राप्रपालाई राष्ट्रिय राजनीतिमा स्थापित गराएरै छाड्ने प्रण


२८ भदौ,पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाल कहिल्यै हिन्दूराष्ट्र नहोस् भन्ने चाहने र नेपालमा राजसंस्थाको पुनस्र्थापना नहोस् भन्ने आत्मसमर्पणवादी मानसिकता भएकाहरुले पार्टी विभाजन गराएको बताउनुभएको छ । पश्चिमाञ्चलका स्थानीय तहका अध्यक्षहरुको सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष थापाले राप्रपालाई कमजोर बनाउन लागीपरेकाहरुलाई परास्त गर्दै राप्रपालाई नेपालको राष्ट्रिय राजनीतिमा जबर्जस्त ढंगबाट स्थापित गराएरै छाड्ने प्रण गर्नुभयो ।

पार्टी विभाजनमा पशुपति शम्सेर राणा केवल मोहरा मात्र भएको बताउँदै अध्यक्ष थापाले पार्टी एकिकरणसँगै आएका केही भ्रष्ट र सत्ता लोभीहरूको क्षणीक स्वार्थपूर्ति भएपनि त्यो दिगो नहुने बताउनुभयो । पार्टी विभाजनबाट विचलीत नभइ आगामी प्रदेशसभा र प्रतिनिधीसभाको निर्वाचनलाई मध्यनजर गरेर संगठन निर्माणमा लाग्न उहाँले कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तोरणबहादुर गुरुङ, हेमजंग गुरुङ, डा. भिमसेन गुरुङ, दिलविकास राजभण्डारी, कुलबहादुर गुरुङ ‘कुलु’, गिता गुरुङ, इन्द्रबहादुर मल्ल लगायतका नेताहरुले सम्बोधन गर्नुभएको थियो । राप्रपा कास्कीका जिल्ला अध्यक्ष जयलाल पुनको सभापतित्वमा सम्पन्न उक्त उद्घाटन सत्रमा विभिन्न पार्टी परित्याग गरि राप्रपा प्रवेश गर्नुहुने दर्जनौं व्यक्तित्वहरुलाई पार्टी सदस्यता प्रदान गरी अध्यक्ष कमल थापाले स्वागत गर्नुभएको थियो ।

Loading...

यसमा तपाइको मत