पहिलो विदेश भ्रमणका लागि क्रिकेट टिमको घोषणा


काठमाडौं, असार २२ । नेपालले अन्तर्राष्ट्रिय मान्यता पाएपछिको पहिलो विदेश भ्रमणका लागि क्रिकेट टिमको घोषणा गरेको छ । बेलायतमा हुने एमसीसी र नेदरल्याण्डस विरुद्धको खेल र नेदरल्याण्डमा हुने घरेलु टिम विरुद्धको एकदिवसीय खेलका लागि २० सदस्यीय टिमको घोषणा गरिएको हो ।

दुई वटा अन्तराष्ट्रिय श्रृखंलाका लागि घोषणा गरिएको टिममा विनोद भण्डारी र सुवास खकुरेल, प्रदीप ऐरीले पुनरागमन गरेका छन ।  यस्तै हरी क्षेत्रीले पहिलो पटक टिममा स्थान बनाएका छन ।

पारस खड्का  कप्तान रहेको टोलीमा अनिल शाह,बसन्त रेग्मी, दिपेन्द्रसिंह ऐरी,ज्ञानेन्द्र मल्ल,करण केसी,ललित भण्डारी,ललितनारायण राजवंशी,आरिफ शेख र  रोहितकुमार पौडेल छन । त्यस्तै सन्दीप लामिछाने,शक्ति गौचन,शरद भेषवाकर,सोमपाल कामी,सुनील धमला र सुसान भारी टिममा परेका छन । नेपालले यही जुलाई २९ तारिखमा लर्ड्समा त्रिकोणात्मक श्रृखंला खेल्नेछ ।

टी–ट्वेन्टी फरम्याटमा हुने प्रतियोगितामा नेपालसहित एमसीसी र डच टिमको सहभागीता छ । नेपाल र नेदरल्याण्ड्स बीचको खेललाई आइसीसीले अन्तराष्ट्रिय मान्यता दिएको छ । त्यसपछि नेपाली टिम दुई एकदिवसिय खेलका लागि नेदरल्याण्ड्स जानेछ । जहाँ नेपालले घरेलु टिमसँग अगष्ट १ र ३ मा दुई खेल खेल्नेछ । नेपाली टिमले भोलि देखि बन्द प्रशिक्षण गर्नेछ ।

यसमा तपाइको मत