विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत प्रिक्वाटरफाइनलका खेल आज सकिँदै


विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत प्रिक्वाटरफाइनलका खेल आज सकिँदैछन् । बेलुकी पौने ८ बजे हुने खेलमा स्वीडेन र स्वीट्जरल्याण्ड भिड्नेछन् । दुई देशबीच यसअघि २८ पटक भेट भएपनि विश्वकपमा पहिलो पटक भिड्न लागेका हुन् । स्वीडेन स्वीजरल्याण्डविरुद्धको पछिल्ला तीन खेलमा अपराजित छ । पछिल्लोपटक सन् २००२ मा भएको मैत्रीपूर्ण खेलमा १÷१ गोलको बराबरी भएको थियो ।

जारी सिजनको समुह चरणका खेलमा ब्राजिलसँग एक–एक को बराबरी, सर्बियामाथि २–१ को जित र कोस्टारिकासँग दुई–दुई को बराबरी गर्दै स्वीट्जरल्याण्ड समुह ई को उपबिजेता बनेर प्रि–क्वार्टफाईनल पुगेको हो । यस्तै स्वीडेन पनि समुह चरणका खेलमा दक्षिण कोरियालाई १–० र मेक्सिकोमाथि ३–० को जित निकाल्दा जर्मनीसँग २–१ ले पराजित भएको थियो । प्रतियोगिता अन्तर्गत आजै राति पौने १२ बजे हुने अर्को खेलमा इङ्ल्याण्ड र कोलम्बिया भिड्दैछन् । इङ्ल्याण्ड कोलम्बियासँग भएको पछिल्लो पाँच भेटमा अपराजित छ ।

सन् २००५ मा भएको पछिल्लो भेटमा इङ्ल्याण्ड ३–२ ले बिजयी भएको थियो । सन् १९९८ मा भएको विश्वकपको समूह चरणमा पनि कोलम्बिया इङ्ल्याण्डसँग २–० ले पराजित भएको थियो । कोलम्बिया विश्वकपको नकआउट चरण पुगेको यो तेस्रो पटक हो । विश्वकपको नकआउट चरणमा आठपटक पुगेको इङ्ल्याण्डले दुई पटक मात्रै जित हात पारेको रेकर्ड छ । कोलम्बियामा विश्वकपको अघिल्लो संस्करणका सर्वाधिक गोलकर्ता जेम्स रोड्रिग्वेज र इङ्ल्याण्डमा जारी सिजनमा अहिलेसम्म सर्वाधिक पाँच गोल गरेका ह्यारि केनको भूमिका महत्वपूर्ण हुनेछ ।

आजका खेल सकिएसँगै क्वाटरफाइनल समीकरण पूरा हुनेछ । आजका दुई खेलका बिजेताले सेमिफाइनल प्रवेशका लागि आपसमा प्रतिष्पर्धा गर्नेछन् । क्वाटरफाइनलका खेलहरु आगामी शुक्रबारदेखि सुरु हुनेछन् । क्वाटरफाइनलका अन्य खेलमा फ्रान्स र उरुग्वे, ब्राजिल र बेल्जियम तथा रसिया र क्रोयशिया भिड्नेछन् ।

यसअघि गएराति भएको खेलमा जापानलाई ३–२ ले हराउँदै बेल्जियम क्वाटरफाइनल प्रवेश गरेको छ । पहिलो हाफ गोल रहित बराबरी भएको खेलमा पाँचै गोल दोस्रो हाफमा भएको थियो । दोस्रो हाफमा बनाएको २–० को अग्रता जोगाउन नसक्दा एशियाली टिम जापान यसपटक पनि अन्तिम १६ बाट अघि बढ्न सकेन । २–० को अग्रता उल्टाउँदै २५ मिनेट भित्र लगातार ३ गोल गरेर नाटकीय रुपमा बेल्जियमले जित हात पारेको हो । गएरातिकै अर्को खेलमा पाँच पटकको विश्व बिजेता ब्राजिलले मेक्सिकोलाई २–० ले हराउँदै अन्तिम आठमा स्थान सुरक्षित गरेको छ ।

यसमा तपाइको मत