चोरीका मोटरसाइकल बेच्ने छजना पक्राउ


धनगढी : मोटरसाइकल चोरीमा संग्लन ६ जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ। मोटर साइकलको चोरी गरेर खरिद बिक्री गर्ने समूहका ६ जनालाई विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको हो। उनीहरूलाई आइतबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनिक गरेको छ। उनीहरूले चोरी गरेको सातवटा मोटरसाइकलसहित प्रहरीले सार्वजनिक गरिएको हो।

चारजना मुख्य चोर, एकजना चोरीका मोटरसाइकल वेचविखन गर्ने व्यक्ति र एक जनाको घरमा मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ। धनगढी उपमहानगरपालिका ६ मटीयारीका २१ वर्षीय रामभजन राना, २१ वर्षीय प्रकाश राना, २० वर्षीय सुरज राना र कैलाली गाउँपालिका दुधियाका १८ वर्षीया  सन्जु चौधरी मुख्य योजनाकार रहेको प्रहरीले जनाएको छ।

कञ्चनपुरको वेदकोट नगरपालिका ५ का २८ वर्षीय पदम धानुक र घोडाघोडी नाैका किसन चौधरीले त्यस्ता मोटरसाइकल वेचविखन गर्दै आइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक बिनोद घिमिरेले बताए। घिमिरेले भने, ‘उनीहरूले रातीको समयमा घरबाहिर राखिएका मोटरसाइकलहरू चोरी गर्ने गरेका थिए।’ धनगढीको हसनपुर, चटकपुर, क्याम्पसरोड लगायतका स्थानबाट बढी मोटरसाइकल चोरी गरेको उनीहरूले स्वीकारेको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत