क्रान्तिकारीको महासचिवमा डि. वि. साउदको चर्चा


अखिल (क्रान्तिकारी) माओवादी केन्द्रको प्रभावशाली भातृसंस्था मात्रै नभई नेपालको एक ठुलो विद्यार्थी संगठन पनि हो । लामो समयदेखि सहमतिमै नेतृत्व चयन गर्ने क्रान्तिकारीले यसपटक अन्य विद्यार्थी संगठन झैं लोकतान्त्रिक प्रकृयाबाट नेतृत्व चयन गर्ने भएको छ । प्रस्तुत छ, अखिल क्रान्तिकारीको आसन्न सम्मेलनको तयारी, संगठनका गतिविधि लगायतका विषयवस्तुको सन्दर्भमा क्रान्तिकारीका प्रदेश नं. ३ का सह–संयोजक एवं वरिष्ठ सचिवालय सदस्य डि. वि. साउदसंग त्रिशुली खबर प्रतिनिधिले गरेको संक्षिप्त कुराकानी –

तपाईंहरुको राष्ट्रिय सम्मेलनको तयारी कस्तो छ ?
हाम्रो २१ औं राष्ट्रिय सम्मेलन “राष्ट्रियता र समाजवादी अभियान – सुदृढ संगठनको लागि एकताको २१ औं राष्ट्रिय सम्मेलन” भन्ने नाराका साथ भाद्र ७ गतेदेखि ११ गतेसम्म राजधानी काठमाडौंमै सम्पन्न गर्ने तयारी गरिरहेका छौं । करिव ११०० आयोजक कमिटीका सदस्यहरु सहित देशभरिका शैक्षिक संस्थाबाट २ हजार ७६ जना सम्मेलनमा सहभागि हुँदैछन् । सम्मेलन अत्यन्तै सभ्य र भव्य बनाउनका निम्ती विभिन्न उप–समितिहरु निर्माण भई आ–आफ्नो काममा लागिसकेका छन् । एक हिसावले भन्ने हो भने हाम्रो सम्मेलनका कारण देशभरिका शैक्षिक संस्थाहरु अखिल (क्रान्तिकारी) मय  बनेका छन् ।

यसपटक क्रान्तिकारीको नेतृत्व चयन पनि निर्वाचनबाट हुन लागेको हो ?
हेर्नुहोस, संगठनको नेतृत्व निर्माण गर्ने कुरा केवल नेता चुन्ने मात्रै विषयवस्तु होइन रहेछ । त्यसैले प्रभावकारी निती सहितको सक्षम नेतृत्व आजको आवश्यकता बनेको छ । देशभरिका वढिभन्दा बढि विद्यार्थीले रुचाएको नेतृत्व चयन गर्ने र त्यसका लािग लोकतान्त्रिक प्रकृया अवलम्बन गर्ने की भन्ने कोणबाट हाम्रो संगठनमा यस्तो बहस चलेको सत्य हो । तर के चाहीं सत्य होइन भने लोकतान्त्रिक प्रकृयाका नाममा सहमतिका सबै ढोका बन्द गरिएका छैनन् । हाम्रो पहिलो जोड र अधिकतम प्रयास सहमतिमै नेतृत्व चयन गर्नमै रहनेछ । देशैभरिका आम प्रतिनिधीको चाहना पनि यही हो ।

अखिल (क्रान्तिकारी) को २१ औं राष्ट्रिय सम्मेलनका शैक्षिक एजेण्डाहरु के के हुन ?
अखिल (क्रान्तिकारी) को विगत लामो समय देखिको  शैक्षिक आन्दोलन नेपालमा समाजवादी शिक्षा कार्यान्वयन गर्नमै केन्द्रीत रहेको सर्वविदितै छ । यस अन्तर्गत हाम्रो २१ औं राष्ट्रिय सम्मेलनले पनि समाजवादी शिक्षा कार्यान्वयनका लागि शिक्षामा आमुल परिवर्तन, सुधार र राज्यकेन्द्रीत शिक्षाको अवधारणा अगाडी बढाउँदै शैक्षिक माफिया र निजीकरणको पर्दाफास गर्ने लक्ष्य राखेको छ । अखिल (क्रान्तिकारी) शिक्षाको आधारभुत तहबाटनै जनवादी र वैज्ञानिक शिक्षा लागु गराउन चाहन्छ । हाम्रा अन्य शैक्षिक ऐजेण्डाहरु यस अन्तर्गत नै पर्छन ।

अब प्रशङ्ग बदलौं, विगत लामो समयदेखि तपाईं अखिल (क्रान्तिकारी)को आन्दोलनमा सकृय हुनुहुन्छ , सम्मेलनमा तपाईंको व्यक्तिगत तयारी के हो ?
अखिल (क्रान्तिकारी)संग मेरो राजनैतिक साइनो शसस्त्र द्वन्दको समयमा सुदुर पश्चिमको दुर्गम जिल्ला अछामको अन्नपुर्ण मा.वि. कालागाउँमा २०५७ सालमा संस्थापक अध्यक्ष बने देखि नै हो । उच्च शिक्षा अध्ययनको सिलसिलामा राजधानी छिरेपछी एमाले अखिलको दवदवा रहेको अश्कल क्याम्पसमा शान्ति प्रकृया पछिको संस्थापक अध्यक्षकै रुपमा काम गर्न थालियो । लगातार ३ पटक अस्कलको अध्यक्षको रुपमा काम गर्दा गर्दै २०६५ सालको स्ववियु निर्वाचनमा मेरै नेतृत्वको टिमले अस्कलमा दई तिहाइ सदस्य र पदाधिकारी जित्न सफल भएको थियो । हाल अस्कलमा ११ वटा क्याम्पस सम्मेलन सम्पन्न हुँदै गर्दा काठमाडौ क्याम्पस जिल्लाको २÷२ कार्यकाल कोषाध्यक्ष, केन्द्रीय सदस्य, काठमाडौ इन्चार्ज, केन्द्रीय सचिवालय सदस्य एवं ३ नं. प्रदेशको सह–संयोजक सहित उपत्यकाको महत्वपुर्ण जिम्मेवारी सम्हालिसकेको आधारमा म स्वभाविक रुपमा अखिल (क्रान्तिकारी) को महासचिवको उम्मेदवार हुनुपर्ने हो । यद्यपी म छलफल र आपसी सहमतिमा बढी विश्वास गर्ने भएकाले अन्य विकल्पमा पनि छलफल गर्न सकिन्छ । मेरो वास्तविक उम्मेदवारी महासचिवमै हुनेछ ।

Loading...

यसमा तपाइको मत