डा.केसीको समर्थमा देशभरका सरकारी अस्पतालका डाक्टर आजदेखि फेरि आन्दोलनमा


काठमाडौं, साउन ८ । अनसनरत डाक्टर गोविन्द केसीको समर्थनमा सरकारी अस्पतालमा कार्यरत चिकित्सकहरु आजदेखि फेरि आन्दोलनमा उत्रिएका छन् । नेपाल चिकित्सक संघले आजदेखि सरकारी अस्पतालमा आकस्मिक बाहेकका सेवा नदिने घोषणा गरेको छ ।

संघले एक विज्ञप्ती जारी गरी देशभरका सरकारी अस्पतालमा आकस्मिक बाहेकका स्वास्थ्य सेवा ठप्प पारेर बैकल्पिक ओपीडी सेवा सञ्चालन गर्ने जनाएको छ । अनसनरत डाक्टर केसीको मागप्रति सरकार गम्भिर नभएको भन्दै संघले सरकारी अस्पतालमा नियमित ओपीडी, टिकट, रसिद र बिल बहिस्कार गर्ने घोषणा गरेको हो ।

संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले बिरामीको स्वास्थ्यमा असर नपर्ने गरी आन्दोलन भइरहेको बताए । स्वास्थ्य संस्थाको टिकटमा बिरामीको स्वास्थ्य जाँच नगरिएको तर खुल्ला रुपमा बिरामीलाई सेवा दिइरहेको उनको भनाइ छ । देशभरका स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकलाई विरोधमा उत्रिन संघले आह्वान गरेको अध्यक्ष श्रेष्ठले बताए ।

अनसनको २५ औँ दिनसम्म पनि डाक्टर केसीको माग सम्वोधनमा  सरकारले बेवास्ता गरेको भन्दै आक्रोसित बनेका चिकित्सकहरुले दिउँसो आफु कार्यरत स्वास्थ्य संस्थामा अनशन, ¥याली, धर्ना लगायतका विरोधका कार्यक्रम गर्ने तयारी पनि गरेका छन् । चिकित्सक संघको आह्वानमा चिकित्सकहरु काठमाडौ बसन्तपुर डवलीमा  अनसनमा  बसेका छन् ।

सोलिडारिटी फर डाक्टर गोबिन्द केसी अलायन्सले जारी राखेको सामुहिक अनसनमा आजदेखि संघले पनि साथ दिएको डाक्टर केसीका सहयोगी प्रितम सुवेदीले जानकारी दिए । यसैबीच नेपाली कांग्रेस र उसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले डाक्टर केसीको समर्थनमा आज पनि विरोध प्रर्दशन गर्दैछन् । केसीको समर्थनमा दिनहँुजसो विरोध प्रर्दशन हुँदै आएका छन् ।

ससंसदमा दर्ता भएको चिकित्सा शिक्षा विद्येधक फिर्ता नलिएसम्म अनसन नतोड्ने डाक्टर केसीको अडान छ । सरकारले केसीको स्वाथ्य अवस्था ठिक भएपछि केसीसँगै बार्ता गरेर निकास निकाल्ने बताउँदै आएको छ ।

यसमा तपाइको मत