आज देखि मतदाता नामावली संकलन कार्य सुरु


काठमाडौं, वैशाख २ ।  निर्वाचन आयोगले क्षेत्रीय तथा जिल्ला निर्वाचन कार्यालय मार्फत आइतबारदेखि मतदाता नामावली संकलन कार्य सुरु गरेको छ ।

आयोगका अनुसार नागरिकता प्राप्त नेपाली नागरिकले आफ्नो नाम मतदाता नामावलीमा दर्ता गर्न, यसअघि नाम भएका मतदाताको नामावली अन्यत्र सार्न, विवरण सच्चाउन र नामावली हटाउन सक्ने छन् ।

आइतबार कार्यालय समय बिहान १० बजेदेखि ७७ वटै जिल्लाका जिल्ला निर्वाचन कार्यालय मार्फत नाम दर्ता गर्ने कार्य सुरु भएको आयोगले जनाएको छ ।  नागरिकता प्राप्त गरेका व्यक्ति १८ वर्ष उमेर नपुगेको अवस्थामा उमेर पुगेपछि आयोगले स्वतः मतदाता नामावलीमा नाम समावेश गर्ने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

काठमाडौंमा रहने विभिन्न जिल्लाका नागरिकले भने काठमाडौंबाटै नाम दर्ता गर्न सक्ने छन् । अर्को निर्वाचनको मिति घोषणा नभएसम्मका लागि अब निरन्तर मतदाता नामावली संकलन तथा अध्यावधिक गरिने निर्वाचन आयोगले जनाएको छ । आयोगले केही समयपछि भने स्थानीय तहबाटै नामावली संकलनको तयारी गरेको छ ।

यसमा तपाइको मत