कुरा नमिल्दा बलात्कार, मिलुञ्जेल रमाइलो


२७ पुस,काठमाडौं । पैसा हुनासाथ जे पनि गर्न पाइन्छ भन्ने मानसिकता बोक्नेहरूलाई कानुुनले ठेगान लगाइदिने हेक्का नराख्दा दुई जना हाई प्रोफाइल प्रहरी खोरमा पुगेका छन् । पुस १५ गते शनिबार पैसाको बलमा नेपालगञ्जस्थित होेटल सिग्नेटमा युवतीसहित रमाइलो गर्न बसेका दुई जना मात्दामात्दै खोर पुगेका हुन् । नयाँ वर्षको पूर्वसन्ध्यामा सुर्खेत रोडस्थित होटल सिग्नेटका ३ वटा कोठा बुक गरिएको थियो । कोठा नं. ३०१ मा २६ वर्षीया युवतीलाई लिएर सुर्खेतका ४८ वर्षीय निरज गुरुङ बसे, ३२१ मा सीता एयरका नेपालगञ्ज म्यानेजर मनोज भारतीे र ३०५ नम्बर कोठामा १९ वर्षीया किशोरी बसिन् ।

भारतीको व्यवस्था बमोजिम साथी निरज सुर्खेतबाट नयाँ वर्ष मनाउन आएका थिए । बर्दियाकी १९ वर्षीया युवती भारतीसँग र जाजरकोटकी २६ वर्षीया गुरुङसँग मध्यरातिसम्म बसे । त्यतिबेलासम्म सहमति बमोजिमकै काम भयो । जब मनोज र निरजबीच पार्टनर साँट्ने कुरा उठ्यो, घटनाले अर्कै रूप लियो । भारतीसँग बसेकी १९ वर्षीया युवतीले साँटिन नमानेपछि विवाद प्रहरी सामु पुगेको हो । राति दुई बजेतिर एउटा हातमा मदिराको गिलास बोकेर कोठामा गुरुङ छिरेपछि किशोरीले इन्कार गरिन् । गुरुङले अनुरोध गरे, धम्की दिए, मानिनन् । कुरा नमिलेपछि किशोरी शौचालय छिरिन् र १०० नम्बरमा प्रहरीलाई फोन गरी आफू बलात्कारमा परेको भन्दै उद्धारको याचना गरिन् । प्रहरी पुगेर उद्धार गर्दा युवती नांगै थिइन् ।

जानकारी अनुसार भारती लामो समयदेखि होटलमा फरक–फरक महिलासँग बस्दै आएका थिए । प्रहरीले अनुसन्धानका क्रममा होटलका सिफ्ट म्यानेजर कपिल रञ्जु, मालिक दीपेन्द्र अग्रवाललगायतलाई सोधपुछ गरेको छ । निरजलाई करणी र मनोजलाई मतियार मुद्दामा अनुसन्धान अगाडि बढाएको जनाइएको छ । सीता एयरका स्टेशन म्यानेजर मनोज भारती मंगलबारदेखि भेरी अञ्चल अस्पतालमा भर्ना भएका छन् । उमेर पुगेका युवा-युवतीले सहमतिमा यौनसम्पर्क गर्न पाउने कानुनी व्यवस्था छ तर मुलुकी ऐनले सहमति बिनाको यौन सम्पर्कलाई बलात्कार भनेको छ । उल्लिखित घटना पहिले सहमतिमा भए पनि कुरा नमिल्दा बलात्कारतर्फ अघि बढ्न गएको छ ।

जनआस्था साप्ताहिकबाट

यसमा तपाइको मत