सम्बन्ध विच्छेदका लागि अब महिला र पुरुषलाई समान अधिकार


काठमाडौं, साउन २३ । सम्बन्ध विच्छेदका लागि अब महिला र पुरुषलाई समान अधिकारसहितको कानुन लागू हुने भएका छन् । भदौ १ गतेदेखि लागू हुने मुलुकी देवानी संहिता ऐन, २०७४ अनुसार अब पुरुष पनि सम्बन्ध विच्छेदका लागि सोझै अदालत जान पाउने भएका हुन् ।

अहिले महिलाले मात्रै सम्बन्ध विच्छेदका लागि सिधै अदालत जान पाउने व्यवस्था रहेपनि पुरुषले भने गाउँपालिका, नगरपालिका हुँदै विभिन्न प्रक्रिया पूरा गरेर मात्रै अदालत जान पाउने व्यवस्था छ ।

सम्बन्धविच्छेदअघि पति पत्निबीच हुने अंशवण्डामा पनि कानुनले नयाँ व्यवस्था गरेको छ । हाल सम्बन्ध विच्छेद गरेपछि जस्तो सुकै परिस्थितीमा पनि पुरुषले आफ्नो आधा सम्पत्ति महिलालाई दिनुपर्ने कानुन छ । तर नयाँ कानुनमा भने पुरुषका कारण नभई महिलाकै कारण सम्बन्ध विच्छेद भएको प्रमाणित भए महिलाले अंश नपाउने व्यवस्था गरिएको कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रवक्ता रमेश ढकालले जानकारी दिएका छन् ।

पुरुषको कारणले सम्बन्ध विच्छेद भएको प्रमाणित भएमात्रै महिलाले अंश पाउन सक्नेछन् । अहिले बालविवाह र बहुविवाह गराउनेलाई सजायँ हुने भएपनि विवाह रद्ध हुँदैन । तर नयाँ कानुन अनुसार सजाँयसँगै विवाह रद्ध हुने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ । जिल्ला प्रशासन कार्यालयमा हुँदै आएको विवाह दर्ता अर्थात कोर्ट म्यारिज पनि भदौ १ गतेदेखि जिल्ला अदालतमा हुने व्यवस्था नयाँ कानुनमा गरिएको छ ।

यसमा तपाइको मत