प्रचण्डले बोलाए केन्द्रीय कार्यालयको विस्तारित बैठक


काठमाडौं, जेठ २ ।  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी केन्द्रीय कार्यालयको विस्तारित बैठक बोलाएका छन्। प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटारमा पार्टी एकताबारे दुई घण्टा लामो छलफल गरेर फर्किएपछि प्रचण्डले पार्टीको बैठक बोलाएका हुन्।

उनले बुधबार बेलुकी ४ बजे आफ्नो निवास ललितपुरस्थित खुमलटारमा बैठक बोलाएका हुन्। बैठकमा भोलि बस्ने पार्टी एकता संयोजन समितिको बैठकमा पार्टीबाट के कुरा राख्ने भन्नेबारे सुझाव लिने बताइएको छ।

त्यस्तै आज भएको ओलीसँगको छलफलबारे पार्टीलाई जानकारी गराउने कार्यक्रम पनि रहेको प्रचण्डको सचिवालयले जानकारी दिएको छ। विस्तारित केन्द्रीय कार्यालयको बैठकमा सदस्यहरूले सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रमका बारेमा पनि कुरा राख्ने बुझिएको छ।

नीति तथा कार्यक्रमबारे सरकारको नेतृत्व गरिरहेको पार्टी एमालेले सत्ता सहयात्री माओवादीसँग कुनै छलफल नगरेको प्रति माओवादी नेताहरू असन्तुष्ट रहेका छन्। उक्त असन्तुष्टी केहीदिन पहिले बसेको संसदीय दलको बैठकमा पनि देखिएको थियो। त्यसैगरी आजै नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दैछ। दुई पार्टीको एकता नीति तथा कार्यक्रम पहिले नै गर्ने भन्ने खबर सार्वजनिक भइरहेका बेला एमाले र माओवादीले आन्तरिक बैठक बोलाएका हुन्।

यसमा तपाइको मत