हरिवंशको बक्सिङले मेरो नाकै फुट्यो : किरण केसी


किरण केसीको कलाकारिता जीवन तीन दशक हाराहारीको छ । धेरै फिल्म, टेलिफिल्म र स्टेजमा उनले प्रस्तुति दिएका छन् । उनको अभिनय हास्यव्यंग्यमा बढी जमेको छ । हँसाएरै उनले दशकौँ समय बिताए । यो अवधिमा तीता–मीठा धेरै अनुभव सँगाले । कतिपय अनुभव भुलेर पनि भुल्न नसक्ने खालका हुन्छन् ।

कलाकारिताको क्षेत्रमा काम गर्दा उनीसँग एउटा गज्जवको अनुभूति पनि छ । त्यो हो, – हरिवंशले पन्चले उनको नाकै फ्याक्चर भएको घटना ।

घटना झन्डै १५ वर्षअघिको हो । हरिवंश आचार्यसँग एउटा नाटक खेलेको थिएँ । नाटकको नाम के हो याद भएन । तर, मैले र हरिवंशले बक्सिङ खेल्नुपर्ने सिन थियो । नाटक अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (अहिलेको संसद् भवन)मा भएको थियो ।

नाटकमा अभिनयबारे पहिला रिहर्सल भएको थिएन । हामीले बक्सिङको तयारी गरेका थिएनौँ । सीधै गर्न सकिहालिन्छ नि भन्ने भयो । तर, जब त्यो रोल सुरु भयो, परिस्थिति नसोचेको भयो ।

एकचोटि हान्ने र छल्ने भन्ने थियो । हरिवंशले बक्सिङ ग्लोबले हान्दा मैले त छल्नै सकेनछु । मेरो त नाकमै पच्याक्क भयो । रगत झरिहाल्यो । दर्शकले खासै मेसो पाएनन् । मैले नाकबाट निस्केको रगत तत्काल सिँगान पुछेझैँ पुछेर हरिको जिउभरि छर्किदिएँ । नाटक गर्दा साँच्चिकै बनेर निम्तिएको यो घटना पनि भुल्न सक्दिनँ ।

यसमा तपाइको मत