राष्ट्रियसभा नियमावली सर्वसम्मत पारित


काठमाडौं, जेठ २७ । राष्ट्रियसभा नियमावली-२०७५ सर्वसम्मतिले पारित भएको छ। राष्ट्रियसभाको आइतबार बसेको बैठकले राष्ट्रियसभा नियमावली-२०७५ सर्वसम्मतिले पारित गरेको हो। बैठकमा राष्ट्रियसभा नियमावली मस्यौदा समितिका सभापति परशुराम मेघी गुरुङले उक्त नियमावली पारित गरियोस् भनि प्रस्ताव राखेका थिए।

उक्त प्रस्ताव राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्णयार्थ पेस गरेलगत्तै सर्वसम्मतिले पारित गरिएको हो। फौजदारी अभियोग लागेर पुर्पक्षका लागि थुनामा रहेका सांसदहरुलाई निलम्बन नगर्ने पक्षमा सबै दलको सहमति भएपछि नियमावली सर्वसम्मतिले पारित भएको हो।

नियमावलीमा फौजदारी अभियोग लागेका सांसदहरूको सेवा, सुविधा भने कटौति हुने स्पष्ट पारिएको छ। नियमावलीमा फौजदारी अभियोग लागेर पुर्पक्षका लागि थुनामा रहेका सांसदलाई संघीय कानुन बनाएर कार्वाही गर्ने व्यवस्था गरिएको नियमावली मस्यौदा समितिका सभापति गुरुङले बताए।

उनले फौजदारी अभियोग लागेका सांसदलाई कार्वाही गर्ने व्यवस्था कानुनमै उल्लेख गर्न उपयुक्त हुने कुरामा संसदमा सहमति जुटेको पनि स्पष्ट पारे। नियमावलीमा ४ वटा समिति रहने व्यवस्था गरिएको छ। संसदमा सरकारलाई जवाफदेही बनाउन प्रधानमन्त्री र मन्त्रीहरूले अनिवार्य जवाफ दिने बाध्यात्मक व्यवस्था पनि गरिएको छ।

नियमावलीमा समितिको नेतृत्वमा ३३ प्रतिशत महिला अनिवार्य रहने व्यवस्था पनि गरिएको छ। बैठकमा राष्ट्रियसभाका विपक्ष दलका नेता सुरेन्द्रराज पाण्डेले राष्ट्रियसभालाई सहमतिमै अघि बढाउन नियमावली पनि सर्वसम्मतिले पारित गर्नु परेको बताएका थिए। राष्ट्रियसभाको अर्को बैठक आगामी असार ३ गते आइतबार ११ बजे बस्नेछ।

यसमा तपाइको मत