बालकृष्ण ढुंगेललाई आममाफी नदिन माग गर्दै आजपनि प्रर्दशन


काठमाडौं, जेठ १४ । द्धन्द्धकालीन हत्याको अभियोगमा सर्वस्वसहित जन्मकैदको सजाय भुक्तान गरिरहेका बालकृष्ण ढुंगेललाई आममाफी नदिन खबरदारी गर्दै द्वन्द्वपीडितहरुले प्रधानमन्त्री निवास बालुवाटारमा बिरोध प्रर्दशन गरेका छन् ।
गणतन्त्र दिवसको दिन पारेर ढुंंगेललाई आममाफी दिने तयारी सरकारले गरिरहेको चर्चा भईरहेका बेला द्वन्द्वपीडितहरुले त्यसो नगर्न खबरदारी गर्दै सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा विरोध प्रर्दशन गरेका हुन ।
सर्वोच्च अदालतको आदेश विपरित सर्वस्वसहित जन्मकैदको सजाय भुक्तान गरिरहेका मानव हत्याजस्तो जघन्य अपराध कर्ममा संलग्न ढुंगेललाई आम माफी दिए न्यायको खोजीमा आफूहरु अन्तराष्ट्रिय अदालत धाउन बाध्य हुने चेतावनी समेत सरकारलाई दिइएको छ ।
ढुंगेललाई सरकारले आम माफी दिए न्यायको खोजीमा अन्तराष्ट्रिय अदालत जान आफूहरु बाध्य हुने द्धन्द्धपीडित साबित्री श्रेष्ठले चेतावनी दिइन् ।
उनले मानव हत्याजस्तो जघन्य अपराध गरेका ढुंगेललाई राजनीतिक आडमा आममाफी दिन खोजिएको भन्दै त्यसको सशक्त विरोधमा उत्रन पनि सबैलाई आह्वान गरिन् ।
द्वन्द्वकालमा ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या गरेको प्रमाणको आधारमा ढुंगेल सर्वोच्च अदालतको आदेश अनुसार सर्वस्वसहित जन्मकैदको सजाय भुक्तान गरिरहेका छन् । हत्या गरिएका उज्जनकी दिदी समेत रहेकी  श्रेष्ठले सरकार सर्वोच्च अदालतको आदेश विपरित जान खोजेको भन्दै आक्रोश पनि व्यक्त गरिन् ।

द्वन्द्वपीडितहरुले ढुंगेललाई आममाफी दिन कुनै पनि हालतमा नमिल्ने दावी गर्दै आईतबार पनि काठमाडौंको माईतीघर मण्डलामा सरकारविरुद्ध प्रर्दशन गरेका थिए । उनीहरुले ढुंगेलजस्ता हत्यारालाई कार्वाही गर्नुको साटो उन्मुक्ति दिने काम सरकारबाट भए कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिएका छन ।

यसमा तपाइको मत