अव संसदमा प्रत्यक्षबाट ६७ नयाँ अनुहार

एमालेबाट ४१, माओवादी केन्द्रबाट ११, कांग्रेसका तीन, संघीय समाजवादीबाट सात, राजपाबाट चार र राप्रपाबाट एकजना नयाँ अनुहारले जितेका छन् ।



काठमाडौं, मंसिर २७ ।

प्रतिनिधिसभा निर्वाचनमा ६७ जना नयाँ अनुहार विजयी भएका छन् । मंगलबार रातिसम्म १६४ निर्वाचन क्षेत्रको नतिजा आइसकेको छ । अब सुनसरी ३ मा मात्र मत गन्न बाँकी छ । सो क्षेत्रबाट कांग्रेसका विजयकुमार गच्छदार र एमालेकी भगवती चौधरीबीच कडा प्रतिस्पर्धा छ । दुवैजना पूर्वसांसद हुन् ।

एमालेबाट नयाँ अनुहार धेरै निर्वाचित
१६५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एमालेबाट धेरै नयाँ अनुहार निर्वाचित भएको खवर आजको नयाँ पत्रिका दै्रनिकले छापेको छ । एमालेबाट ४१, माओवादी केन्द्रबाट ११, कांग्रेसका तीन, संघीय समाजवादीबाट सात, राजपाबाट चार र राप्रपाबाट एकजना नयाँ अनुहारले जितेका छन् । राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल, नयाँ शक्तिका डा. बाबुराम भट्टराई र नेमकिपाका प्रेम सुवाल पूर्वसांसद हुन् । स्वतन्त्र रूपमा उम्मेदवारी दिएर नवलपरासी पश्चिम १ बाट निर्वाचित हृदयेश त्रिपाठी, कपिलवस्तु २ बाट निर्वाचित बृजेशकुमार गुप्ता र हुम्लाबाट निर्वाचित छक्कबहादुर लामा तीनैजना पूर्वसांसद हुन् ।

चारदेखि ६ पटकसम्म दोहोरिने सांसद
तीनदेखि लगातार ६ पटकसम्म निर्वाचित सांसदले संघीय संसद्मा प्रतिनिधित्व गर्दै छन् । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा डडेल्धुराबाट छैटौँपटक सांसदमा निर्वाचित भएका हुन् । उनी ०४८, ०५१, ०५६, ०६४, ०७० र ०७४ मा निर्वाचित भएका हुन् । कांग्रेस नेता विजयकुमार गच्छदार सुनसरी ३ बाट ०४८ देखि तीनपटकसम्म कांग्रेसबाट र ०६४ र ७० मा फोरमबाट निर्वाचित भए ।

एमाले वरिष्ठ नेता झलनाथ खनाल ०५६ बाहेक ०४८ पछिका सबै निर्वाचनमा सांसद बन्दै आएका छन् । हाल उनी पाँचौँपटक सांसद बनेका हुन् । एमाले नेता सुवास नेम्वाङ इलामबाट ०५६ देखि हालसम्म चारपटक र उपप्रधानमन्त्री एवं माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा चौथोपटक सांसद निर्वाचित भएका छन् । यसअघि रोल्पा तथा दाङबाट चुनाव लड्दै आएका महरा यसपटक दाङ २ बाट निर्वाचित भए । एमालेको चुनाव चिह्न लिएर उठेका बृजेशकुमार गुप्ता चौथोपटक सांसद बनेका छन् । उनी ०५६ मा राप्रपा, ०६४ र ०७० मा सद्भावना पार्टी र हाल सूर्य चिह्न लिएर कपिलवस्तु २ बाट निर्वाचित भएका हुन् ।

यी हुन् तीनपटक सांसद बन्ने नेता
गोरखाबाट डा. बाबुराम भट्टराई लगातार तेस्रोपटक सांसद बनेका छन् । उनी दुईपटक माओवादी र एकपटक नयाँ शक्ति पार्टीबाट सांसदमा निर्वाचित भएका हुन् ।

कांग्रेसका प्रकाशमान सिंह काठमाडौं १ बाट लगातार तेस्रोपटक विजयी भएका छन् । माओवादी केन्द्रका जनार्दन शर्मा, एमालेका रवीन्द्र अधिकारी, कांग्रेस महामन्त्री डा. शशांक कोइराला, अभिशेकप्रताप साह लगातार तीनपटक सांसद बन्ने नेता हुन् ।

जो छैटौँपटक सांसद बन्न सकेनन्
०४८ देखि सांसद निर्वाचित हुँदै आएका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल यसपटक पराजित भए । पाँचपटक लगातार सांसद बनेका नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले यसपटक उम्मेदवारी दिएनन् । ०४८ देखि लगातार सांसद बन्दै आएका कांग्रेस नेता पूर्णबहादुर खड्का यसपटक सुर्खेतबाट पराजित भए ।

यसमा तपाइको मत