नेपाली क्रिकेट टोली आज स्वदेश फिर्ता


पहिलो ओडिआई सिरिज खेल्दै नेदरल्याण्ड्स विरुद्ध पहिलो ओडिआई जित हात पारेको नेपाली क्रिकेट टोली आज स्वदेश फर्केको छ ।

ऐतिहासिक ओडिआई जितेको नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्यसिचव केशव कुमार विष्ट लगायतले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन्् । नेपाली टोलीका युवा स्टार सन्दीप लामिछाने भने सीपीएल खेल्नका लागि नेदरल्याण्ड्सबाटै वेष्टइन्डिज गइसकेका छन् ।

नेदरल्याण्ड्स पुगेका १९ सदस्यीय टोली मध्ये कप्तान पारस सहित १४ खेलाडी, म्यानेजर, प्रशिक्षक, फिजियो र ट्रेनर सहित १८ सदस्यीय टोली फर्किएका हुन् । स्वदेश फर्केपछि नेपाली टोलीका कप्तान पारस खड्काले त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै पहिलो एक दिवसीय क्रिकेट नेपालका लागि ऐतिहासिक बनेको बताए । उनले आउँदा दिनमा नेपालले धेरै खेल्न र गर्न बाँकी रहेको बताए । तर अझै पनि खेलमा सुधार गर्न भने बाँकी रहेको बताए । उनले अब आफूहरुको ध्यान एसिया कप छनोटमा केन्द्रित हुने पनि बताए ।

पहिलो पटक ओडिआई मान्यता पाएको साँढे ४ महिनापछि नेदरल्याण्ड्ससँग २ खेलको ओडिआई सिरिज खेलेको नेपालले दोस्रो खेल १ रनले जितेको थियो। । पहिलो खेलमा भने नेपाल ५५ रनले पराजित भएको थियो। नेपालले अब यसै अगष्टको अन्तिममा एसिया कप छनोट खेल्दैछ। उक्त छनोटबाट विजेता हुने टोली एसिया कपको लागि छनोट हुनेछ। सन् १९९६ देखि अन्तराष्ट्रिय क्रिकेट खेल्न सुरु गरेको नेपालले २२ वर्षपछि गत मार्चमा जिम्बावेमा भएको वान डे वर्ल्डकप क्वालिफायरमा एसोसिएटतर्फ उत्कृष्ट तीन स्थान हात पार्दै आगामी ४ वर्षका लागि ओडिआई स्ट्याटस पाएको हो।

यसमा तपाइको मत