तस्कर समूहले प्रहरीलाई दिएको सनसनीपूर्ण बयान यस्तो छ

नेपाल प्रहरीका पूर्वडिआइजी गोविन्द निरौलाले विगतमा गरिएका सुन तस्करीको पोल खुल्ने डरले गोरेलाई भगाएको गृहका सहसचिव पौडेलको संयोजकत्वमा गठित समितिको अनुसन्धानको निष्कर्ष



काठमाडौ, वैशाख १४ । साढे ३३ किलो सुन तस्करीका नाइके चूडामणि उप्रेती ‘गोरे’ले आफ्नो सुन लुकाएको आरोपमा चारजना पूर्वसहकर्मीलाई मोरङको जंगलमा पुर्‍याएर यातना दिइरहेका थिए । उनलाई पिछा गर्दै मोरङको पोखरिया पुगेको प्रहरी टोलीले ‘रणनीतिक’ रूपमा फोनमा गरेको सम्झौताअनुसार गोरे मध्यरातमा मोरङको पोखरिया आउन तयार भएका थिए ।

सम्झौताअनुसार पर्खिरहेको प्रहरी टोलीका अगाडि आएर स्कर्पिओ गाडी रोकियो । तर, गोरे आएनन्, बरु गाडीमा उनका सहयोगी सनमको शव आयो । गोरेले करेन्टसहित दिएको यातना सहन नसकेर सनमको मृत्यु भइसकेको थियो ।

सो गाडीका चालक काभ्रेका टेकराज मल्ल मात्र होइन, उनको सहयोगमा पक्राउ परेका मोरङ उर्लाबारीका कृष्ण भनिने नरेन्द्र कार्की र मोहन काफ्लेसँग प्रहरीले बयान लियो । सुन लुकाएको आरोपमा उनीहरू पनि सनमसँगै बन्धक बनाइएका थिए ।

यो खवर आजको नयाा पत्रिका दैनिकले छापेको छ ।

स्रोतबाट प्राप्त बयानको समग्र विवरणः

गत ७ माघमा दुबईबाट आएको साढे ३३ किलो सुन विमानस्थलको भन्सार र सुरक्षा संयन्त्र छलेर बाहिर आइपुग्यो । यसरी सुन ल्याउने प्रक्रिया गोरेका लागि सामान्य थियो । अवैध सुन भरियामार्फत भारत पुर्‍याउने गरिन्थ्यो ।

त्यो दिन आएको साढे ३३ किलो सुन विमानस्थलबाट सहरसम्म ल्याउने जिम्मा थाई एयरवेजका कर्मचारी पुण्यप्रसाद लामा, लालबहादुर मगर र सानु बनको थियो । उनीहरूले मोटरसाइकलको तेल ट्यांकीमा राखेर पटक–पटक खेप गरेर अनामनगरस्थित एउटा घरमा पुर्‍याए ।

अब ट्यांकीबाट निकालेर सबै सुन झोलामा राखी किराना पसलजस्तो स्थानमा पर्खिएका भरियालाई दिनुपर्ने थियो । तर, पसलमा लग्न सानु बनले बोकेको सुन एकाएक गायब भयो । र, त्यहीँबाट सुरु भयो यत्रो सुनको महाभारत ।

सुन बुझ्नुपर्ने सनम शाक्य भने ठमेलतिर होटलमा मस्तीमा थिए । सुन आउँछ भनेको ठाउँमा नपुगेपछि गोरेले सनमलाई फोन गरेर कहाँ छस् भने । सनमले उर्लाबारीमा छु भनेर ढाँटे । तर, पछि कुरो बुझ्दा सनम काठमाडौंमै भएको खुल्यो ।

त्यसपछि सनम गोरेको शंकामा परे । तर, सनमले भने सानु बनलाई शंका गरे । यता, गोरेले सानुलाई सिन्धुलीको खनियाखर्कमा ल्याएर सुन कसले लग्यो भन्दै केरकार गरे । भुजुङ गुरुङले सुन गायब बनाएको जवाफ सानुले गोरेलाई दिए । गोरे बुझ्न लागे । तर, भुजङले गायब पारेको पुष्टि भएन । अन्ततः सानुले नै गायब पारेको निष्कर्षमा गोरे पुगे ।

सानुमाथि गोरेको शंका

गोरेको निष्कर्ष थाहा पाएपछि सानु केही दिन डरले गायब भए । तर, शंका झन् बढ्ने भएकाले उनी एयरपोर्टमा देखा परे । तर, त्यही दिन ट्यांकरमा ठोक्किएर उनको ज्यान गयो ।

अनुसन्धानमा सामेल गरिएको सिसिटिभी फुटेजमा सानु आफैँ ठोक्किएर आत्महत्या गरेको देखिएको प्रहरीले बताएको छ । तर, उक्त ट्यांकरका चालक माइला सार्की भने फरार छन् ।

सानुको मृत्युपछि सनमतिर गोरे

सानुको मृत्युपछि गोरेले सुन सनमले गायब पारेको भन्दै खोजबिन थाले । सनम डरले भागेर आसाम पुगे । तर, भेट्न नआएमा उर्लाबारीमा भएका आमाबुवा श्रीमती सबैलाई सखाप पार्ने धम्की गोरे समूहले दियो ।

सनमले गोरे समूहलाई पश्चिम बंगालको सिलिगुडीमा भेटेर सुन आफूले गायब नबनाएको स्पष्टीकरण दिएका थिए । सनमलाई गोरे समूहले यातना दिएर सोधपुछ गर्दै निश्चित समयभित्र सुन नल्याए ठीक नहुने धम्की दिएको थियो । तर, सनमले सुन भेट्न सकेनन् ।

नरेन्द्र र मोहन पनि तानिए

भाका नाघेपछि गोरेका भारतीय गिरोहका सदस्य उस्ताम मियाँलगायत नेपाल आएर सनमसहित उर्लाबारीका नरेन्द्र कार्की र मोहन काफ्लेलाई नियन्त्रणमा लिएर अनुसन्धान थाले । नरेन्द्र र मोहन पनि सुन लिन काठमाडौं जानुपर्ने भरिया थिए ।

तर, उनीहरू काठमाडौं गएका थिएनन् । १४ फागुनदेखि गोरे समूहले सनम, नरेन्द्र र महेन्द्रलाई नियन्त्रणमा लिएर सिरहाको लहान पुर्‍याई बन्धक बनायो । पछि यातना दिँदै धरानको निर्वाण कन्ट्री क्लबको गेस्ट हाउसमा लगेर सोधपुछ गरियो ।

त्यहाँ एयरवेजका कर्मचारीहरू पुण्यप्रसाद लामा र एलपी भनिने लालबहादुर मगरलाई पनि सँगै राखेर यातना दिइएको थियो । तर, पछि उनीहरूलाई दोषी नभएको ठहर गर्दै काठमाडौं फकाइयो ।

सनम, नरेन्द्र र महेन्द्रमाथि यातना

सनम, नरेन्द्र र महेन्द्रमाथि यातनाकेन्द्रित गरियो । पोल नखुलोस् भनेर गोरेले उर्लाबारी–१ स्थित कान्छीचोक क्षेत्रमा रहेको जंगलमा लगेर यातना दिए । जिपको ब्याट्री निकालेर तार जहान गरी आपसमा करेन्ट लगाउन लगाई बयान लिएका थिए ।

त्यहाँ उस्ताम, चालक टेकराज मल्ल ठकुरी, गोरे , नरेन्द्र , महेन्द्र र सनमसहित करिब ८ जना थिए । गोरे समूहले नरेन्द्र, मोहन र सनमलाई दुई दिनसम्म जंगलमा लगेर यातना दियो । दिनभर पिकनिक खान आएकोजस्तो बनाएर रक्सी खुवाउँदै एकले अर्कालाई करेन्ट लगाउन लगाएर यातना दिए । सोही क्रममा सनमको मृत्यु भयो ।

सनम मरेपछि नयाँ योजना

सनमको मृत्यु भएपछि गोरेले भरिया लाक्पा शेर्पालाई कोलकाता जानका लागि भन्सारमा गाडी इन्ट्री गर्न पठाए, तर उनी लाक्पाको जिपमा नभई अर्कै गाडी रिजर्भ गरेर जोगबनी नाका भई फरार भए ।

सनमको शव भने धरानको निर्वाण कस्ट्री क्लबबाट स्कारपियोमा राखेर ठेगान लगाउन चालक टेकराज मल्ललाई निर्देशन दिए । शव ठेगान लगाए ५० लाख दिने र गिरोहमा प्रोमोसन गर्ने आश्वासन गोरेले दिएका थिए ।

उता प्रहरीको सहयोगमा बनेको योजनाअनुसार लहानमा डाकाहरूले सुन तस्करको हत्या गरेर शव बेवारिसे छाडेको भन्ने नाटकीय कथा प्रहरीसँग मिलेर बनाए । यसैले टेकराजले सनमको शव स्कारपियोको सिटमा मेट्रेसमा प्याक गरेर विराटनगर ल्याए ।

प्रहरीले योजनाअनुसार सनमको शव विराटनगर–३ स्थित पोखरियाको ज्योतिमार्गबाट बरामद ग¥यो र सोही दिन इटहरीको एक होटलबाट मोहन र नरेन्द्रलाई पनि पक्राउ गर्‍यो । जोगबनी नाका कटेका गोरे फरार नै भए ।

विगतको पोल खुल्ने डरले भगाइयो गोरेलाई

नेपाल प्रहरीका पूर्वडिआइजी गोविन्द निरौलाले विगतमा गरिएका सुन तस्करीको पोल खुल्ने डरले गोरेलाई भगाएको गृहका सहसचिव पौडेलको संयोजकत्वमा गठित समितिको अनुसन्धानको निष्कर्ष छ ।

२० पुस ०७३ मा त्रिभुवन विमानस्थलको गोल्डेन गेटबाटै बरामद भएको ३३ किलो सुन तस्करीमा निरौलाको संलग्नता आशंका गरिएको थियो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का तत्कालीन डिआइजी नवराज सिलवालको टोलीले उक्त सुन बरामत गरेको थियो भने त्यतिवेला निरौला विमानस्थलको सुरक्षा गार्ड प्रमुख थिए ।

घटनामा संलग्न भएको भन्दै सुरक्षा गार्ड उपप्रमुख एसएसपी श्याम खत्रीलाई सिआइबीको टोलीले समाते पनि निरौला भने जोगिएका थिए ।

सिआइबीले त्यसवेला गरेको अनुसन्धानले पनि उक्त सुन गोरेकै रहेको देखाएको थियो । सिआइबीले गोरेलाई फरार सूचीमा राखेको थियो । उक्त तस्करी काण्डमा गोरे अझै सिआइबीको फरार सूचीमा छन् ।

गृह स्रोतका अनुसार उक्त सुन विमानस्थलका तत्कालीन डिआइजी निरौला, एसएसपी खत्री, एसपी विकासराज खनाल र डिएसपी सञ्जय राउतको सेटिङमा तस्करी गरिएको थियो ।

निरौला र खत्रीसँगै एसपी खनाल र डिएसपी राउत पनि विमानस्थलमै कार्यरत थिए । गोरे पक्राउ परे त्यसवेलाको पोल खुल्ने र सबैजना फसिने डरले साढे ३३ किलो सुन काण्डमा पनि सूचना चुहाएर गोरेलाई भगाएको गृह स्रोतको दाबी छ ।

के हो गोल्डेन गेट ३३ केजी सुन प्रकरण ?

२० पुस ०७३ मा विमानस्थलको गोल्डेन गेटबाट पार गराउँदै गरेको अवस्थामा ३३ केजी सुन बरामद भयो । एयर अरेबियाको जहाज प्रयोग गरी उक्त सुन दुबईबाट ल्याइएको थियो । सुन बोकेर आएका थिए, गोपालबहादुर शाही । प्रहरीले शाहीलाई पनि पक्राउ गर्‍यो ।

उनकै बयानका आधारमा विमानस्थल सुरक्षा गार्ड एसएसपी खत्रीसहित दीलबन्धु थापा, सन्तोष काफ्ले, रामहरि कार्की, श्रीनारायण यादव, राजकुमार ढकाल, श्यामकृष्ण श्रेष्ठ, राजेश शाक्य, सुनील श्रेष्ठ, सपन श्रेष्ठ, मनोज श्रेष्ठ पक्राउ परे ।

तर, सुन तस्करका नाइके फरार रहे । सिआइबीको अनुसन्धान प्रतिवेदनअनुसार उक्त सुनको मुख्य लगानीकर्ता गोरे थिए । तस्करीको योजना भने हरिशरण खड्का, रोशनगुप्तलाल भुसाल, रञ्जन पन्त, राजनप्रसाद पन्त र अर्जुनप्रसाद खरेलले बनाएका थिए ।

यीमध्ये प्रहरीले कसैलाई पनि पक्राउ गर्न सकेन । दुबईमै बस्दै आएका पाँचविरुद्ध प्रहरीले रेडकर्नर नोटिस जारी ग¥यो । तर, गोरेलाई भने त्यसवेला रेडकर्नर नोटिस जारी गरिएको थिएन ।

यसरी थाहा पाए निरौलाले गोरे पक्राउ गर्न लागेको प्रहरीको सूचना

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रमुखबाट हटाइएपछि निरौला प्रहरी प्रधान कार्यलयस्थित अन्वेषण ब्युरो प्रमुख थिए । ब्युरो प्रहरी महानिरीक्षकको सचिवालयअन्तर्गत अपराध अनुसन्धान विभागअन्तर्गत रहन्छ । विभाग प्रमुख तत्कालीन एआइजी बमबहादुर भण्डारी थिए ।

भण्डारीलाई तत्कालीन प्रहरी महानिरीक्षक प्रकाश अर्यालले गोरे पक्राउको योजना बताएका थिए । गोरे पक्राउका लागि प्रहरीसँग समन्वय गर्ने जिम्मा पनि अर्यालले भण्डारीलाई दिएका थिए ।

सोही क्रममा भण्डारीले मोरङ जिल्ला प्रहरी कार्यालयसँग गोरे पक्राउ गर्न समन्वय गरिरहेका थिए । यसको सुइँको ब्युरोका तत्कालीन डिआइजी निरौलाले पाए । त्यसलगत्तै उनले प्रहरीको योजना गोरेलाई भने । र गोरेलाई भगाए ।

गोरेको डरले आसाम पुगेका सनम बाबुआमा र परिवार सखाप पारिदिने धम्कीपछि फर्किए

दुबईबाट विमानस्थल आएको साढे ३३ किलो सुन विमानस्थलबाट अनामनगर पुग्नासाथ हरायो । गोरेले शंका आफ्नै पूर्वसहकर्मी सनम शाक्यलाई गरे । गोरेले पिछा गरेपछि डरले भागेर सनम आसाम पुगे ।

तर, भेट्न नआएमा उर्लाबारीमा भएका आमाबुवा, श्रीमती सबैलाई सखाप पार्ने धम्की गोरे समूहले दियो । सनमले गोरे समूहलाई पश्चिम बंगालको सिलिगुडीमा भेटेर सुन आफूले गायब नबनाएको स्पष्टीकरण दिए । तैपनि सुन खोज्ने जिम्मा उनैलाई लगाइयो ।

सुन नभेटिएको भनेर फेरि उनलाई नियन्त्रणमा लिएर मोरङको उर्लाबारीस्थित जंगलमा लगेर यातना दिन थालियो । १२ भोल्टको ब्याट्रीबाट करेन्ट लगाएर यातना दिँदा सनमको मृत्यु भयो । त्यसअघि एकजना र पछि अर्को गरी यो घटनासँग सम्बन्धित तीनजनाको मृत्यु भएको छ ।

डिआइजीसहितका प्रहरी अधिकारीलाई कर्तव्य ज्यान र संगठित अपराधको मुद्दा

साढे ३३ किलो सुन गायब प्रकरणमा मुछिएका प्रहरी अधिकारीमाथि मुद्दा चलाएर अनुसन्धान थालिएको छ ।

कर्तव्य ज्यान र संगठित अपराध मुद्दामा म्याद थपेर बहालवाला अधिकारीहरू एसपी विकास खनाल, डिएसपी सञ्जय राउत, सइ बालकृष्ण सन्जेल र सवारीचालक जवान सञ्जीव शाक्य तथा पूर्वडिआइजी गोविन्द निरौलामाथि अनुसन्धान सुरु गरिएको हो ।

कर्तव्य ज्यान र संगठित अपराधको मुद्दा लागेपछि बहालवाला अधिकारीलाई प्रहरी प्रधान कार्यालयले निलम्बनसमेत गरेको छ ।

गृह मन्त्रालयका सहसचिव ईश्वर पौडेल नेतृत्वको छानबिन समितिले निरौला, खनाल, राउत, सन्जेल र शाक्यलाई पक्राउ गर्न आदेश दिएको थियो ।

प्रहरीले निरौलालाई ११ वैशाखमै विराटनगर ल्याएर हिरासतमा राखेको थियो । सञ्जेल र शाक्यलाई १२ वैशाखमा ल्याएको हो ।

यसमा तपाइको मत