विद्यादेवी भण्डारी राष्ट्रपतिमा अत्यधिक मतले निर्वाचित


काठमाडौं, फागुन २९ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदमा विद्यादेवी भण्डारी अत्यधिक मत प्राप्त गरी विजयी भएको हुन । नेकपा एमाले र माओवादीलगायत दलको समर्थनमा उम्मेदवार बनेकी वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी दोस्रो कार्यकालका लागि फेरि मंगलबार राष्ट्रपतिमा निर्वाचित भएकी हुन ।

उनी नेपाली कांग्रेसलगायतका दलको समर्थनमा उम्मेदवार बनेकी कुमारीलक्ष्मी राईलाई अत्यधिक मतान्तरले पछि पार्दै विजयी भएकी हुन ।

उनले ३९ हजार २७५ मतभार प्राप्त गरेकाे निर्वाचन अधिकृत दीलप्रसाद श्रेष्ठले जानकारी दिए । राष्ट्रपति विद्यादेवी भण्डारीका प्रतिस्पर्धी नेपाली काँग्रेसकी नेत्री कुमारीलक्ष्मी राईले ११ हजार ७३० मत प्राप्त गरिन।

उक्त निर्वाचनमा संघीय संसद्तर्फ तीन र प्रदेशसभा सदस्यतर्फ पाँच मत बदर भएको थियो ।

संघीय संसद्का ३३१ मतदातामध्ये ३२६ र प्रदेशसभाका ५४९ मध्ये ५३६ जनाले मतदान गर्नुभएको थियो ।

कूल मतदातामध्ये संघीय संसद्का पाँच र प्रदेशसभाका १३ गरी १८ जना मतदाता अनुपस्थित थिए ।

भण्डारी यसअघि २०७२ साल असोज ३ गते संविधानसभाबाट संविधान जारी भएपछि एमाले र माओवादीको समर्थनमा राष्ट्रपति बनेकी थिइन ।

भण्डारी एमालेका तत्कालीन महासचिव मदन भण्डारीकी पत्नी हुन ।

राष्ट्रपति भण्डारीकाे जीवनी

राष्ट्रपति विद्या भण्डारीको जन्म २०१८ असार ५ गते भोजपुर जिल्लामा आमा मिथिला पाण्डे तथा बाबु रामबहादुर पाण्डेको कोखमा भएको थियो । बेहेरेश्वर प्राथमिक विद्यालय भोजपुरबाट प्राथमिक शिक्षाको सुरुवात गरेकी भण्डारीले विद्योदय व्यवसायिक सेकेन्डरी स्कूल भोजपुरबाटै एसएलसी उत्तीर्ण गरेकी हुन् ।

भोजपुर क्याम्पसबाट आइएको अध्ययन पूरा गरी भण्डारीले महेन्द्र मोरङ्ग बहुमुखी क्याम्पस विराटनगरमा बिए अध्ययन गरेकी हुन् । विद्यार्थी जीवनदेखि नै कम्यूनिस्ट राजनीतिमा सक्रिय भण्डारी २०३७ सालमा महेन्द्र मोरङ्ग बहुमुखी क्याम्पस विराटनगरको स्ववियू कोषाध्यक्ष निर्वाचित भएकी थिइन् ।

उनको २०३९ सालमा तत्कालीन नेकपा मालेका नेता मदन भण्डारीसँग भूमिगत रूपमा विवाह भयो । पतिको २०५० साल जेठ ३ गते जीप दुर्घटनामा मृत्यु भएपछि भण्डारी राजनीतिमा पुनः सक्रिय भइन् । मदन भण्डारीको निधनपछि रिक्त काठमाडौं क्षेत्र नम्बर १ मा २०५० सालमै भएको उपनिर्वाचनमा सत्तारुढ नेपाली कांग्रेसका तत्कालीन सभापति कृष्णप्रसाद भट्टराईलाई पराजित गरेपछि राजनीतिमा भण्डारीको परिचय झन् व्यापक भयो ।

भोजपुर क्याम्पसमा आइए अध्ययनको थालनीसँगै २०३५ सालदेखि नेकपा मालेको युवा लिगमा संगठित हुँदै भण्डारीले राजनीतिक जीवनको थालनी गरेकी हुन् । भण्डारीले २०५४ सालमा नेपालगन्जमा भएको एमालेको छैटौं महाधिवेशनदेखि एमालेको केन्द्रीय कमिटीमा रहेर काम गरेकी हुन् ।

उनी लामो समयसम्म पार्टीको भातृ संगठन अखिल नेपाल महिला संघकी अध्यक्ष भइन् । २०६५ सालमा बुटवलमा भएको आठौं र काठमाडौंमा भएको नवौं महाधिवेशनबाट भण्डारी पार्टी उपाध्यक्षमा निर्वाचित भएकी थिइन् । भण्डारी २०५४ सालमा महिला बालबालिका तथा समाजकल्याण मन्त्री बनेकी थिइन् भने पछि रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालिन् ।

मदन भण्डारी सहकर्मी नेता अशोक राईसँग भोजपुर घुम्न जाँदा विद्यासँग पहिलो भेट भएको थियो । पछि विद्या उच्च शिक्षाका लागि विराटनगर झरिन् । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस त्यतिबेला राजनीतिको एउटा केन्द्र थियो ।

मदन भूमिगत राजनीति गर्थे । त्यही भूमिगत राजनीतिकै सिलसिलामा विद्या र मदनको सम्बन्ध गहिरिन थाल्यो । कठोर भूमिगत कालमै विक्रम सम्वत् २०३९ सालमा विद्या र मदन वैवाहिक बन्धनमा बाँधिए ।

भण्डारीका २ छोरी छन् । जसमध्ये जेठी छोरी उषाकिरण भण्डारीको उमेश थापासँग र कान्छी छोरी डा। निशाकुसुम भण्डारीको इन्जिनियर अभिषेक यादवसँग विवाह भएको छ ।

यसमा तपाइको मत