विमान दुर्घटनामा निधन भएकाको शब आज परिवारलाई बुझाइने


काठमाडौं, फागुन २९ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा हिजो विमान दुर्घटनामा परि निधन भएकाहरुको शव आज परिवारलाई बुझाइने भएको छ । दुर्घटनामा परी मृत्यु भएका शवको आज पोस्टमार्टम गरेर परिवारलाई बुझाइने प्रहरी प्रवक्ता मनोज न्यौपानेले जानकारी दिए ।

उद्धार कार्य र घाइतेको उपचार तथा शवलाई संकलन गर्दा हिजो ढिला भएकाले आज मात्र पोस्टमार्टम गरेर शव बुझाउन लागिएको हो । दुर्घटनामा निधन भएका सबै ४९ जनाको शव त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज राखिएको छ ।

विमानमा आगो लागेका कारण शव जलेकाले सनाखत गर्न मुस्किल हुने देखिएको छ । ४० वटा शव जलेका कारण पहिचान गर्न नसक्ने अवस्थामा रहेको अस्पतालले जनाएको छ् । पोस्टमार्टम गर्दा पहिचान खुल्न नसक्ने शवहरुको डिएनए परिक्षण गर्नु पर्ने अस्पतालको भनाई छ ।

यसैबीच विमान दुर्घटनामा २२ जना बाँच्न सफल भएका छन् । उनीहरुको काठमाडौंका ६ वटा अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये ११ जनाको काठमाडौं मेडिकल कलेल सिनामंगल, ४ जनाको ग्राण्डी अस्पताल धापासी र ४ जनाको नर्भिक अस्पताल थापाथलीमा उपचार भइरहेको छ ।

त्यस्तै ओम अस्पताल चावहिल, बासवासी न्यूरो र मेडिसिटि अस्पताल भैसोपाटीमा एक एक जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ । बंगलादेशको ढाकाबाट उडेको यूएस बंगला एयरलाईन्सको बिमान, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको हो ।

यसमा तपाइको मत