‘पृथ्वीको नर्क’ र तमासे विश्व


१९ फागुन , काठमाडौ । सन् २०११ को अक्टोबर २० मा सिरियाली नागरिकले त्यहाँका मुख्य सहर होम्स र दमासकसमा ठूलो खुसीयाली मनाए । तर सिरियामा त्यसरी खुसीयाली मनाउन कुनै अवसर भने थिएन । उनीहरूले लिबियामा गद्दाफी शासन अन्त्यको खुसीयाली त्यहाँ मनाएका थिए ।

चार दशक लामो समय लिबियामा शासन गरेका लिबियाका राष्ट्रपति माउमर गद्दाफीलाई लिबियाली विद्रोहीले नै आफ्नै भूमिमा नियन्त्रणमा लिई हत्या गरेका थिए । मध्यपूर्वी राष्ट्रमध्ये सबैभन्दा लामो समय शासन गरेका र तानाशाही प्रवृत्तिका शासक गद्दाफीको हत्यापछि सिरियाली नागरिक उत्साहित भएका हुन् ।

अरव वसन्त नाम दिइएको मध्यपूर्वी राष्ट्रहरुको आन्दोलन सन् २०१० को अन्त्यतिरिबाट सुरु भएको हो । उक्त आन्दोलन ट्युनिशियाबाट सुरु भयो र लिबिया हँुदै सिरियासम्म फैलियो । लिबियामा अमेरिकी सेनाको प्रवेश भयो र गद्दाफी विरुद्धको विद्रोही समूहलाई सघायो । गद्दाफीले शासन छोडे र लुके । अन्ततः अमेरिकी सेनाको सहयोगमा आफ्नै देशका विद्रोहीले उनीविरुद्धको आन्दोलनकै क्रममा गद्दाफीलाई खोजीखोजी मारे ।

गद्दाफी शासन अन्त्यले आफ्नो देशमा पनि सकारात्मक प्रभाव पार्ने अनुमान सिरियालीले गरेका थिए । त्यसैले उनीहरूले लिबियामाजस्तै नागरिक स्वतन्त्रताको पालो अब सिरियाको भनेर नाराबाजी गरे र एक किसिमको विजय जुलुस नै गरे । लिबियाबाट सुरु भएको तानाशाही शासनको अन्त्य र प्रजातन्त्रको उदयको अभियानले मध्यपूर्वी अरु देशमा पनि प्रत्यक्ष रुपमा प्रभाव पार्ने अनुमान सिरियाली नागरिकको थियो ।

त्यस समयमा सिरियाली नागरिक मात्र नभई विश्वका सञ्चारमाध्यमले पनि यो अड्कल गरेका थिए । गद्दाफीको हत्या भएको भोलिपल्ट अक्टोबर २१ मा विश्वका अखबारका प्रमुख समाचारमा यसपछिको पालो सिरियाको भन्ने अड्कलबाजी पनि लगाइएको थियो । त्यस्तै मध्यपूर्वको आन्दोलनलाई अरव वसन्तको उपमादिने कतिपय पश्चिमा राजनीतिक विश्लेषकले पनि सिरिया र लिबियाका राजनितिक दमनका प्रकृति एकै खालको भएकोले अबको पालो सिरियाली राष्ट्रपति बसर अल असद भनेर पनि अनुमान गरेका थिए ।

ती सिरियाली अवोध नागरिकले खुसीयाली मनाएको आज छ वर्ष भइसकेको छ । यसबीचमा सिरियामा धेरै पानी बगेको छ, पानीमात्र होइन कि त्यहाँका खोलामा सिरियालीको रगत नै बगेको छ । त्यसैगरी ती पश्चिमा विश्लेषकहरुको अड्कलबाजीको छ वर्षपछि पनि सिरियामा वसन्तको बहार हुन सकेको छैन । यहाँका नागरिकले प्रजातन्त्रको फल चाख्न पाउनु त कता हो कता शान्तिसँग आफ्नै थातथलोमा बस्नसमेत पाएका छैनन् । यसबीचमा यहाँका घटीमा पनि साढे चार लाख नागरिकले ज्यान नै गुमाएका छन् । अरु लाखौँलाख घाइते छन् भने दशौँ हजार घरबाट लखेटिएर विदेशमा शरणार्थी भएर बाँच्नु परेको छ ।

यतिखेर सिरियामा लाग्छ मानव उत्पत्तिपछिकै सबैभन्दा क्रुर हिंसा जारी छ । सिरियाको गुटा नगरमा रुसी सहयोगको सिरियाली सैनिकले दिनहुँजसो हवाई कारबाही गरिरहेको छ । यसबाट हप्तादिनमै झण्डै ६०० नागरिकको ज्यान गएको छ । त्यसमा पनि १०० जनाभन्दा बढी बालबालिका मारिएका छन् । हप्तादिनमै १०० जनाभन्दा बढी बालबालिका मारिनेगरी भएको त्यस हिंसाका लागि सिरिया सरकार नै जिम्मेवार छ । ती बालबालिकाको हत्याको शृंखला सामाजिम सञ्जालमा राखिएको छ र ती दृश्यले यतिखेर संसारकै मन रुवाइरहेको छ ।

यसै कारबाहीको टिप्पणीगर्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले त यसलाई पृथ्वीको नर्कको संज्ञा दिनुभएको छ । उहाँले सिरियामा हिंसा रोक्न आग्रह गर्दै गतहप्ता भन्नुभएको थियो— यो पृथ्वीकै सबैभन्दा ठूलो नर्क हो, यस्तो क्रुरता नरोक्नुको अर्काे कुनै विकल्म कसैसँग पनि छैन र हुनुपनि हुँदैन । गतहप्ता रुसको विरोध भएपनि संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले त्यहाँ कम्तीमा ३० दिनका लागि युद्धविराम गर्न प्रस्ताव पारित पनि गरेको थियो । तर त्यसको पालना हुन सकिरहेको छैन ।

नवदार्शनिक नामक एक अन्तरराष्ट्रिय अभियानका संस्थापक बर्नार्ड हेन्री लेभी भन्नुहुन्छ, अफगानिस्तानको कुन्दुजमा मेडिसाँ साँ फ्रँतियर्स अस्पतालमा अमेरिकाले गल्ती गरी भएको बम आक्रमणबाट विश्व केही वर्षअघि निकै त्रस्त भएको थियो । अमेरिकी नियन्त्रित क्षेप्यास्त्रको बदलामा क्रेमलिनले निरन्तररूपमा अनियन्त्रित बम उपयोग गरी हवाई आक्रमण गर्दै गयो भने सिरियामा कतिवटा कुन्दुज उत्पन्न हुनुहुन भन्न गाह्रो छ । यो रुसी रणनीतिको एउटा उदाहरण मात्र हो तर यसले रुसी राष्ट्रपति पुटिनले आफ्नो पछिल्लो विदेशमा आक्रमणको योजनालाई कसरी कार्यान्वयन गर्नुहुनेछ भन्ने देखाउँछ ।

बर्नाडको दाबी छ, रुसी सैनिक कारबाही हालसम्म सिरियाको हवाई क्षेत्रमा रुसको नियन्त्रणका लागि र उसको स्वार्थको सुरक्षाका लागि तथा इस्लामिक स्टेटलाई पराजित गर्ने उसको प्रयासलाई बलियो बनाउनका लागि भएको छ भन्ने भ्रममा हामी पर्नुहुन्न ।

रुसी हवाई आक्रमण बिगतमा पनि इडलिब, होम्स तथा हामास्थित नगरमा लक्षित थियो । रुसी आक्रमणको प्राथमिक उद्देश्य राष्ट्रपति असदको शासनसँग युद्ध गरिरहेका प्रजातान्त्रिक प्रतिपक्षसहितका सबै प्रतिपक्षीलाई कमजोर बनाउनु रहेको छ ।

टर्कीले सिरियामा आफ्ना सेनाले अमेरिकाद्वारा आपूर्ति गरिएका एफ्–१६ प्रयोग गर्दै सिरियाली राष्ट्रपति बसर अल असद विरुद्धको आक्रमणलाई तेज पारिरहेको अवस्थामा रसियाले भने सिरियाली राष्ट्रपति असदलाई सघाउँदै आएको अवस्था छ । यतिखेर सिरिया विश्वका शक्ति राष्ट्रहरुको युद्धको खेलमैदान बन्न पुगेको छ । सिरियाको गुटामा यहाँका स्थानीय विद्रोही रहेको भन्दै रुसी सहयोगको सिरियाली सेनाले हानिरहेको छ भने अमेरिकाले त्यहाँ विद्रोही नभएर असदका विपक्षी समूहहरु मात्र रहेको बताउदै आएको छ । अमेरिकी यो धारणामा टर्कीको पनि सहयोग रहेको छ । तर हमला रोकिएको छैन । बम र बारुदको शिकार सर्वसाधारण नागरिक र बालबालिका परेका छन् ।

यसरी हेर्दा लाग्छ यो सात वर्ष पुरानो समस्याको समाधानको भरपर्दाे विकल्प अहिले पनि देखिएको छैन । राष्ट्रसंघको आग्रह मात्र आउँछ र त्यो पनि सबै शब्दमा मात्र सीमित छ । अघिल्ला केही वर्षहरुमा वार्ताको अगुवाई गरेका देखिएका अमेरिकी र रुसी नाटक पनि पछिल्लो समयमा बन्द अवस्थामा छन् । सँगै आन्दोलन सुरु भएका मध्यपूर्वी अरु राष्ट्रहरुमा उहिल्यै प्रजातन्त्र आइसक्यो तर सिरियामा भने एकजना व्यक्तिले सत्ता त्याग्न नसक्दाको परिणामले रगतको खोलो बगाइरहँदा पनि जिम्मेवारी लिने कोही भएन । यसरी अवोध नानीबाबुहरु बम र बन्दुकको शिकार भइरहँदा पनि विश्व सहयोगी भन्दा उल्टो रमिते बनिरहेको छ । अहिलेकै अवस्था जारी रहने हो भने यो नरशंहारले अझै कतिलाई शिकार खेल्ने हो भन्ने कुराको कुनै सुनिश्चितता छैन ।

यसमा तपाइको मत