जनयुद्ध र बराबरीको हैसियत नस्विकारे सम्म एकता नगर्न प्रचण्डलाई वाइसिएलको दबाब


काठमाडौं, वैशाख २ ।   नेकपा एमाले र माओवादी केन्द्रबीच यही वैशाख ९ गते नै एकता नहुने भएको छ । यसअघि दुवै दलका प्रतिनिधि सम्मिलित कार्यदलले सोही दिन एकता गर्न सुझाव दिएको थियो । कार्यदलको सुझाव अनुसार शिर्षस्थ नेताले पनि वैशाख ९ गते नै एकता गर्नेगरी तयारी अघि बढाउने निर्णय गरेका थिए ।

तर अझै धेरै विवाद मिल्न बाँकी रहेको र समाधानको प्रयास पनि नभएकाले सो मितिमा एकता नहुने निश्चित भएको हो । माओवादी केन्द्रका एक नेताले भने, ‘विवादित विषय मिलाउन कुनै प्रयास भएको छैन । अब वैशाख ९ गते त कसरी एकता हुन्छ ?’ दुईवटा कार्यदलले विवादित विषय मिलाउने जिम्मा शिर्षस्थ नेतालाई दिएका थिए । तर शिर्षस्थ नेता सम्मिलित पार्टी एकता संयोजन समितिको बैठक नै बस्न सकेको छैन ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली भारत भमणबाट फर्किएपछि बैठक बोलाइए पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अस्वस्थ्यताको कारण देखाएर अनुपस्थित हुने जनाएपछि बस्न सकेन । भारत भ्रमणमा जानुअघि बसेको बैठकले वैशाख ९ गते पार्टी एकता गर्ने निर्णय गर्दै सोही अनुसार तयारी अघि बढाउन मातहतका निकायलाई निर्देशन दिएको थियो ।

जनयुद्धको सम्बोधन, चुनाव चिन्ह, एकीकृत कमिटीमा दुई पार्टीबाट रहने संख्याको अनुपात लगायतका विषय मिल्न बाँकी छ । नेकपा एमालेले एकताबारे छलफल गर्न यही साता पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक बोलाएको छ । ती बैठकअघि सबै विषयमा सहमति जुटाउने भनिए पनि एकता संयोजन समितिको बैठक नै बस्न नसकेकाले वैशाख ९ गते एकता नहुने निश्चित भएको हो ।

प्रचण्डलाई वाइसिएलको दबाब
यसैबीच माओवादी केन्द्रको भातृसंगठन वाइसिएलले जनयुद्धलाई स्विकार नगर्ने र बराबरीको हैसियत नदिने हो भने नेकपा एमालेसँग एकतामा नजान पार्टी अध्यक्ष प्रचण्डलाई सुझाव दिएको छ ।

वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटा ‘दिपाशिखा’ सहितका पदाधिकारीले आइतबार बिहान अध्यक्ष प्रचण्डलाई भेटेर यस्तो सुझाव दिएका हुन् । वाइसिएल अध्यक्ष सापकोटाले भने, ‘एकीकृत पार्टीको विधानमा अहिलेसम्मका परिवर्तन जनयुद्धकै कारण भएको हो भन्ने उल्लेख नगरेसम्म र बराबरीको हैसियत नदिएसम्म पार्टी एकता नगर्न सुझाव दिएका छौं ।’

आफ्नो सुझावलाई अध्यक्ष प्रचण्डले सकारात्मक रुपमा लिएको उनले बताए । वाइसिएल पदाधिकारीले दुई अध्यक्ष नबनाउन, एकजनाले सरकारको नेतृत्व गरेपछि अर्कोले पार्टीको नेतृत्व गर्न समेत सुझाव दिएका थिए । अध्यक्ष प्रचण्डले यसबारे पहिले नै सहमति भइसकेकाले पछि हट्न नसकिने बताएको सापकोटाले जानकारी दिए । उनका अनुसार जनयुद्धको सम्बोधन र बराबरीको हैसियतका बारेमा भने अडान लिने आश्वासन प्रचण्डले दिएका छन् ।

सापकोटाले भने, ‘कुनै ठाँउमा जनयुद्ध लेखेर मात्र हुँदैन, अहिलेसम्मका परिवर्तनमा जनयुद्धको योगदान थियो भनेर स्पष्ट रुपमा स्विकार गर्नुपर्छ । नत्र हामीलाई एकता मान्य हुँदैन ।’

यसमा तपाइको मत