नेपाल भारत व्यापारमा भएको समस्यालाई तत्काल समाधान गर्दैछौं : प्रधानमन्त्री ओली


काठमाडौं, साउन १९ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भारत व्यापारमा भएको समस्यालाई तत्काल समाधान गरिने बताएका छन् ।
उद्योग संगठन मोरङले आज प्रधानमन्त्री निवास बालुवटारमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

हालसम देखिएका व्यापारका असमझदारीहरु हटाउन उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयका सहसचिबको नेतृत्वमा एक टोलीलाई भारतीय समकक्षीसँग छलफल गर्न तत्काल पठाउने लागिएको प्रधानमन्त्री ओलीले जानकारी दिए ।

नेपालमा हुन लागेको विमस्टेक सम्मेलनमा सहभागी हुन आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग व्यापार समस्याको बारेमा कुरा गरिने प्रधानमन्त्री ओलीले बताए । “विमस्टेकमा आउनुभएका राष्ट्रप्रमुखसँग सामुहिक रुपमा र व्यक्तिगत रुपमा पनि हाम्रा व्यापारका समस्या समाधानका लागि हामी कुरा गर्र्छौं । ”

प्रधानमन्त्री ओलीले उद्यमी र सरकार मिलेर नेपालको परिचय बदल्नु पर्ने बताए । “नेपाललाई आयातकर्ताबाट निर्यातकर्तामा,गरिब नेपालबाट सम्पन्न नेपालमा,पछौटेपनबाट आधुनिक नेपालमा,बेरोजगार नेपालबाट रोजगारयुक्त नेपालमा बदल्नु पर्दछ” प्रधानमन्त्री ओलीले भने “नेपालको पुरानो परिचय बदल्नका लागि उद्यमी व्यवशायीले योजना ल्याउन त्यसमा सरकारको साथ सहयोग हुन्छ ।”

प्रधानमन्त्री ओलीले अहिलेको बढ्दो व्यापार घाटालाई कम गर्नु पर्ने, व्यापार सन्तुलन कायम गर्नुपर्ने र समग्र आर्थिक अवस्था परिवर्तन गर्नुपर्ने बताए ।
प्रधानमन्त्री ओलीले नेपालीहरुमा उपभोक्तावादी चिन्तन बढेको बताए । “विश्वको जुनसुकै ठाउँमा निस्केको अत्याधुनिक फेसन पनि नेपालीले लगाएकै छन् । अत्याधुनिक खाना पनि खाएकै छन् ” ओलीले भने “तर आफ्नोमा त्यस्तो फेसन बनाउने वा खाना उत्पादन गर्नेतिर हाम्रो ध्यान छैन । व्यापार घाटा घट्ने मुख्य कारण पनि उपभोक्तावादी चिन्तन नै हो ।”

अहिलेको सरकार स्थिर भन्नाले गतिहिन नभएको प्रधानमन्त्रीले बताए । देशलाई स्थिरता चाहिएको छ । जनताले स्थिरताको अपेक्षा गरेको तर अगाडी नै नबढ्ने एकै ठाउँमा अडिरहने सरकार नचाहेको प्रधानमन्त्रीको भनाइ छ ।

“जनताले स्थिरताका लागि पनि गतिशिल सरकारको अपेक्षा गरेका थियो । त्यो पुरा भएको छ । अब यो सरकाले तिनै जनताको अपेक्षा बमोजिमका काम गर्छ ” प्रधानमन्त्री ओलीले भने ।

उद्योगको स्थापना र सञ्चालनका लागि सरकारले जे जति सहुलियत दिन सकिन्छ त्यसमा सरकारले कञ्जुष्याईं नगर्ने प्रधानमन्त्री ओलीले प्रतिवद्धता व्यक्त गरे । सरकारले दोहोरो तेहोरो कर नलिने प्रधानमन्त्रीले बताए ।

व्यावशायीहरुले कर वृद्धिको बिषयमा गुनासो गरेपछि प्रधानमन्त्रीले त्यस बिषयमा आफूले थप जानकारी लिने तर दोहोरो करको व्यवस्था चाँही हटाइने बताए ।

कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले नेपालको व्यापार सन्तुलनका लागि सरकारले गर्नुपर्ने तत्कालिन र दीर्घकालिन कामका बारेमा एक कार्यपत्र प्रस्तुत गरेका थिए ।

यसमा तपाइको मत