राष्ट्रपतिको चुनाव आज


काठमाडौं, फागुन २९ । मूलुकको नयाँ राष्ट्रपति चयनका लागि आज निर्वाचन हुँदैछ । मतदान केन्द्र राखिएको संघीय संसद भवन नयाँ बानेश्वर परिसरमा विहान १० बजेदेखि मतदान सुरु हुने निर्वाचन आयोगले जनाएको छ ।

राष्ट्रपति निर्वाचनमा वाम गठबन्धनका तर्फबाट वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली काँग्रेसका तर्फबाट पूर्व सांसद कुमारी लक्ष्मी राई प्रतिष्पर्धामा छन । दिउँसो ३ बजेसम्म मतदान चल्ने र ४ बजेदेखि मतगणना सुरु गर्ने आयोगको कार्यतालिका छ ।

निर्वाचनका लागि आवश्यक सबै तयारी सकिएको र आजै बेलुकीसम्म मतगणनाको नतिजा आइसक्ने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । राष्ट्रपतीय चुनावमा संघीय संसद र प्रदेशसभाका गरी ८ सय ८० जना मतदाता कायम भएका छन् ।

संघीय संसद सदस्यको एक मत बराबर ७९ र प्रदेशसभा सदस्यको ४८ मतभार कायम गरिएको छ । कूल ५२ हजार ५ सय मतभार कायम रहेको निर्वाचनमा बिजयी हुनका लागि २६ हजार २ सय ५१ मत ल्याउनुपर्ने हुन्छ ।

वाम गठबन्धनसहित राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरमले समेत भोट हाल्ने निर्णय गरेकाले वर्तमान राष्ट्रपति भण्डारीको जित सुनिश्चित जस्तै छ । मुलुकमा राजतन्त्रको अन्त्य भई गणतन्त्र स्थापना भएपछि राष्ट्रपति पदका लागि हुन लागेको यो तेस्रो निर्वाचन हो ।

यसमा तपाइको मत