विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विक (प्रकाण्ड) पक्राउ


काठमाडौं, साउन २३ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ पक्राउ परेका छन्।  प्रकाण्डलाई काठमाडौंको दक्षिणकाली नगरपालिका चाल्नाखेलबाट पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

उनलाई हिजो साँझ साढे ७ बजे नै पक्राउ गरिएपनि प्रहरीले ढिलो गरी सार्वजनिक गरेको हो । उनलाई अहिले काठमाडौं प्रहरी परिसर टेकुमा राखिएको छ । माथिल्लो तहकै आदेशमा प्रकाण्डलाई पक्राउ गरिएको प्रहरी स्रोतको भनाई छ ।

२०६८ सालमा तत्कालिन नेकपा एमालेका नेता झलनाथ खनाल प्रधानमन्त्री रहँदा प्रकाण्ड पर्यटन तथा नागरिक उड्ययन मन्त्री बनेको थिए । गएको निर्वाचनमा चन्दा संकलन तथा विस्फोट लगायतका घटना गराएको आरोप चन्द नेतृत्वको पार्टीमाथि लाग्दै आएको छ ।

विप्लव नेतृत्वको नेकपाले निर्वाचन बहिस्कार गरेको थियो । २०७० पुसमा मोहन वैद्य नेतृत्वको माओवादीबाट फुटेर विप्लवले गठन गरेको नेकपाका नेता सुरुदेखि नै अर्धभूमिगत रहँदै आएका छन् ।
यसअघि हिजोमात्रै विप्लव नेतृत्वको नेकपाका  केन्द्रीय सदस्य आजाद केसी भक्तपुरबाट पक्राउ परेका थिए । त्यस्तै केही दिनअघि पार्टीका चार पोलिटव्युरो सदस्यहरु मोहन कार्की, कृष्ण धमला, ओमप्रकाश पुन र पदम राईलाई पनि प्रहरीले नागढुंगाबाट पक्रेको थियो ।

यसमा तपाइको मत