राष्ट्रपति निर्वाचनको मतदान जारी


काठमाडौं, फागुन २९ ।  संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदका लागि भएको निर्वाचनको मतदान शुरु भएको छ।  पहिलो मतदान संघीय संसद्का सदस्य जीपछिरिङ लामा र प्रदेशसभा सदस्य दामा शर्माले १० बजे सुरु गरे।

संघीय संसद् भवन नयाँ बानेश्वर परिसरको पूर्वतर्फको खाली स्थानमा संघीय संसद् र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र कायम गरिएको छ। मतदानका लागि बिहान ९ बजेदेखि नै मतदाता मतदान केन्द्रमा प्रवेश गरेका छन्।

मतदानको समय अपराह्न ३ः०० बजेसम्मका लागि तोकिएको छ।  राष्ट्रपतिको निर्वाचनमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वसांसद कुमारी लक्ष्मी राई प्रतिष्पर्धामा छन्। राष्ट्रपतिको निर्वाचन संघीय संसद्का सदस्य र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुनेछ।

निर्वाचन व्यवस्थित गर्न सुरक्षा व्यवस्थालाई चुस्त तुल्याउनाका साथै प्रत्येक केन्द्रमा महिला र पुरुषका लागि बेग्लाबेग्लै लामको व्यवस्था गरिएको छ। निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार राष्ट्रपति निर्वाचनका लागि संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) का ३३१ र प्रदेशसभाका ५४९ सदस्य गरी ८८० जना मतदाता छ्न्।

आयोगले मतदातालाई आफू सदस्यमा निर्वाचित भएको प्रमाणपत्र वा नागरिकताको प्रमाणपत्र वा मतदाता परिचयपत्रमध्ये कुनै एउटा कागज बोकेर मतदानका लागि आउन अनुरोध गरेको छ।

यसमा तपाइको मत