इजरायलमा अन्तर्राष्ट्रिय कृषि प्रदर्शनी, नेपालको कृषिमा प्राविधिक सहयोग गर्न सहमत


काठमाडौं, वैशाख २७ ।   नेपालमा कृषि विकासका लागि विभिन्न क्षेत्रमा सहयोग गर्न इजरायल सरकार सहमत भएको छ। नेपाली प्राविधिक तथा कृषकको क्षमता अभिवृद्वि गर्न, नयाँ प्रविधिमा आधारित अध्ययन र तालिम तथा प्राविधिक सहयोग गर्न इजरायल सरकार सहमत भएको हो। इजरायल भ्रमणमा रहेका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनाल र इजराली समकक्षी उरी एरियलबीच भएको भेटमा यस्तो सहमति भएको हो।

त्यसका लागि थप छलफल गरी सम्झौता गर्न आगामी एक महिना भित्र दुई देशका कृषिसँग सम्बन्धित विज्ञहरूको संयुक्त टोलीको सलंग्नतामा नेपालले आफ्नो कार्ययोजना सहितको खाका तयार गर्र्नु पर्नेछ। उक्त खाकामा दुबै पक्षबीच छलफल भई कृषि विकासको सहयोग आदान प्रदान गर्न समझदारी पत्रमा हस्ताक्षर हुने भेटमा सहभागि कृषि मन्त्रालयका उपसचिव अर्जुन भण्डारीले जानकारी दिए।

त्यसका साथै नेपालको कृषि विकासलाई व्यवसायिक र आधुनिकिकरण गरी उत्पादकत्व वढाउने विषयमा पनि दुई देशका मन्त्रीबीच छलफल भएको छ। भेटमा मन्त्री खनालले नेपालका सबै प्रदेशमा एक एक वटा इजरायलको कृषि विकासमा सफल भएका नमुना र  एकीकृत आधुनिक कृषि फर्म सञ्चालनका लागि आर्थिक र प्रविधि सहयोग गर्न पनि आग्रह गरे। भेटमा कृषि यान्त्रिकिकरणको लागि नेपालमा एक ठुलो यन्त्रशाला निर्माण, साना सिंचाई प्रविधि, कृषि उपजको क्षति न्यूनिकरण, कोल्ड चेन, ग्रेडिङ र प्याकेजिङ प्रविधि स्थापना तथा क्षमता अभिबृद्धि लगायतका विषयमा पनि छलफल भएको छ।

इजरायलमा नेपालको बजार पहुँच र दुई देश बीचको अन्तराष्ट्रिय कृषि व्यापार प्रवद्र्धन लगायत विषयमा पनि छलफल भएको सहभागि उपसचिव भण्डारीले बताए।   सम्झौतापछि इजरायलमा कृषि प्रविधिमा नयाँ व्यवहारिक ज्ञानको प्रयोगको सिकाई नेपाली किसानहरूले सिक्नेछन्। नेपालको साना किसान विकास बैंक र ईजरायलको सेदोत नेगेभ क्षेत्रीय परिषद् बीचको समझदारीअनुसार नेपाली युवायुवतीलाई ईजरायली कृषि प्रविधिको विषयमा तालिम प्रदान गरी दक्ष बनाउने काम जारी रहेको छ।

सन् २०१६ मे सम्ममा २ हजारभन्दा बढी नेपाली युवायुवती लाभान्वित भई स्वदेश फर्केर कृषि व्यवसाय संचालन गरिरहेका कृषि मन्त्रालयले जनाएको छ।  २०औं अन्तर्राष्ट्रिय कृषि प्रदर्शनी ‘एग्रीटेक २०१८’ मा सहभागी हुन मन्त्री खनाल, पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, राजदूत निरन्जन थापा, मन्त्रालका नीति तथा बैदेशिक सहायता डिभिजनका सहसचिव, उपसचिव लगायतको टेली अहिले इजरायलमा छ। सम्मेलनमा विश्वका ४० देशका कृषि मन्त्री र ३०० भन्दा वढी कृषि विज्ञहरूको सहभागिता रहेको छ। नेपाली टोली शुक्रबार स्वदेश फर्कने छ।

यसमा तपाइको मत