तस्करको साढे ३३ किलो सुनले हत्या र आत्महत्याको शृंखला

सातामा डेढ सय किलो सुन तस्करी, एसपी र डिआइजी अनुसन्धानको घेरामा



काठमाडौं, वैशाख १३ । फ्लाई दुबईको जहाजबाट ७ माघमा आएको साढे ३३ किलो सुन विमानस्थलको भन्सार र सुरक्षा संयन्त्र छलेर बाहिर आइपुग्यो । तस्करीको सुन विमानस्थलबाट बाहिर ल्याउने जिम्मा थाई एयरका प्राविधिक सानु बनले लिएका थिए । सानुले जसलाई सुन हस्तान्तरण गरेका थिए त्यो मान्छे अचानक बेपत्ता भयो । ऊ बानेश्वर पुग्नुपर्ने थियो । तर, सुन र मान्छे बेपत्ता भएपछि योजनाकार आत्तिए ।

यो खवर आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।

थाई एयरका प्राविधिकले विमानस्थलमै आत्महत्या गरे
तस्करीका मुख्य योजनाकार गोरे भनेर चिनिने चूडामणि उप्रेती हुन् । आफ्नो सुन हराएपछि उनले बनलाई नियन्त्रणमा लिएर धापासीस्थित थ्री मोटर्स ग्यारेजमा लगे । अनेक यातना पाएर ड्युटीमा फर्किएका बन अचानक २२ माघमा विमानस्थलभित्रै दुर्घटनामा मारिए । सिसिटिभी फुटेज भन्छ, ‘उताबाट उच्चगतिमा आइरहेको इन्धन ट्याङकरमुनि छिरेका बनले आत्महत्या गरेका हुन ।’ तर अनौठो, यो विषयमा विमानस्थल प्रशासन र प्रहरी संगठनले यो विषयमा गम्भीर अनुसन्धान गरेन । उनको मृत्युलाई सामन्य दुर्घटनाका रुपमा प्रचार प्रहरी बुलेटिनबाट प्रचार गरियो ।

काठमाडौंमा अपहरण, मोरङमा यातना
बनको ज्यान गयो, तर गोरेको सुन भेटिएन । बनको मृत्यु दुर्घटनामा दर्ज भएकोले गोरेलाई आफ्नो सुन खोज्न समय र सुविधा भयो । उप्रेतीले आफ्ना पुर्व लेखा सहयोगी सनम शाक्यले सुन लगेको शंका गरे । आफुसँग काम गरेर तीन महिनाअघि अलग्गिएका शाक्यले षड्यन्त्रपुर्वक सुन गायब बनाएका हुन सक्छन् भनेर उनलाई नियन्त्रणमा लिइयो । सनमसँगै टेकराज मल्ल, कृष्ण भनिने नरेन्द्र कार्की र मोहन काफ्लेलाई नियन्त्रणमा लिएर काठमाडौंबाट मोरङ पुर्‍याइयो । गाडिमा उनीहरुलाई त्यटि टाढा पुर्‍याउँदा पनि प्रहरीबाट कुनै हस्तक्षेप भएन ।

नियन्त्रणमा परेका चारै जना गोरेको सहयोगी र भरियाको रुपमा विगतमा काम गरिसकेका थिए । सुन कहाँ छ भन्दै उनीहरुलाई यातना दिन थालियो । करेन्टको झड्का सहन नसकेर सनमको ज्यान गयो । अब गोरेलाई सुन खोज्ने मात्र होइन, सनमको शब ठेगान लगाउने जिम्मा पनि आइलाग्यो । यो बीचमा गोरे र महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाका सई बालकृष्ण सञ्जलेबीच सम्वाद भइरहेको थियो । शव ठेगान लगाउने, सुन खोज्ने र यसवापत सइ सन्जेलले रकम पाउने सहमति भयो।

यसरी मुछियो प्रहरी
गोरे र सन्जेलबीचको सहमतिको रिपोर्टिङ महानगरिय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीलाई भइरहेको थियो । यो बीचमा पैसाको बार्गेनिङ भयो, प्रहरी अधिकारीहरुले पाँच करोड मागेका थिए, अन्तिममा दुई करोडमा सहमति भएको हो । तर, गोरेलाई समात्न गएका डिएसपी केसी अपरेशनकै बीचमा एक दिन मोबाइल पनि स्वीच अफ गरेर प्रहरी सम्पर्कबाट बाहिर थिए । त्यसैले पनि उनीमाथि शंका छ । ठोस आधार नभेटिएकोले केसी र लोहनीलाई निगरानीमा राखेर वयान लिने क्रम जारी छ । तर, अपरेशनमा कुनै सम्वन्ध नभएका एसपी विकासराज खनाल र पुर्व डिआईजी गोविन्द निरौला पक्राउ परेका छन् ।

एसपी र डिआइजी अनुसन्धानको घेरामा
गोरेले सनमको शब मोरङबाट उठाएर इटहरी र धरानबीचको जंगलमा तह लगाउने योजना बनाएका थिए । त्यहीबीचमा काठमाडौं र मोरङको प्रहरी धरान पुगिसकेको थियो । त्यो बीचमा प्रहरी र गोरेबीच फोनमा बार्गेनिङ पनि चलिरहेको थियो । पाँच करोडबाट सुरु भएको बार्गेनिङ दुई करोडमा टुंगिएको थियो । पैसा बोेकेर गोरे धरान आउन राजि पनि भएका थिए । प्रहरी गोरेको प्रतिक्षामा थियो, रात बित्दै गएपछि गोरेले धरान होइन, बिराटनगरको पोखरीयामा भेट्ने प्रस्ताव राखे ।

प्रहरी टोलि तत्काल पोखरीया पुगेर कुर्न थाल्यो । केही समयपछि बा १२ प ५९६३ नं। स्कोरपियो प्रहरी टोली छेउ रोकियो । तर, भनिएकै नम्बरको गाडिमा गोरे थिएनन, उनका सहयोगी मात्र थिए, डिक्कीमा सनमको शब थियो । सम्पर्क गर्दा गोरेको फोन स्वीच अफ भइसकेको थियो । त्यसयता उनी सम्पर्कमा छैनन् । गाडि चालकको सहयोगमा गोरेका पुर्वसहयोगी काभ्रेका ३२ बर्षीय टेकराज मल्ल, मोरङ उर्लाबारी–७ का ३३ बर्षीय कृष्ण भनिने नरेन्द्र कार्की र मोरङ उर्लाबारी–७ का ३७ बर्षीय मोहन काफ्लेलाई पक्राउ गर्यो । उनीहरुलाई सनमसँगै काठमाडौंबाट मोरङ लगिएको थियो ।

आरोपीका आफन्तले गृहमन्त्री गुहारे
सनमको हत्या मल्ल, कार्की र काफ्लेले गरेको भनेर प्रहरीले घटना सार्वजनिक ग¥यो । प्रहरीको विवरणमा विश्वास गरेर समाज मौन थियो । तर, पक्राउ परेकाका परिवारले गृहमन्त्री रामबहादुर थापा बादललाई भेटेर उजुरी दिएपछि मन्त्रालयबाट छानविन समिति बन्यो । त्यही बेला गृहमन्त्रीले भनेका थिए, ‘विमानस्थलबाट टनका टन सुन आइरहेको छ ।’

तर योजनाकार र सुन बेपत्ता
गृहका सहसचिव इश्वरराज पौडेलको संयोजकत्वमा गठित उच्चस्तरीय छानविन समितिले गोरेको फोनको कल डिटेल विश्लेषण गर्‍यो । प्रहरी टोली सुनसरीको धरान र मोरङको पोखरीयाबीच दौडधुप गर्दा गोरेले डिएसपी सन्जय राउत, एसपी विकासराज खनाल र डिआइजी गोविन्द निरौलासँग पनि सम्वाद गरिरहेका थिए ।

इलाका प्रहरी कार्यालय इटहरीका इन्चार्ज राउत, मकवानपुरका प्रहरी प्रमुख खनाल र प्रहरी प्रधान कार्यालयको अन्वेषण ब्युरो प्रमुख अपरेशनमा थिएनन् । तर, उनीहरुले प्रहरीको योजना सुनाएर गोरेलाई भगाएको छानविन समितिको विश्लेषण छ । त्यही आरोपमा उनीहरु पक्राउ परेका छन् । डिएसपी सन्जय राउत वयान दिन गृहमन्त्रालय पुगेका थिए, बीचमा उनी त्यहींबाट फरार भएका छन् । प्रहरी हाकिम सिंहदरबारबाटै फरार भएकाले घटनामा उनीहरुको संलग्नता भएको दावीमा थप बल मिलेको छ । तर, यसमा अरु को को तानिने हुन, प्रतिक्षाको विषय छ ।

यो बीचमा १८ जना पक्राउ परेका छन् र पक्राउ परेका मध्ये गोरेका अर्का एक सहयोगी प्रेमलाल चौधरीले महानगरीय प्रहरी वृत्त सिंहदरबारमा आत्महत्या गरेका छन् । तर रेडकर्नर नोटिस जारी भएका गोरे मात्र होइन यसको मुख्य कारण साढे ३३ किलो सुनको पनि अत्तोपत्तो छैन ।

 

सातामा डेढ सय किलो सुन तस्करी

सुनचाँदी व्यवसायी भन्छन्– बजारमा दैनिक ४० केजी सुनको माग छ । तर, नेपाल राष्ट्र बैंकले २० किलो सुन मात्र आयात गर्ने अनुमति दिएको छ । यसरी दिनमा २० किलो र सातामा करिब डेढ सय किलो सुन तस्करीबाट आएको अनुमान छ । भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको ८ महिनामा चार हजार सात सय ५० केजी सुन आयात भएको छ । जसको मूल्य २० अर्ब ३५ करोड ७७ लाख रुपैयाँ पर्छ ।

यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २९ प्रतिशतले बढी हो । आव ०७३(७४ को आठ महिनामा १ अर्ब ५६ करोड ९२ लाख मूल्यबराबरको तीन हजार ६ सय ५० केजी सुन आयात भएको विभागको तथ्यांक छ।

समीक्षा अवधिमा सरकारले सुन आयातबाट एक अर्ब ९९ करोड ५० लाख रुपैयाँ भन्सार राजस्व उठाएको छ । अघिल्लो वर्षको सोही अवधिमा सुन आयातबाट १ अर्ब ५३ करोड ३० लाख रुपैयाँ भन्सार राजस्व उठाएको थियो ।

अहिले सुन आयातको भन्सारदर प्रति १० ग्राम ४ हजार २ सय रुपैयाँ छ । सरकारले अघिल्लो वर्षदेखि सुनको कोटा बढाएर दैनिक २० केजी आयात गर्ने व्यवस्था गरेपछि गत आवको पछिल्ला महिना र चालू आवमा सुन आयात बढेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष रमेश महर्जनले बताए । त्यसअघि प्रतिदिन १५ केजी सुन आयात गरिन्थ्यो ।

‘मागको ६० प्रतिशत मात्रै आपूर्ति’
वाणिज्य बैंकहरूले आलोपालो नियममा रहेर दैनिक २० किलो सुन आयात गर्छन् । तर, औसतमा यो मागभन्दा करिब ६० प्रतिशत मात्रै रहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष रमेश महर्जन बताउँछन् । यति सुन देशभर रहेका २२ हजार व्यवसायीका लागि पर्याप्त नहुने उनको भनाइ छ । अफसिजनमा आयात भएको सुनको स्टक, ग्राहकले बिक्री गर्ने सुन र साटफेर गरेर जेनतेन बजारको माग धान्ने गरेको उनले बताए ।

२० किलोले धान्छ स् राष्ट्र बैंक
राष्ट्र बैंकले भने दैनिक २० किलो सुनले नेपाली बजारको माग धान्ने गरेको पटक–पटक बताउँदै आएको छ । त्यसो भए तस्करी भएर भित्रिने सुन कहाँ जान्छ त रु व्यवसायी र बैंकका अधिकारीहरूको जवाफ एउटै छ । तस्करी भएको सुन भारततर्फ जाने गरेको अनुमान दुवै पक्षको छ । यो सुन स्वदेशी बजारमा आपूर्ति नभएको व्यवसायीहरूको दाबी छ ।

पञ्चायतदेखि नै सुन र शक्तिको सम्बन्ध

सुन तस्करीसँग ठूलाबडा नेपालीको साइनो पुरानो छ । पञ्चायतकालमै दरबारसम्म सुनका साथै लागुऔषधको साइनो गाँसिएको देखिन्छ । राजा महेन्द्रकै पालामा मनाङवासीको ‘जीवनस्तर उकास्न’ भन्सार छुटको सुविधा दिइयो ।

यससँगै सर्वसाधारण नेपालीको पनि विदेशसँग पहुँच कायम भयो । यहाँ अकुत नाफा गर्न सकिने वस्तु ल्याएर बिक्री गर्ने धन्दा फस्टायो । मनाङे साहुको भरिया भएर हङकङबाट तीनवटा जिन्स पाइन्ट लगाई मोटा–मोटा गहना लगाएर फर्किएको विषय हरिवंश आचार्यले आत्मकथा ‘चिना हराएको मान्छे’मा लेखेका छन् ।

४० को दशकमा नै नेपाल सुनको ‘ट्रान्जिट’ बनिसकेको थियो । दरबार सर्वशक्तिमान् भएका वेला दरबारिया कनेक्सन नभई सुन तस्करी सम्भव पनि थिएन । राष्ट्रिय पञ्चायत सदस्यका रूपमा सुर्खेतबाट निर्वाचित चन्द्रबहादुर बुढा र लमजुङबाट निर्वाचित नरबहादुर गुरुङ हङकङबाट सुन ल्याउँदाल्याउँदै विमानस्थलमा समातिए । बुढालाई विमानस्थलमा तत्कालीन इन्स्पेक्टर कुवेरसिंह राना (पछि महानिरीक्षकबाट सेवानिवृत्त)ले साढे २२ किलो सुनसहित समातेका थिए ।

जहाजबाट झरेर अध्यागमनतिर आउँदै गरेका बुढा सुनको भारीले लच्किएका थिए । जिउबाट सुनका बिस्कुटै बिस्कुट बरामद भएपछि चन्द्रबहादुर बुढाको सुन बुढा भएको थियो ।

पञ्चायतको अन्तिमतिर धीरेन्द्र शाहको अंगरक्षक भइसकेका कर्णेल भरत गुरुङको घरमा छापा मार्दा २० लाख नगद बरामद भएको थियो । उनले कालु मनाङे भन्ने व्यापारीको सामान एयरपोर्टबाट छिराउन सघाएबापत घुस लिएको दरबारका तत्कालीन सैनिक सचिव ऋषिकुमार पाण्डेले आफ्नो जीवनीमा समेटेका छन् ।

पूर्व प्रधानसेनापति रुक्माङ्गद कटवालले आफू हङकङको महावाणिज्य दूतावासमा शाही नेपाली सम्पर्क अधिकारी हुँदा तत्कालीन अधिराजकुमार धीरेन्द्र शाहको आतिथ्य गरेको आत्मकथामा उल्लेख गरेका छन् । धीरेन्द्रका अंगरक्षक भरत गुरुङले मिलेर व्यापार गर्न प्रस्ताव गरेको कटवालको भनाइ छ । त्यही वेला सेवानिवृत्त प्रहरी महानिरीक्षक डिबी लामा र धीरेन्द्र शाहको अंगरक्षक भई काम गरेका भरत गुरुङलाई सुन तस्करीको अभियोग लागेको थियो ।

सुन तस्करीको ट्रान्जिटको लागि प्रजातन्त्र कालमा नेपाल अझ उर्बर बन्यो । ०५१–०५६ मा नेपाल सुन तस्करको स्वर्ग भयो नै, सुन तस्करीको पैसा सांसद किन्ने र सत्ता परिवर्तन गर्ने प्रयोजनमा खर्च हुन थाल्यो ।

प्रजातन्त्रकालका गृहमन्त्री खुमबहादुर खड्काका साथै वामदेव गौतम र अर्थमन्त्री रवीन्द्रनाथ शर्मा सुन तस्करीलाई सघाएको विवादमा परिरहे । सरकारसँगै गृहमन्त्री परिवर्तन भइरहेका छन् । तर, सुन तस्करीको सिलसिला परिवर्तन भएको छैन ।

यसमा तपाइको मत