उपत्यकाको तापक्रम शून्य डिग्रीमा झर्ने


काठमाडौं, पुस २३ । अझै केही दिन तापक्रम घट्दै जाने प्रक्षेपण गरिएको छ । जल तथा मौसम विज्ञान विभाग पूर्व अनुमान महाशाखाले २–३ दिनसम्म तापक्रम घट्दै जाने अनुमान गरेको हो ।

कुहिरो र बाक्लो हुस्सुका कारण दुई दिनदेखि तराईमा घामसमेत नलागेको मौसमविद् वरुण पौडेलले बताए । ‘आइतबार पश्चिमी वायु हल्का चल्न सक्ने भएकाले पूर्वी र मध्य तराईमा दिउँसो मधुरो घाम लाग्न सक्छ ।’ उनले भने, ‘तर, पश्चिम तराईमा भने अझै केही दिनसम्म कुहिरो र बाक्लो हुस्सु लाग्दा घाम लाक्दैन ।’ तर, तापक्रम घटे पनि पानी पर्ने सम्भावना भने नरहेको
पौडेलले बताएको खवर आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।

तराईमा १० पुसदेखि कुहिरो र बाक्लो हुस्सु लाग्दै आएको छ । तराईमा कुहिरो र बाक्लो हुस्सुले गर्दा जनजीवन प्रभावित हुँदै आएको छ । ‘तराईको हुस्सुको इतिहास हेर्दा एक हप्तासम्म घाम नलागेको रेर्डक छ ।’ पौडेलले भने, ‘तर, यस वर्ष निरन्तर हप्ता दिनसम्म हुस्सु लाग्ने सम्भावना छैन ।’

चिसोबाट बच्न गृह मन्त्रालयको अनुरोध
– न्यानो कपडाको जोहो समयमै गरौँ
– शीतलहरको समयमा घरबाहिर खुला स्थानमा धेरै समय नबिताऔँ । घरबाहिर निस्कनुपरेमा, धेरै समय बस्नुपरेमा न्यानो लुगा लगाऔँ
– रातको समयमा न्यानो सिरक, कम्बलजस्ता ओड्ने प्रयोग गरौँ । घरभित्र राति सुत्दा शरीरका साथै अनिवार्य रूपमा छाती टाउको ढाक्ने प्रबन्ध मिलाऔँ
– शीतलहर चलेको समयमा आगो तापेर शरीरलाई न्यानो राखौँ । छाती र टाउकोलाई विशेष गरेर चिसोबाट जोगाउने कार्य गरौँ
– चिसोको समयमा शरीरलाई चाहिने आवश्यक तातो खानेकुरा खाने बानी बसालौँ
– बालबालिका, वृद्धवृद्धा गर्भवती महिला तथा बिरामीको हेरचाहमा विशेष सतर्कता अपनाऔँ
– चिसोका कारण बिरामी भएमा तत्कालै नजिकको स्वास्थ्यचौकी, अस्पतालमा तुरुन्त उपचार गर्न जाने बानीको विकास गरौँ

जाडो मौसम भएकाले केही दिनपछि बिहान हुस्सु लागे पनि दिउँसो सफा भई घाम लाग्ने पौडेलले बताए । तराईदेखि भारतको दक्षिण र बंगलादेशसम्म बाक्लो हुस्सु चक्काजस्तो बसेकाले हट्न समय लाग्ने मौसमविद्को तर्क छ ।

उपत्यकाको तापक्रम शून्य डिग्रीसम्म झर्न सक्ने
काठमाडौं उपत्यकाको तापक्रम शून्य डिग्रीसम्म झर्न सक्ने मौसमविद् पौडेले बताए । ‘केही दिनअघि उपत्यकाको तापक्रम एक दशमलव ४ डिग्रीसम्म झरेको थियो । शनिबार उपत्यकाको तापक्रम एक दशमलव ६ डिग्रीसम्म पुगेको थियो ।’ पौडेलले नयाँ पत्रिकासँग भने, ‘अझ तापमक्र घट्दै जाने देखिएको छ ।’

शीतलहरबाट ज्यान गएको छैन : मन्त्रालय
गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद शर्माले यस वर्ष शीतलहर र चिसोबाट सकैको पनि ज्यान नगएको बताएका छन् । ‘अहिलेसम्म हामीलाई शीतलहरबाट एकजनाको पनि ज्यान गएको विवरण प्राप्त भएको छैन,’ शर्माले भने, ‘अझै चिसो बढ्न सक्ने सूचना पाएकाले सबैलाई सर्तक रहन निर्देशन दिएका छाँै ।’ तराईमा चिसो र शीतलहरबाट ज्यान जान सक्ने भएकाले सम्बन्धित निकायलाई निर्देशन दिइसकेको शर्माले बताए ।

कुन ठाउँमा कस्तो छ तापक्रम
महाशाखाकाका अनुसार शनिबार बेलुका ६ बजेको तथ्यांकअनुसार सबैभन्दा कम तापक्रम जुम्लामा अधिकतम १४ दशमलव ४ डिग्री, न्यूनतम माइनस ८ दशमलव २ डिग्री पुगेको छ ।

यसैगरी, जोमसोममा अधिकतम तापक्रम ७ डिग्री, न्यूनतम माइनस ४ दशमलव ७ डिग्री, जिरीको अधिकतम तापक्रम १३ दशमलव २ डिग्री, न्यूनतम माइनस ३ दशमलव ५ डिग्री, लुम्लेमा अधिकतम तापक्रम १२ दशमलव ५ डिग्री न्यूनतम २ दशमलव ५ डिग्री पुगेको छ ।

विराटनगरमा अधिकतम तापक्रम २० दशमलव ४ डिग्री, न्यूनतम १ दशमलव ८ डिग्री, भैरहवाका अधिकतम तापक्रम ८ दशमलव ५ डिग्री, न्यूनतम ५ दशमलव ३ डिग्री, नेपालगन्जको अधिकतम तापक्रम १४ दशमलव ४ डिग्री, न्यूनतम ७ दशमलव ६ डिग्री र धनगढीको अधिकतम तापक्रम १० दशमलव ७ डिग्री र न्यूनतम ७ दशमलव २ डिग्री पुगेको छ ।

यसमा तपाइको मत