नेपाल–भारतबीच नेपालमा जल यातायात संचालनबारे छलफल सुरु


काठमाडौं, असार ३१ नेपाल–भारतबीच नेपालमा जल यातायात संचालनबारे छलफल सुरु भएको छ । नेपाल–भारतबीच नेपालमा जल यातायात संचालनबारे ठोस कार्य योजना बनाउने उद्देश्यका साथ आइतबारबाट काठमाडौंमा सहसचिव स्तरीय छलफल सुरु भएको हो ।

नेपालको कोशी, गण्डक वा नारायणी मध्ये एक नदीमा तत्काल जल यातायात संचालन हुने गरी द्विपक्षीय छलफल सुरु गरिएको जल तथा ऊर्जा आयोगको सचिवालयका सहसचिव माधव बेल्बासेले जानकारी दिए ।

बैठकमा भारतीय पक्षले नेपालमा जल यातायात संचालनका लागि आवश्यक सबै खालको सहयोग गर्ने प्रतिवद्धता जनाएको उनले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा दुई पक्षीय छलफल गरी नेपालमा जल यातायात संचालनको कामलाई अघि बढाउने सहमति भएको थियो ।

त्यही सहमति कार्यान्वयनमा लैजाने गरी जल यातायात क्षेत्रको समग्र पक्षको अध्ययन गर्न द्विपक्षीय छलफल सुरु गरिएको हो । सहसचिव स्तरीय छलफलमा नेपालमा जल यातायात संचालनका लागि भारतको पटनास्थित कालुघाटमा नेपाली पक्षले तत्काल स्थलगत अवलोकन गर्ने सहमति पनि भएको छ ।

जल यातायात संचालनका लागि दुवै देशका सम्भावित नदीमा छिट्टै स्थलगत अवलोकन गर्ने सहमति पनि गरिएको सहसचिव बेल्बासेले जानकारी दिए ।  दुई दिनसम्म चल्ने बैठकमा दुवै देशका प्राविधिक पनि सहभागी छन ।

बैठकमा भारतीय पक्षले नेपालको तराई क्षेत्रमा देखिएको डुबान समस्या समाधान गर्न पनि प्रतिवद्धता जनाएको छ ।

यसमा तपाइको मत