाउमा पानीको अभाव हुदाहुदै पनि डेढ वर्षदेखि मटरकोसा खेती गरेर केही आर्जन हुन थालेको छ । तर पुरूष जति कामका लागि खाडी राष्ट्रहरूतिर जाने र युवतीहरू केटी बेच्ने दलालको फन्दामा पर्दै आएको अवस्था छ । राजधानीबाट करिब एकसय किलोमिटर टाढाको यो गाउ नेताहरूका लागि सिंहदरबारको कुर्सी सुरक्षित गर्ने थलो बाहेक केही हुन सकेको छैन । यहीँबाट डा. प्रकाशचन्द्र लोहनी र अर्जुननरसिंह केसीले आफ्नो राजनीति अघि बढाएका हुन् । माओवादी नेता पोष्टबहादुर बोगटीको पहिलेको घर पनि त्यति टाढा छैन । नजिकैको सातदोबाटे भन्ने ठाउमा २०५७ सालमा बोगटीका छोरा प्रकाशको हत्या गरिएको थियो ।

काहुलेको घटनाले राष्ट्रिय–अन्तर्राष्ट्रिय चर्चा पायो । तत्कालीन शाही नेपाली सेनाले उसको मानवअधिकार सेलका सेनानी पंकज कार्कीसहित तीन सदस्य टोली गठन गर्यो । ‘नेपाल साप्ताहिक’ पत्रिकाका अनुसार सो टोलीले गाउका झण्डै ६० जनासँग सोधपुछ गरेको थियो ।
तर घटना भएको १३ वर्षपछि पनि काहुलेको जीवन उस्तै छ । अहिले पनि गाउलेहरूले २०५९ मंसीरको त्यस रातलाई बिर्सन सकेका छैनन् जतिखेर गाउका पाच निर्दोष किशोर एकैचिहान भएका थिए ।

Loading...

यसमा तपाइको मत