भूकम्पपछिको तीन वर्ष पीडितको अवस्था उस्ताको उस्तै

‘सरखार, हामी त सोझा जाति। छक्कापञ्जा जान्दैनौं। टाठाबाठालाई मात्रै होइन, गरिबलाई पनि हेर्नू।’



काठमाडौं, वैशाख १२ । भूकम्प गएको तीन वर्षमा सिन्धुपाल्चोक बाह्रबिसेका बिकमान थामीको टहरामा सम्झनलायक तीन दृश्य देखिए।

पहिलो दृश्य : चुनावको : १० जनाको परिवार भएको बिकमानसँग केही भोट छन्। फरकफरक पार्टीका नेता उनको टहरामा आए। घर बनाइदिने बाचा गरे। भोट हालेर स्याँस्याँ गर्दै फर्किए बिकमान। केही दिनपछि सडकमा विजय जुलुस निस्कियो। मोटरसाइकल र पँजेरोको आवाजले बिकमानको टहरामा आउने जुरेली र भँगेरालाई धेरै दिनसम्म लखेट्यो। त्यसपछि शून्य भयो बाटो। देखिएनन् भोट माग्नेहरू। उनले भोटको बदलामा छातीमा झण्डा टाँसिएको एउटा टिसर्ट पाए। उनका छोरा भारी बोक्दा आजकाल त्यही टिसर्ट लगाउने गर्छन्।

बिकमानले झेलेको दोस्रो दृश्य हो- प्रभु येसुको लीला : रोग र भोकले डेरा जमाएर बसेको बिकमानको घरमा प्रभु येसुको सन्देश लिएर लोकल पादरीहरू पुगे। बिकमान आशावादी भए। छातीको बीचमा लागेको गरिबीको घाउ प्रभुले निको पार्ने आशामा उनी चर्च पुगे। ध्यान दिएर कुरा सुने। कहिल्यै पुस्तक नछोएका बिकमानले बाइबल छोइ हेरे। रोग र दुःख मोचन हुने आशा गरे। तर, रोग २० को १९ पनि भएन। गरिबीको त झन के कुरा १ त्यसपछि बिकमान फर्किएर फेरि चर्च गएनन्।

तेस्रो दृश्य यस्तो छ- बिकमान टहरामा बस्दाबस्दै नगरवासी भए। गाउँवासीबाट नगरवासी भएको उनले पत्तै पाएनन्। ‘तपाईं नगरवासी हुनुभयो नि रु ’, हाम्रो प्रश्नपछि खैनीले खाएको दाँत देखाउँदै उनी फिस्स हाँसे। एकछिनपछि भने, ‘खै नगरपालिका आयो भन्छ। आयो कि आएन केही थाहा भएन।’ नगरपालिकाले बिकमानलाई कुनै उत्साह दिन सकेन……..


यो खवर आजको अन्न्पूणृ दैनिकले छापेको छ ।

खेतको एकलास कुनामा बनेको छ एउटा टहरा। टिनको छाना, टिनकै भित्ता। टहरामा अडेस लागेर टुक्रुक्क बसिरहका छन् एकजना मान्छे, चलमलाउँदैनन्। टाढाबाट हेर्दा मान्छे नै हो भनी ठम्याउन गाह्रो पर्छ।

तिनी नजिक पुग्दा देखिन्छ( सेत्तै फुलेको कपाल। मैलो, खैरो रंगको कोट र कट्टु लगाएर टुक्रुक्क बसिरहेका एकजना वृद्ध। खुट्टामा प्लास्टिकको चप्पल, नङ अस्वाभाविक रूपमा बढेर चप्पलबाहिरै निस्किएको छ। खोकिरहेका छन् एकोहोरो। उनी भूकम्पपछि बनेका छिमेकीका अग्ला घरहरू हेरिरहेका थिए।

नाम के हो बा ? प्रश्न आएतिर हेर्छन्।

तुरुन्तै उत्तर दिन्छन्- ‘बिकमान थामी।’

उमेर ? ‘२०१८ सालको जन्म हो मेरो।’

सिन्धुपाल्चोक बाह्रबिसे बजारको पश्चिमपट्टि, बग्रेफाँटमा छ( उनको टहरा। भूकम्पले आफ्नो थातथलो भत्काएपछि बिकमान यो टहरामा बस्न थालेका हुन्। ठ्याक्कै तीन वर्ष पूरा भयो टहरामा बस्न थालेको। यो तीन वर्षमा कति हुरी, कति घाम, कति वर्षा उनले र टहराले सँगै थामे, बिकमानलाई उति भेउ छैन।

वर्षा लाग्यो। भूकम्पपीडितलाई चिन्ता थपिएको छ। अब भेल पस्छ टहरामा। आहाल सोहर्नुपर्छ रातभरि। चिसो लाग्छ। न्यानो लुगा छैन। पीडित भन्छन्, ‘भूकम्पले हामीलाई झनै गरिब बनायो। सरखार भनेको हुनेखानेको त रै’छ नि। अब आशा छैन।’

भूकम्पपछिका केही समय यहाँ बिकमानका जस्ता कैंयन् टहरा ठडिएका थिए। चार तलाको घरधनीदेखि ठूलाठूला साहुजीसम्मका टहरा सँगै थिए। दोकानदारदेखि ठेकेदारसम्मका टहरा थिए। भूकम्पले तर्साउन छाडेपछि टहरा विस्तारै पातलियो। घर बनाउन सक्नेहरू लाखापाखा लागे। तर, बिकमानको तीन वर्ष हिउँद-वर्षा यही टहरामै बित्यो। ।।।

अतिसीमान्तकृत जातिमा सूचीकृत थामी जातिको बाक्लो बस्ती छ: सिन्धुपाल्चोकको पिस्कर, धुस्कुनमा। त्यतैबाट बिकमानको पुस्ता भारी बोक्दै बाह्रबिसे बजारतिर झरे। भोटेकोसी किनार फापेन बिकमानको पुर्खालाई। बजारभन्दा माथि पहराको टुप्पा र फेदीतिर बसे, उनीहरू।

बाल्यकालमै आमा गुमाएका बिकमानले स्कुल टेक्न पाएनन्। बाह्रबिसे बजारमा भारी बोक्नु, ज्यामी काम गर्नु उनको पुख्र्यौली पेसाजस्तै बन्यो। बिकमानले अंशमा पाए( भारी बोक्ने नाम्लोसँगै भीरमाथिको १ रोपनी पाखोबारी। पाखोबारीमै बनाए एकतले ढुंगे घर। उनका ५ छोरा र एक छोरीमध्ये केहीले तीनसम्म पढे, धेरैले स्कुलै देखेनन्। बच्चाबच्ची हुर्काउन बाह्रबिसे बजारमा भारी बोक्दाबोक्दै बित्यो बिकमानको जीवन।

बिकमान बाह्रबिसे बजारका पुराना साक्षी हुन्। उनले देखेका छन्- दक्षिण बग्ने भोटेकोसीको छालसँगै बाह्रबिसेले कसरी आफ्नो रंग फेर्दै गयो। बजारको साहुले कसरी तोक्छ पसिनाको भाउ रु हेर्दाहेर्दै भोटेकोशी किनारमा कस्ता घरहरू थपिए रु खासा बजार चम्किन थालेपछि बाह्रबिसे कस्तरी चम्कियो रु उनलाई सबै थाहा छ। उनले देख्दादेख्दै बाह्रबिसेको स्वरूप फेरियो। यहाँको माटो महँगियो। होटल र लजहरू थपिए। सबै सामानको भाउ बेस्सरी बढ्यो।

दोकानहरू फस्टाए। सँगै व्यापार पनि फस्टायो। तर, बिकमानको जीवन रु अहँ फस्टाएन। बिकमानको पसिनाको भाउ कहिल्यै बढेन। बाह्रबिसे बजारमा आजसम्म कुनै थामीको एउटा पनि गतिलो दोकान छैन। थामीहरू मात्र भारी बोक्न योग्य ठहरिए। बिकमानले जीवनभर भारी बोके। अन्न बोके, लुगाफाटो बोके। तर न उनले पेटभरि अन्न खान पाए। न एकसरो राम्रो लुगा लाउन पाए।

बजारमा बडेमानको भारी बोक्दाबोक्दै एक दिन बिकमानले रगत छादे। फन्फनी टाउको घुम्यो। गर्लम्मै ढले। भारीले उनलाई थिच्यो। थरर्र काम्दै उठे, फेरि भारी बोके। त्यसपछि बिकमान बिस्तारै गल्दै गए। भारी बोक्न सकेनन्। घरछेउको ढुंगामाथि टुक्रुक्क बसेर बजारलाई टुलुटुलु हेर्नु सिवाय बिकमानसँग अरू विकल्प रहेन। तर, बिकमानको नाम्लो ढोकाको कुनामा थन्किएन। अब नाम्लो बोकेर श्रीमती बजार झर्न थालिन्।

बिरामी बिकमानको घरमा ढ्याङ्ग्रो बजेको आवाज आधारातसम्म परपर सुनिन थाल्यो। श्रीमतीले पूजाको सर्जाम लिएर उकालो लागेको बजारीयाहरूले निकै पटक देखे। तर, बिकमानलाई सञ्चो भएन। ओछ्यान परिरहे। कसैले विकमानलाई भनिदियो, ‘तिमीलाई पक्कै टीबी लागेको हुनुपर्छ। यस्तो रोग गरिबलाई मात्रै लाग्छ रे।’

महिनौंपछि बिकमान कुप्रो शरीर लिएर ओरालो झरे। उनी अरनिको यातायातको अन्तिम सिटमा कोचिएर काठमाडौं हिँडे। ठिमी गएर क्षयरोग जाँच गराए। डाक्टरले क्षयरोग नलागेको बताए। केही औषधि लेखिदिए। औषधि खाइन्जेल निको हुने, डोज सकिएपछि फेरि गहिरो खोकी र दम बढ्ने रोगले उनलाई कहिल्यै छोडेन।

श्रीमती र ठूली छोरी ज्यामी कामसँगै बजारमा लुगा धुन जान थाले। हुर्केका छोराहरू पनि स्कुल जान पाएनन्। बरु बजारीयाहरूले देखे( प्रत्येक दिन जुन बाटो बिहानै नाम्लो बोकेर ओरालो झर्थे बिकमान, भीरको त्यही बाटोमा नाम्लो बोकेका उनका कलिला दुई छोरा थपिए। बिकमानले बाबुको नाम्लो बोके। बिकमानको नाम्लो छोराहरूले बोक्न थाले।

२०७२ वैशाख १२ गते। बिकमानको घर ढल्यो। बालबाल बाँचे उनी। सबै थोक पुरियो भूकम्पमा। पराकम्पले डाँडै हल्लाउन थालेपछि बँचेखुचेको सामान कुम्लो बोकेर उनी परिवारसहित ओह्रालो लागे। बजारको पश्चिमपट्टि खेतमा टहरा बनाएर बस्न थाले।

विभिन्न संघसंस्थाले राहत वितरण गर्‍यो। बिकमान भन्छन्, ‘भाँडाकुँडा दियो। खानेकुरा दियो। नत्र भोकै मरिन्थ्यो होला।’ पहिलो किस्ताको ५० हजार अनुदान उनले पाए। पैसा लिएको बेला सरकारप्रति बिकमान निकै कृतज्ञ भएका थिए। पहिलोपटक आफू नागरिक भएको मसहुस गरे उनले। विपत्ति, दुःख, गरिबी र रोगले डेरा जमाएर बसिरहेको बिकमानको टहरामा त्यो पैसा मरुभूमिमा शीतको थोपाजस्तो बन्यो। दुरुपयोग गर्ने मन नहुँदा नहुँदै पैसा सकियो। पछिपछि सबैको टहरा हटे। तर, बिकमानको टहरा अझै छ। फाँटमा उनी मात्रै बाँकी छन्। अँध्यारो टहरामा उस्तै छ( अभाव, गरिबी, अशिक्षा र दुःख।

टहराको डिलबाट उनले हेर्दाहेर्दै ठूला मान्छेका घरको पिल्लर ठडिए। तला थपियो। जसको घर भत्किएकै थिएन, उसले पनि लाभग्राहीमा नाम निकालेर नयाँ घर थपे। जसको घर सामान्य चर्किएको थियो, उसले पनि भूकम्पपीडित बन्दै तला थपे। बिकमानका श्रीमती र छोराहरू भने अर्काको घर ठड्याउन धाइरहे।

तीन वर्ष बितिसक्दा उनले न घर बनाउन सके, न टहरा छोड्नै सके। न सरकारले अनुदान थपिदियो। पहिलो किस्तामै अड्कियो अनुदान। दोस्रो किस्ता पाउन उनले घरको जग बनाउनुपर्छ। अब घरको जग हाल्न नसके पहिलो किस्तास्वरूप पाएको ५० हजार उनले फिर्ता गर्नुपर्छ। त्यसैले अब ऋण गरेरै जग हाल्ने योजनामा छन् उनी। तर, ऋण ल्याउने कहाँबाट रु उनीमा चिन्ता थपिएको छ। उनको साझो निष्कर्ष छ, ‘भूकम्पले गरिबलाई हेप्यो। सरकारले पनि गरिबलाई नै हेप्दो रहेछ।’

बिकमानलाई आजभोलि दमले झनै च्याप्न थालेको छ। रातभरि सुत्दैनन्, खोकिरहन्छन्। मनमा कुरा खेलिरहन्छ। गालाको खोपिल्टो झन्झन् बढ्न थालेको छ। भन्छन्, ‘रातभरि निद्रै लाग्दैन। कतिबेला उज्यालो हुन्छ भन्ने मात्र मनमा खेल्छ।’ घाम उदाएपछि बिकमानको प्राण भरिएझैं हुन्छ। त्यसपछि टहराबाहिर निस्किएर सडकतिर एकतमासले हेरिरहनु, अगाडि बनेका घरको तला गनिरहनु उनको वर्षौंदेखिको दैनिकी बनेको छ।

अर्काको खेतमा कति समय बस्न दिने हो कुनै ठेगान छैन। कतिबेला लालाबाला लिएर कहाँ जानुपर्ने हो कुनै टुंगो छैन। लखेटिएका शरणार्थीझैं अस्थायी बनेको छ जिन्दगी। सुस्तरी भन्छन्, ‘कहिलेकाहीँ दिक्क लाग्छ। दिक्क लागेर पनि के गर्नु खै १ मर्न सकिएन।’

अब वर्षा लाग्यो। बिकमानलाई चिन्ता थपिएको छ। भेल पस्छ टहरामा। आहाल सोहर्नुपर्छ रातभरि। चिसो लाग्छ। न्यानो लुगा छैन। बेस्सरी खोक्दै बिकमान भन्छन्, ‘भूकम्पले हामीलाई झनै गरिब बनायो। सरखार भनेको हुनेखानेको त रै’छ नि। अब आशा छैन।’

सरकारमाथि बिकमानको आग्रह छ, ‘सरखार, हामी त सोझा जाति। छक्कापञ्जा जान्दैनौं। टाठाबाठालाई मात्रै होइन, गरिबलाई पनि हेर्नू।’

यसमा तपाइको मत