अब विद्यालय तहमा ‘समाजवादउन्मुख’ शिक्षा

१२ कक्षासम्मको पाठ्यक्रम फेरिदै



काठमाडौं, जेठ १ ।  पाठ्यक्रम विकास केन्द्रले कक्षा १२ सम्मको पाठयक्रम परिमार्जन गर्न लागेको छ । उसले विद्यालय तहमा समाजवादउन्मुख शिक्षा दिने गरी पाठ्यक्रम प्रारूप तयार गरेको छ । केन्द्रका अधिकारीहरूले समाजवादउन्मुख शिक्षा पाठ्यक्रममा समेट्न लागिएको बताए ।

प्रारूपको मस्यौदामा राजनीतिक, आर्थिक र सामाजिक रूपान्तरणका एजेन्डा सम्बोधन गर्न खोजेको, रोजगार तथा स्वरोजगाउन्मुख सीपमूलक शिक्षामा जोड दिई समाजवादउन्मुख शिक्षाको व्यवस्था गरेको केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीले बताएको खवर आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।

‘विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रमको प्रारूप गरिखाने शिक्षा दिने गरी तयार गरिएकाले यसमा समाजवादउन्मुख विशेषता छ । साधारण धारको शिक्षा पनि रोजगार र स्वरोजगारउम्मुख गरिएको छ,’ काप्रीले भने, ‘विचारका हिसाबले समालोचनात्मक चिन्तनलाई प्राथमिकता दिइएको छ ।’

नेपाल अध्ययनलगायत विषयले विद्यार्थीको चिन्तनलाई फराकिलो पार्ने तथा कृषि, होटेल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिजमका विषयले रोजगार र स्वरोजगारउन्मुख बनाउने उनले बताए ।

यस्तो छ विद्यालय शिक्षाको संरचना
पाठ्यक्रम प्रारूपमा विद्यालय तहलाई दुई र सिकाइ क्षमतास्तरलाई पाँच तहमा विभाजन गरिएको छ । आधारभूत तहमा प्रारम्भिक बालशिक्षादेखि कक्षा ८ सम्मलाई तीन तहमा विभाजन गरिएको छ । कक्षा १–३ लाई तह १, कक्षा ४–५ लाई तह २, कक्षा ६–८ लाई तह ३ मा छुट्याइएको छ । त्यसैगरी, माध्यमिक तहका कक्षा ९–१० लाई तह ४ तथा ११–१२ लाई तह ५ को संरचनामा राखिएको छ । यी तहका बालबालिकाको सिकाइ क्षमतास्तर फरक हुने उल्लेख छ । विभिन्न तहमा पाठ्यघन्टा र विषय फरक भए पनि वार्षिक कुल १ हजार २४ कार्यघन्टा हुने व्यवस्था गरिएको छ ।

कक्षा १ देखि ३ सम्म एकीकृत, ९ देखि १२ एकलपथीय
पाठ्यक्रम विकास केन्द्रले तयार पारेको पाठ्यक्रम प्रारूपअनुसार अब कक्षा १ देखि ३ सम्म एकीकृत र ९ देखि १२ सम्म एकलपथीय पाठ्यक्रम कार्यान्वयन हुने भएको छ । कक्षा १ देखि ३ सम्म एउटै ‘थिमेटिक अप्रोच’बाट पढाइ हुनेछ । यस तहमा विषयवस्तु र पेडागोजी एउटै हुनेछ । माध्यमिक तहमा सिक्न चाहेका विषय रोजेर अध्ययन गर्न सकिनेछ ।

कक्षा ११ मा नेपाल अध्ययन अनिवार्य
कक्षा ११ मा सबै धारका विद्यार्थीलाई नेपाल अध्ययन विषय अनिवार्य गरिएको छ । साधारण, संस्कृत र प्राविधिक तथा व्यावसायिक धारको पाठ्यक्रममा अनिवार्य विषयहरू फरक–फरक छन् । तर, सबै धारमा नेपाल अध्ययन विषयलाई अनिवार्य बनाइएको छ । नेपाल अध्ययनका लागि ३ पाठ्यघन्टा र ९६ वार्षिक कार्यघन्टा निर्धारण गरिएको छ ।

कक्षाअनुसार पाठ्यक्रम संरचना
तहअनुसार पाठ्यक्रम संरचना फरक छ । कक्षा १–३ मा एकीकृत पाठ्यक्रम छ । आधारभूत शिक्षा कक्षा ४ र ५ मा ६ वटा अनिवार्य र एउटा स्थानीय विषय हुने व्यवस्था छ । कक्षा ६ देखि ८ मा स्थानीय विषयसहित ८ वटा विषय रहने प्रस्ताव छ । माध्यमिक शिक्षा कक्षा ९ र १० को साधारण धारमा ५ वटा अनिवार्य र तीन वटा ऐच्छिक विषय रहनेछन् । संस्कृतमा पनि ८ विषय रहनेछन् । प्राविधिक धारमा ५ वटा विषय अनिवार्य र प्राविधिक तथा व्यावसायिक धारका विधागत ४ विषयमा प्रत्येकको ४र४ पाठ्यघन्टा हुनेछ ।

संघ, प्रदेश र स्थानीय सरकारको जिम्मेवारी किटान
संघ, प्रदेश र स्थानीय सरकारको पाठ्यक्रमसँग सम्बन्धित कार्यक्षेत्र र जिम्मेवारी किटान गरिएको छ । राष्ट्रिय पाठ्यक्रम प्रारूपको मार्गदर्शनअनुसार प्रदेश र स्थानीय तहले प्रादेशिक र स्थानीय पाठ्यक्रम प्रारूप तर्जुमा गरी कार्यान्वयन नगरेसम्मका लागि संघीय तहमा निर्धारित पाठ्यक्रम र पाठ्यपुस्तक सम्बन्धित विद्यालयले विद्यार्थीको रुचि र आवश्यकताअनुसार छनोट गर्ने व्यवस्था छ ।

कक्षा १२ मा व्यावहारिक अभ्यास
सार्वजनिक परीक्षा कक्षा ८, १० र १२ को प्रत्येक विषयमा २५ प्रतिशत आन्तरिक र ७५ प्रतिशत भारको बाह्य मूल्यांकनको व्यवस्था गरिएको छ । माध्यमिक तहका सबै धारका पाठ्यक्रममा कक्षा १२ को ऐच्छिक विषयमा एक पाठ्यघन्टाबराबरको लघुअध्ययनरव्यावहारिक अभ्यास गर्नुपर्ने व्यवस्था गरिएको छ ।

सरकारले निर्णय गरेपछि कार्यान्वयन
केन्द्रले तयार पारेको पाठ्यक्रम प्रारूप राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले सिफारिस गरी नेपाल सरकारले निर्णय गरेपछि कार्यान्वयनमा आउनेछ । सुरुमा कक्षा १ र ११ को कोर विषयबाट कार्यान्वयन सुरु हुने कार्यकारी निर्देशक काप्रीले बताए ।

कक्षा ११ र १२ मा पाँच विषय अनिवार्य
कक्षा ११ र १२ मा साधारण र संस्कृत धारमा पाँच विषय अनिवार्य हुने भएका छन् । नेपाली, अंग्रेजी, नेपाल अध्ययन, प्रायोगिक गणित, विज्ञान तथा प्रविधि विषयलाई अनिवार्य गर्ने प्रस्ताव गरिएको छ । त्यसका साथै तीनवटा ऐच्छिक र एउटा इच्छाधीन स्थानीय विषय राखिनेछ । प्राविधिक तथा व्यावसायिक धारमा अंग्रेजी, नेपाली, नेपाल अध्ययन विषय अनिवार्य छन् । अरू पाठ्यघन्टाका आधारमा ऐच्छिक विषय राख्न सक्ने व्यवस्था गरिएको छ ।

यसमा तपाइको मत