पौड्यालको “त्यसपछि फुलेन गोदावरी” विमोचित


भाद्र १६, काठमाडौं । कथाकार तथा समालोचक महेश पौड्यालको बहुप्रतिक्षित कथा सङग्रह “त्यसपछि फुलेन गोदावरी ” को आज विमोचन गरिएको छ । राजधानीको प्रज्ञा प्रतिष्ठानमा आयोजित एक विमोचन समारोहका वीच त्रिभुवन विश्वविद्यालय अङ्ग्रेजी विभागका प्रमुख अम्मरराज जोशी, प्राज्ञ मातृका पोखरेल, प्रा.डा. अभि सुवेदी, साहित्यकार डा. नवराज लम्साल र समालोचक कुमारी लामाले उक्त कथा सङ्ग्रहको संयुक्तरुपमा विमाचन गर्नु भयो ।

कथाको समिक्षा गर्दै प्रा.डा. अभि सुवेदीले पौड्यालको साहित्यिक उर्जा तारिफ योग्य भएको बताउनु भयो । उहाँले कथा सङ्ग्रहमा पात्रहरुलाई बढि उत्तेजक बनाएको आरोप पनि पौड्याल माथि लगाउनु भयो । त्यस्तै, प्राज्ञ मातृका पोखरेलले कथा मार्फत पौड्यालले नयाँ ट्रेन्डको सुरुवात गरेका बताउनु भयो । समारोहमा कथा वाचन समेत गरेका डा. नवराज लम्सालले कथाकार पौड्यालले पात्ररुको चयन गर्दा काल्पनिक भन्दा पनि समाजमा जे भेटिए त्यहिलाई उतारेको प्रतिक्रिया दिए । कथामा लेखक हावी नहुन प्रशंसनिय पक्ष भएको जिकिर गर्दै पौड्यालले भाषामा आफ्नोपनको नयाँ प्रयोग गरेको पनि बताए ।

गत वर्ष पुत्र गुमाएका पौड्यालले उक्त पिडालाई सङ्ग्रहको सुरुमै “नर्सरी” शिर्षक मार्फत उजागर गरेका छन् । जम्मा वीस वटा कथाहरु समेटिएको उक्त कथा सङ्ग्रहमा अस्थिरता, वियोग, विक्षिप्तता, विद्रोह र अभाव जस्ता विषयहरु समेटिएका छन् ।

यसमा तपाइको मत