पुराना पार्टीहरुबाट समृद्धि सम्भव छैन : डा. बाबुराम


ललितपुर, १२ मंसिर । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले पुराना पार्टीहरुबाट समृद्धि सम्भव नभएको बताउनुभएको छ ।
ललितपुरको प्याङगाउँमा मंगलबार नयाँ शक्ति पार्टीले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्नुहुँदै उहाँले ठूला पार्टीका शीर्ष नेताहरु अरबौंका अनियमितता काण्डसँग जोडिएकोले उहाँहरुको नेतृत्वमा समृद्धि सम्भव नभएको बताउनुभएको हो । ‘म दावीका साथ भन्न सक्छु, तीन पार्टीका शीर्ष नेताहरु अरबौं अनियमितताका खेलहरुमा सहभागी छन्,’उहाँले भन्नुभयो, ‘चुहिने भाँडोमा पानी हालेर भाँडो भरिन्नँ । भ्रष्टाटारको अन्त्य समृद्धिको अर्को महत्वपूर्ण शर्त रहेको उहाँको तर्क थियो ।
संयोजक भट्टराईले माओवादीलाई एमालेमा विलिन गराएपछि आफ्ना पूर्वसहकर्मी प्रचण्डले जननिर्वाचित कार्यकारी राष्ट्रपतिको एजेन्डा छाडेको बताउनुभयो ।‘एकपटक भित्ते राष्ट्रपतिको रुपमा चर्चित मेरा मित्र प्रचण्डजीले पार्टीलाई एमालेसँग विलिन गरेसँगै कार्यकारी राष्ट्रपतिको मुद्दा छाडिदिनुभयो,’ उहाँले भन्नुभयो, ‘उहाँहरुको घोषणापत्र हेर्नुहोस्, उक्त एजेण्डा नै गायव छ ।’ कांग्रेसका लागि संसदीय व्यवस्था नै सर्वोपरि भएकोले उनीहरुबाट शासकीय स्वरुप परिवर्तनको अपेक्षा नभएको उहाँको तर्क थियो ।
उहाँले भन्नुभयो, ‘कांग्रेसको लागि चिसो भनेको कोकाकोला भनेजस्तै संसदीय व्यवस्था भनेकै सर्वोपरि छ, उनीहरुबाट यो अपेक्षा थिएन ।’ विगत २५ वर्षमा २६ वटा सरकार र १० वर्षमा १० सरकार बनेको उदाहरण दिँनुहुँदै संयोजक भट्टराईले अहिलेको संविधानमा भएको गलत शासकीय स्वरुप सच्याउन संविधान संशोधन गर्नुपर्ने तर्क अगाडि सार्नुभयो । ‘नयाँ शक्ति मात्रै यस्तो पार्टी हो, जसले जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको एजेन्डालाई दृढतापूर्वक उठाएको छ,’ उहाँले भन्नुभयो, ‘हामी संसद पूर्ण समानुपातिक र राष्ट्रपति पूर्ण कार्यकारी बनाउने र संसदभन्दा बाहिरबाटै मन्त्रि हुने व्यवस्थाको वकालत गरिरहेका छौं ।’
उहाँले नयाँ शक्तिले अगाडि सारेको शासकीय स्वरुपले राजनीतिक स्थिरता पनि हासिल हुने र खर्चिलो चुनावी दुश्चक्रबाट पनि मुलुकलाई बाहिर निकाल्न सकिने बताउनुभयो । समृद्धिका लागि शान्ति, स्थिरता र सुशासन मुलुकको समृद्धिको लागि शान्ति, स्थिरता र सुशासन आधारभूत आवश्यकता रहेको उनले बताए । ‘पुराना दलहरुले विकास र समृद्धिका सतही कुरा मात्रै गरिरहेका छन्,’ उहाँले भन्नुभयो, ‘समृद्धिको लागि पहिलो शर्त राष्ट्रिय एकता हो, यसको लागि नेपालको विविधता सम्बोधन हुने गरी संघीयताको सही अर्थमा कार्यान्वयन हुनुपर्छ ।’
संघीयताको सही अर्थमा कार्यानव्यन गरेर जनताको घरदैलोमा अधिकार नपुगे पुनः विद्रोह हुनसक्ने सम्भावना उहाँले औंल्याउनुभयो । राष्ट्रिय एकतासँगै समृद्धिको लागि दुवै छिमेकीसँग असल सम्बन्धलाई उहाँले समृद्धिको लागि आधारभूत आवश्यकता भएको स्पष्ट पार्नुभयो । ‘समृद्धिको आधार आन्तरिक एकता र बाह्य शक्ति सन्तुलत आवश्यक पर्छ, त्यसैले नयाँ शक्तिले इन्द्रधनुषी र प्रगतिशील राष्ट्रवादको कुरा गरिरहेको छ,’ उहाँले भन्नुभयो । नयाँ शक्तिले सबैका लागि समृद्धिको नारा दिएको चर्चा गर्नुहुँदै पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले वृद्धि र वितरणको सन्तुलनसहितको समृद्धिको सुत्र नयाँ शक्तिसँग भएको स्पष्ट पार्नुभयो ।
‘कांग्रेसको विकासले केही मात्र धनी हुन्छन्, अरु सबै गरिब नै रहन्छन्, कम्युनिष्टहरु वितरणका मात्र कुरा गर्छन्, आर्थिक वृद्धिको कुनै सोच नै छैन,’ उहाँले भन्नुभयो, ‘उनीहरुमा स्टालीनवादी सोच छ । यसले बाह्य लगानी पनि आउँदैन, देशकै लगानी पनि परिचालित हुँदैन ।’
जिडिपीको ४० प्रतिशतसम्म अर्थात् नेपालको सन्दर्भमा १० खर्ब लगानी गर्नुपर्नेमा अहिले ३/४ खर्ब मात्र प्रतिवर्ष लगानी भइरहेको भन्दै भट्टराईले देशको अर्थतन्त्र बिग्रिरहेको बताउनुभयो । ‘कम्युनिष्टहरुको यस्तै सोचसहित सरकार बन्यो भने देशमा आर्थिक मन्दी आउने उहाँको तर्क थियो । ‘मलाई उहाँहरुले जित्नुहुन्छ जस्तो त लाग्दैन, तर उहाँहरुले जित्नुभयो भने देश कंगालीकरणको दिशामा जानेवाला छ,’ उहाँले भन्नुभयो । उहाँले नयाँ शक्तिले लिएको वाम लोकतन्त्रको नीतिले निजी पुँजीको पनि परिचालन र ठूला पूर्वाधारमा सरकारको लगानीलाई सुनिश्चित गर्ने स्पष्ट पार्नुभयो ।
बलियो व्यवस्था सधैं टिक्दैन ‘जित्नेलाई मात्रै भोट दिने हो भने राणा शासन सधैं टिक्थ्यो, पञ्चायत पनि टिकिरहन्थ्यो,’ उहाँले फरक प्रसंगमा भन्नुभयो, ‘बलियोलाई मात्रै भोट हालियो भने संसारमा परिवर्तन आउँदैन ।’ उहाँले सहिदहरुले राणा, पञ्चायत र राजतन्त्रविरुद्ध बलिदानी गरेको स्मरण गर्दै भन्नुभयो, ‘हाम्रा सहिदहरुले परिवर्तनको आँट गरेका थिए । सहिदहरुको बलिदानी बलिया शक्तिहरुकै विरुद्ध थियो ।’ उहाँले सन्तानको भविष्यको लागि आँखामा मतदानको लागि आह्वान गर्नुभयो ।
Chat Conversation End

यसमा तपाइको मत