कलाकार भीमबहादुर थापाको निधन


काठमाडौं, जेठ ३० । कलाकार भीमबहादुर थापाको गएराति ९२ वर्षको उमेरमा निधन भएको छ। आफ्नै निवास काठमाडौं मैतीदेवीमा उनको निधन भएको हो। सैनिक अस्पताल छाउनीबाट घर लगेपछि राति २ बजेतिर उनको निधन भएको परिवारले जनाएको छ।

थापा लामो समयदेखि छाती, फोक्सो लगायतका रोगबाट ग्रसित थिए। १९८३ असार १३ गते खोटाङको लामिडाँडामा जन्मिएका थापाले बेलायती सेनामा भर्ना भएर दोस्रो विश्वयुद्ध लडेका थिए। सैनिक रेडियो कार्यक्रम समेत सञ्चालन गरेका थापाले थुप्रै नेपाली फिल्म, टेलिफिल्म,रेडियो नाटक र विज्ञापनमा अभिनय गरेका थिए। रेडियो नाटकमा सेनानी भीमबहादुर थापाको ओजिलो संवादले धेरै स्रोताको मन छुन्थ्यो।

उनको पार्थिव शरीर दिउँसो प्रज्ञा भवन कमलादीमा राखिनेछ। बुधबार अपराह्न नै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने कलाकार दिपकराज गिरीले जानकारी दिए। भीमबहादुर रेडियोका लोकप्रिय प्रस्तोता प्रकाश थापाका पिता हुन्।

यसमा तपाइको मत