कार्यकारी राष्ट्रपतिको एजेण्डा अहिलेको प्राथमिकता होइन : अध्यक्ष प्रचण्ड


विराटनगर, जेठ २७ ।  पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको एजेण्डा अहिलेको नभएको बताएका छन्।  विराटनगर विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै प्रचण्डले आउँदो निर्वाचनको बेलामा त्यो विषय बहसमा आउनसक्ने भएको भएपनि अहिलेको एजेण्डा सुशासन, समृद्धि र विकासको भएको उनको भनाइ थियो।

‘अहिलेको एजेण्डा कार्यकारी राष्ट्रपतिको होइन, सुशासन विकास र समृद्धिको एजेण्डा नै अहिलेको एजेण्डा हो,’ प्रचण्डले भने, ‘भोली चुनाव आउने बेलामा यो विषयमा छलफल हुन पनि सक्छ भनेको हो।’ अध्यक्ष प्रचण्डले तत्काल संघीय समाजवादी फोरमसँग पार्टी एकता हुने सम्भावना पनि नरहेको बताएका छन्। ‘फोरमसँग पार्टी एकताको कुरा भएको छ,’ उनले भने, ‘तर तत्काल पार्टी एकताको सम्भावना छैन ।’

प्रचण्डले राजपालाई पनि सरकारमा ल्याउने विषयमा छलफल भइरहेको बताए। ‘राजपालाई सरकारमा ल्याउने विषयमा बालुवाटारमा सबै बसेर कुरा भएको छ, फेरि कुरा हुनसक्छ,’ प्रचण्डले भने, ‘अहिले नै ठोस कुरा भएको छैन।’ शान्ति प्रक्रियासँग सम्बन्धित बाँकी काम पुरा गर्न, सत्यनिरुपण मेलमिलाप र बेपत्ता आयोगको काम छिटो हुनुपर्ने बताउँदै प्रचण्डले पुनः म्याद थप गर्ने सम्बन्धमा सरकारसँग कुरा भएको बताए।  संघीयताको पहिलो पटक प्रयोगमा गएका कारण केही विषय जटिलता देखिएको भएपनि यो प्रणाली असफल पार्ने नियतले कोही नआएको प्रचण्डको भनाइ थियो।

कर्मचारी र राजनीतिक नेतृत्वको बिचमा आन्दोलन र संघर्षबाट प्राप्त उपलब्धीको विषयको बुझाइमा भने केही समस्या देखिएको उनको भनाइ थियो । ‘नियतबस कुनै पनि ब्यूरोक्रेसी र नेतृत्वमा संघीताको विरुद्धमा जाने कुरा देखिएको छैन,’ उनले भने, ‘तर, संघर्ष र बलिदानको विषयमा कर्मचारी र राजनीतिक नेतृत्वबीचको बुझाइ अलिक नमिलेको देखिएको छ।’  अध्यक्ष प्रचण्डले २ नम्बर प्रदेशमा पनि सरकार गिराउने र भत्काउने तिर लाग्न नहुने बताए। संघीय समाजवादी र राजपाबीचमा खटपट भएरै समस्या भएमा नयाँ सरकार बन्नसक्ने भएपनि त्यहाँको एजेण्डा पनि विकास र समृद्धि नै हुनुपर्नेमा प्रचण्डले जोड दिए।

यसमा तपाइको मत