मेयर चौधरीलाई थप उपचारका लागि काठमाडौं ल्याइदै


कैलाली, फागुन २९ । अज्ञात समूहको गोली र खुकुरी प्रहारबाट गम्भीर घाइते कैलाली घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीलार्ई थप उपचारका लागि काठमाडौं ल्याइँदैछ । गएराति आफ्नै घरमा गोली र खुकुरी प्रहारबाट घाइते चौधरीलाई उपचारका लागि रातिनै नेपालगन्ज मेडिकल कलेजमा लगिएकोमा त्यहाँ उपचार हुन नसकेपछि काठमाडौं ल्याउने तयारी भएको हो ।

चौधरीको कम्मर र खुट्टामा लागेको गोली नेपालगन्जमा निकल्न नसकेपछि हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी भएको कैलालीका स्थानीय एमाले नेता तारा सुवेदीले जनाकारी दिए । चौधरीको अवस्था खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकले बताएपनि गोली निकाल्न नसकेकोले आइसियुमा राखेर उपचार भइरहेको सुवेदीले बताए ।

कैलालीको घोडाघोडी नगरपालिका–१ सुख्खड बजारको घरमा हिजो राती चौधरीमाथि खुकुरी प्रहार गर्नाका साथै गोली प्रहार भएकोे जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले बताए ।

राति आठ बजेर १० मिनेटतिर दुई वटा मोटरसाईकलमा आएका चार जनाले चौधरीमाथि गोली प्रहार गरेका थिए । यसैबिच घट्नामा संलग्न भएको आशंकामा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

सुखड क्षेत्रबाट नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टिका ३ जनालाई राति पक्राउ गरिएको प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । पक्राउ परेकाहरुको नाम भने खुलाएको छैन ।

पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहको प्रहरी उपरीक्षक घिमिरेले बताए । घोडाघोडीको ‘बोक्सी काण्ड’मा मिलापत्र गराउन खोजेको भन्दै विप्लव समूहका एक नेताले चौधरीलाई एमालेले कारवाही नगरे आफूहरुले ‘जनकारवाही’ गर्ने यसअघि धम्की दिएका थिए ।

घट्नास्थलबाट से २ प ३६७१ नम्बरको मोटरसाइकल पनि बरामद भएको प्रहरीले जनाएको छ । नगरपालिकाको देउकलियामा गत बिहीबार राधा चौधरीमाथि बोक्सीको आरोपमा कुटपिट गरिएको घटनालाई गाउँमै मिलाउन खोजी प्रहरी कार्यालयमा उजुरी गर्न नदिएको आरोप प्रमुख चौधरीलाई लागेको थियो ।

यसमा तपाइको मत