गर्भपतनको ‘ट्रेन्ड’ : २५ प्रतिशत २० वर्षमुनिका


एक महिला वा किशोरीका लागि गर्भपतन सामान्य अधिकारका विषय हुन् । कुनै पनि महिलाले बच्चा जन्माउन नचाहेमा वा अनिच्छित गर्भ रहेमा गर्भपतन गराउन सक्छिन् । नेपालको कानुनले १२ हप्तासम्मको गर्भलाई पतन गराउने अधिकार दिएको छ । जबरजस्ती करणी वा हाडनाता करणी भएर गर्भ बसेमा १८ हप्तासम्मको गर्भ पतन गराउन कानुनले स्वीकृति प्रदान गरेको छ । तर बच्चा वा आमाको स्वास्थ्यमा प्रतिकूल असर गर्ने भएमा, आमाको मानसिक स्वास्थ्यमा समस्या आएमा भने चिकित्सकको सल्लाह र प्रतक्ष निगरानीमा जुनसुकै अवस्थाको गर्भ पतन गर्न सकिने कानुनी अधिकार छ ।

विवाहित कि अविवाहित भनेर सोध्न बन्देज
कुनै महिला या किशोरी सुरक्षित गर्भपतन केन्द्रमा आफ्नो गर्भ पतन गराउन गएमा तपाईं विवाहित हो कि अविवाहित भनेर सोध्नसमेत पाइँदैन । मतलव विवाहित वा अविवाहित जे भए पनि महिलाले चाहेमा गर्भपतन गराउन पाउँछिन् । तर १२ हप्ताभन्दा माथिको गर्भ पतन गराउन स्वास्थ्य संस्थामा जाँदा अनिवार्यरूपमा साथी वा आफन्त लिएर जानुपर्ने हुन्छ ।

नेपालको कानुनने अभिभावकको सल्लाहमा विवाह गर्ने भएमा केटीको उमेर १८ वर्ष पूरा भएको हुनैपर्ने भनेको छ । त्यस्तै आफूखुशी विवाह गर्ने भएमा केटीको उमेर २० वर्ष पूरा हुनैपर्ने कानुन छ । यो कानुनलाई आधार मान्दै स्वास्थ्य मन्त्रालयले २० वर्षभन्दा कम उमेरका किशोरीलाई अविवाहित भनी परिभाषित गर्ने गरेको छ ।

गर्भपतन गराउनेमध्ये २५ प्रतिशत अविवाहित
मन्त्रालयको परिभाषालाई मान्ने हो भने काठमाडौँमा करिब २५ प्रतिशत महिलाले २० वर्षभन्दा कम उमेर अर्थात् किशोरी अवस्थामै आफ्नो गर्भ पतन गराउने गरेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौँमा उपलब्ध विगत ३ वर्षको गर्भपतनको तथ्याङ्क हेर्ने हो भने २५ प्रतिशत महिलाहरूले २० वर्षभन्दा कम उमेरमै गर्भपतन गराइरहेका छन् ।

आर्थिक वर्ष २०७१/७२ मा काठमाडौँमा १३ हजार ७ सय ५७ महिलाले गर्भ पतन गराएका छन् । तीमध्ये ३ हजार ४ सय ५८ जना महिला किशोरी अर्थात् २० वर्षभन्दा कम उमेरका छन् । जसलाई प्रतिशतमा हेर्ने हो भने २५ प्रतिशत महिलाले किशोरी अवस्थामै आफ्नो गर्भ पतन गराएका छन् ।

आर्थिक वर्ष २०७२/७३ को तथ्याङ्कमा यो सङ्ख्या र प्रतिशत अझै बढेको छ । यस आर्थिक वर्षमा काठमाडौँमा १५ हजार ९९ महिलाले गर्भ पतन गराएका छन् । जसमध्ये ४ हजार ५ सय ४५ महिला २० वर्षभन्दा कम उमेरका छन् ।

गत आर्थिक वर्ष अर्थात् २०७३/७४ को तथ्याङ्क पनि उस्तै छ । यस आर्थिक वर्षमा १३ हजार ५७ जना महिलाले गर्भपतन गराएकामा ३ हजार १ सय १३ जना किशोरी अर्थात् २० वर्षभन्दा कम उमेरका महिला छन् । यसलाई प्रतिशतमा हेर्ने हो भने गत आर्थिक वर्षमा काठमाडौँका स्वास्थ्य संस्थामा गई गर्भ पतन गराउने २४ प्रतिशत महिला किशोरी वा २० वर्षभन्दा कम उमेरका छन् ।

सर्जिकल क्याक बढी ! 
कम्प्रिहेन्सिभ एबोर्सन केयर अर्थात् ‘क्याक’ जसलाई नेपालीमा एबोर्सन भनिन्छ । यो दुई प्रकारबाट हुन्छ, मेडिकल अर्थात् औषधि खुवाएर र सर्जिकल अर्थात् अप्रेसन गरेर ।

सामान्य अवस्थामा ९ हप्तासम्मको गर्भलाई औषधि खुवाएर पतन गराइन्छ भने त्यसभन्दा बढी समयको गर्भलाई सर्जिकल अर्थात् अप्रेसन गरी पतन गराउने गरिन्छ । स्वास्थ्यको दृष्टिकोणले मेडिकल क्याकलाई सहज र सुरक्षित मानिन्छ भने सर्जिकल क्याकलाई जटिल मानिन्छ । यदि गर्भ रहेको वा नरहेको एक महिनामै थाहा हुने भएकाले सन्तान जन्माउन नचाहेमा त्यसलगत्तै गर्भपतन गराउनु उत्तम हुन्छ । तर ९ सातासम्म पनि चुपचाप बसी त्यसपछि गर्भपतन गराउनेको सङ्ख्या अधिक देखिएको छ ।

६३ प्रतिशत गर्भपतन अप्रेसनबाट !
गत आर्थिक वर्ष २०७३÷७४ को तथ्याङ्कअनुसार १३ हजार ५७ जनाले गर्भपतन गराएकामा ८१८३ जनाले सर्जिकल क्याक अर्थात् अप्रेसन गरी गर्भपतन गराएका छन्, जसलाई प्रतिशतमा हेर्दा करिब ६३ प्रतिशत गर्भ अप्रेसन गरी पतन गराइएको छ । स्वास्थ्यका दृष्टिकोणले यो गम्भीर समस्याको सूचक हो ।

डाक्टर भन्छन्, मेडिकल क्याक अझै बढी छ, तथ्याङ्कमा नआएको मात्रै हो
अहिले सरकारी तथ्याङ्कमा गर्भपतनको सङ्ख्या जति देखिएको छ, त्यो एकदमै कम भएको बताउँछिन्, स्त्री रोग विशेषज्ञ डाक्टर ईशा श्रेष्ठ । उनी भन्छिन्, तथ्याङ्कमा देखिएको त वास्तविकभन्दा ज्यादै न्यून हो । किनभने पिसाब जाँज गर्दा प्रेगनेन्सी पोजिटिभ देखियो भने आँफै औषधि किनेर खान्छन् र गर्भपतन गराउँछन् । त्यसकारण मेडिकल क्याक र टोटल एबोर्सन तथ्याङ्कमा देखिएभन्दा ज्यादै बढी छ । किनभने धेरैले आफू गर्भवती भएको वा एबोर्सन गरेको कुरा लुकाउँछन् ।

किन बढिरहेछ कम उमेरमै गर्भपतन ?
हुन त कतिपय किशोरीहरूले १६ वा १७ वर्षमै पनि बिहे गरेका छन् भने सहरी क्षेत्रमा विवाहको सरदर उमेर २३ वर्ष रहेको छ । यस अर्थमा २० वर्षलाई विवाहको सरदर उमेर मान्दा सरकारी तथ्याङ्क र सर्वेक्षणले मेल खाएको पाइन्छ ।

सरकारी तथ्याङ्कमा देखिएअनुसार प्रजनन् उमेर अर्थात् १५ देखि ४९ वर्षसम्मका जम्मा ४२ प्रतिशत महिलाले परिवार नियोजनका विभिन्न साधन प्रयोग गरिरहेका छन् । यो तथ्याङ्क सूचीकृत स्वास्थ्य संस्थाबाट मात्रै आएकाले योभन्दा झण्डै दोब्बर महिलाले परिवार नियोजनका अस्थायी र स्थायी साधन प्रयोग गरिरहेका छन् । यद्यपि अहिले पनि हेलचेक्र्याइँ, अनिच्छा वा परिवारनियोजनका साधनको सही प्रयोग हुन नसक्दा गर्भ पतन गराउनेको सङ्ख्यामा भने वृद्धि भइरहेको छ ।

गर्भपतनमा ‘प्लस टु’ पढ्ने किशोरी बढी
२० वर्षभन्दा कम उमेरमा गर्भपतन गराउने अधिकांश किशोरीहरू ‘प्लस टु’ पढ्ने रहेको बताउँछन्, जिल्ला जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी पुस्कर बिजुक्छे । उनी भन्छन्, ‘हुन त गर्भपतन गराउन आउनेले आफ्नो नाम मात्रै भने पनि गर्भपतनको सेवा पाउँछन् । यद्यपि हामीले एउटा फारम भर्न लगाउँछौँ, जहाँ शिक्षा पनि उल्लेख गरिएको छ । गर्भपतन गराउने २० वर्षभन्दा कम उमेरका अधिकांश किशोरीले त्यो फारममा कक्षा १२ अध्ययनरत भनेर लेखेका छन् । जसबाट थाहा हुन्छ, गर्भपतन गराउने २० वर्षभन्दा कम उमेरका अधिकांश किशोरी प्लस टु पढ्ने छन् । यसकारण प्लस टुमा प्रजनन् स्वास्थ्य र गर्भपतनबारे थप पढाउनुपर्ने भएको छ ।’

डक्टर भन्छन्, ‘परिवार नियोजनका साधन र प्रयोगबारे चेतना पुगेन’
केही वर्षअघि काठमाडौँलगायतका देशका प्रमुख सहरी क्षेत्रमा गरिएको सर्वेक्षणअनुसार सहरीक्षेत्रमा रहेका महिलाले आफ्नो प्रजनन् उमेरभरमा सरदर ४ पटक गर्भपतन गराउने गरेका छन् । त्योमध्ये पहिलो गर्भपतन २० वर्षभन्दा कम उमेरमै हुने गरेको छ । यसको अर्थ २० वर्षभन्दा कम उमेर अर्थात् विवाह नहुँदै एक पटक गर्भपतन हुने गरेको बताउँछन्, प्रसूतिगृहका निर्देशकसमेत रहेका वरिष्ठ स्त्रीरोग विशेषज्ञ डाक्टर जागेश्वर गौतम ।

गौतम भन्छन्, ‘अहिले किशोरीहरू १२ वर्षमै प्रजनन्का लागि योग्य हुने गरेका छन् । खानपान, पौष्टिक आहार आदि कारणले अहिले ११÷१२ वर्षमै किशोरीहरू महिनावरी हुने हुन्छन् । प्रविधिको विकास, साथीभाइको सङ्गत आदि कारणले उनीहरूमा यौनसम्बन्धी कौतुहल पनि बढ्दै गएको हुन्छ । गाँस, बास र कपासजस्तै युवावस्थामा सहवास पनि अत्यावश्यक चीज हो । तर परिवार नियोजनका साधनको प्रयोग नहुँदा, हेलचेक्र्याइँ हुँदा गर्भ बस्ने गरेको छ ।’

प्रजनन् उमेरका विवाहित वा अविवाहित सबैलाई परिवार नियोजनको साधन प्रयोग गर्न पाउने अधिकार छ । जिल्ला जनस्वास्थ्य कार्यालय वा स्वास्थ्य संस्थाले यस्तो सेवा लिन चाहने जो कसैलाई सुविधा उपलब्ध गराउनुपर्छ । जनस्वास्थ्य कार्यालय काठमाडौँका सूचना अधिकारी पुस्कर बिजुक्छे भन्छन्, विवाहित वा अविवाहित जो भए पनि परिवार नियोजनको साधन लिन आएमा वा प्रयोग गर्न चाहेमा हामी उपलब्ध गराउँछौँ र हामीले स्वास्थ्य संस्थालाई त्यसैअनुरूपको सर्कुलर पनि गरेका छौँ ।’

सरकारले लिन चाहने सबैलाई परिवार नियोजनको साधन वा सेवा उपलब्ध गराउने भने पनि त्यति सहज भने छैन । हाम्रो सामाजिक, धार्मिक र पारिवारिक कारणले अविवाहितले परिवार नियोजनको साधन सहज ढङ्गले प्रयोग गर्न पाउँदैनन् । जसका कारण असुरक्षित यौन सम्बन्ध रहँदा गर्भ बस्ने सम्भावना ज्यादा रहन्छ, जसको कारण गर्भपतन बढिरहेको छ ।

अविवाहितले यौनसम्बन्ध नै राख्दैन भन्ने सरकारी सोच नै गलत
प्रसूति रोग विशेषज्ञ डाक्टर जागेश्वर गौतम भन्छन्, सरकारले परिवार नियोजनका साधनका प्रयोगबारे विवाहितलाई मात्रै टार्गेट गर्ने गरेको छ । यसको अर्थ अविवाहित वा नेपालमा आफ्ना यौनसाथी नभएकाले यौनसम्बन्ध नै राख्दैनन् भन्ने सरकारी सङ्केत हो, जुन गलत छ । अब सरकारले प्रजनन् उमेरका सबैलाई लक्षित गरी परिवार नियोजनका अस्थायी र स्थायी साधनबारे जनचेतनामूलक कार्यक्रम गर्नैपर्छ । अब ६ कक्षादेखि नै प्रजनन् स्वास्थ्य, यौन र परिवार नियोजनबारे किशोर किशोरीलाई शिक्षा दिनैपर्छ ।

गर्भपतनभन्दा परिवार नियोजनका साधन शतप्रतिशत सही
एसिया महादेशमा सबैभन्दा बढी गर्भपतन भियतनाममा हुने गरेको छ । गर्भवती महिलाको प्रतिशत र गर्भपतनको अवस्थालाई हेर्ने हो भने भियतनाममा कुल गर्भवतीमध्ये ४० प्रतिशतले गर्भपतन गराउने गरेका छन् । जब कि भियतनाममा प्रजनन् उमेरका कूल महिलामध्ये जम्मा ३० प्रतिशतले मात्रै परिवार नियोजनको साधन प्रयोग गर्छन् भने ७० प्रतिशत महिला गर्भपतन गराउन अग्रसर रहन्छन् । कारण भियतनाममा परिवार नियोजनका साधनभन्दा बढी गर्भपतनको सेवा उपलब्ध छ, यही सहज छ । नेपालमा पनि यस्तै हुने त होइन भन्ने डर छ, डाक्टर गौतमलाई ।

अर्का स्त्री रोग विशेषज्ञ डाक्टर ईशा श्रेष्ठ पनि गर्भपतनको दरप्रति चिन्तित छिन् । महिलाहरू परिवार नियोजनका साधनभन्दा गर्भपतनतिर आकर्षित देखिनु खतराको सङ्केत रहेको बताउँछिन् उनी । गर्भपतनले भविष्यमा गम्भीर स्वास्थ्य समस्या ल्याउने श्रेष्ठ बताउँछिन् ।

यस्ता छन्, गर्भपतनका असरहरूः

भविष्यमा गर्भ नबस्न सक्ने
कम उमेरमै वा पहिलो बच्चा नहुँदै गर्भपतन गराएमा भविष्यमा गर्भ नै नरहने सम्भावना अधिक रहन्छ । एबोर्सन गराएपछि विभिन्न औषधि खानुपर्ने हुन्छ । यस्ता औषधिमा हर्मोन हुन्छन् र ती हर्मोनका कारण डिम्ब निष्काशनमा समस्या ल्याउन सक्छ । डिम्ब उत्पादन नै बन्द भई गर्भ नै नबस्ने सम्भावना अधिक रहन्छ ।

मानसिक समस्या ल्याउन सक्ने 
कम उमेरमै गरिने गर्भपतनले गम्भीर मानसिक समस्याहरू ल्याउन सक्छ । मानिसहरू परिपक्व भइनसकेको अवस्थामा सामाजिक, आर्थिक कारण सँगै प्रयोग हुने औषधिका कारण मानसिक समस्या ल्याउन सक्ने बताउँछिन्, प्रसूति रोग विशेषज्ञ डाक्टर ईशा श्रेष्ठ । उनी अगाडि भन्छिन्, महिलाहरूमा रिस उठ्ने, पढ्न मन नलाग्ने, रिँगटा लाग्ने, धेरै निद्रा लाग्ने आदि समस्या देखिन सक्छ ।

पाठेघरमा घाउ र इन्फेक्सन हुन सक्ने 
गर्भपतन गराउँदा ९ हप्तापछिको गर्भपतन हो भने अप्रेसन गर्नुपर्ने हुन्छ । अप्रेसन गर्दा विभिन्न औजारको प्रयोग गरिने भएकाले कतिपय अवस्थामा पाठेघरमा घाउ पनि हुन सक्छ । कहिलेकाहीँ एबोर्सन गर्दा सबै फोहोर बाहिर ननिस्कन पनि सक्छ । यस्तो अवस्थामा पाठेघर तथा पेटमा इन्फेक्सन हुनसक्ने सम्भावना पनि रहन्छ ।

मोटोपना बढ्न सक्ने 
गर्भ पतनपछि कतिपयलाई कम्तीमा ३ महिनाका लागि खाने औषधि वा सङ्गिनी सुई लगाउने गरिन्छ । जसका कारण महलिाहरूमा ‘हर्मोनल चेन्ज’ आउन सक्छ । यी हर्मोनले कसै कसैलाई मोटोपना बढाउने हुन्छ । जसको कारण मधुमेह र थाइराइडको सम्भावना बढेर जान्छ ।

आर्थिक भार बढ्ने 
सरकारी स्वास्थ्य संस्थामा गए परिवार नियोजनका साधनहरू निःशुल्क पाइन्छन् । तर यदि यस्ता साधनको प्रयोग नगरी गर्भ रहेमा र त्यो पतन गराउन चाहेमा आर्थिक भार पनि बढ्नेछ । सरकारी स्वास्थ्य संस्थामै सर्जिकल क्याक गराएमा करिब ५ हजार रूपियाँ खर्च हुन्छ भने निजी स्वास्थ्य संस्थामा १० हजारभन्दा बढी पर्छ । यसर्थ यसले आर्थिक भार पनि बढाउँछ ।

यी तमाम समस्याका कारण चिकित्सकहरू गर्भ पतन गराउनुभन्दा परिवार नियोजनका अस्थायी साधन प्रयोग गर्नमै सल्लाह दिन्छन् । बरु १०÷११ वर्षदेखि नै यौन स्वास्थ्यबारे शिक्षा दिई यसको प्रयोगमा बढोत्तरी दिनुपर्ने उनीहरू बताउँछन् । डाक्टर भन्छन्, ‘गर्भपतन गराउनुभन्दा परिवार नियोजनको अस्थायी साधन प्रयोग गर्नु शतप्रतिशत सही हो ।’

यसमा तपाइको मत