निगमको पहिलो वाइडबडी जहाज असार १४ मा काठमाडौं आइपुग्ने


काठमाडौं, जेठ २६ । नेपाल वायूसेवा निगमले खरिद गर्ने दुई वटा वाइड बडी जहाजमध्ये एउटा जहाज असार १४ गते आइपुग्ने भएको छ । पहिलो जहाज आइपुगेको डेढ महिना भित्र अर्को जहाज पनि आइपुग्ने निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारले जानकारी दिए । एयरबस ए ३३०–२०० सिरिजको पहिलो जहाज आएपछि निगमले जापान, दक्षिण कोरिया र साउदी अरबमा सिधा हवाइ उडान सुरु गर्नेछ ।

‘नयाँ जहाज आएको दुई चार महिना पुरानै गन्तब्यमा चलाउने प्रचलन छ, कंसाकारले भने, त्यसपछि लगत्तै नयाँ गन्तब्यमा उडान सुरु गर्नेछौं ।’ विमानस्थलसँग अनुमति लिइसकेपनि सरकारी स्तरमा पनि जहाज उडाउन सम्झौता गर्नुपर्ने भएकाले त्यसको प्रक्रिया पनि अघि बढाइएको छ । जापान सरकारसँग सिधा हवाइ उडानका लागि सम्झौता गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा अर्को हप्ता जापान जाने कंसाकारले बताए ।

दुवै जहाज नेपालमा भएकामध्ये अहिलेसम्मकै लामो दुरीको उडान भर्न सक्ने भएकाले अष्ट्रेलिया, युरोपदेखि अमेरिकासम्म पुग्न सक्ने उाको भनाई छ । निगमले अहिले मलेसियाको क्वालालाम्पुर, दुवई, कतारको दोहा, भारतको नयाँदिल्ली, थाइल्याण्डको बैंकक, हङकङलगायतका स्थानमा सिधा हवाइ उडान गरिरहेको छ । अमेरिकी कम्पनी एएआरले उपलब्ध गराउने वाइडबडी जहाजमा २ सय ४३ इकोनोमी र २८ वटा बिजनेस क्लासका सिट रहनेछन् । दुइवटै विमान खरिदका लागि झण्डै २५ अर्व रुपैयाँ लाग्ने निगमका महाप्रबन्धक कंसाकारले बताए ।

यसमा तपाइको मत