रुसविरुद्ध नयाँ प्रतिबन्ध लगाउने अमेरिकाको तयारी


अमेरिकाले रुसविरुद्ध नयाँ प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । पूर्व रुसी जासुस सर्गेइ स्क्रिपल र उनकी छोरी यूलियालाई बेलायतमा स्नायु प्रणालीमा असर पार्ने विषबाट आक्रमण गरेको घटनालाई लिएर अमेरिकाले रुसविरुद्ध नयाँ प्रतिबन्ध लगाउन लागेका हुन् ।

अमेरिकाले यो आक्रमणमा रुसको नै संलग्नता रहेको ठहर गरेको छ । अमेरिकी विदेश मन्त्रालयकी प्रवक्ता नार्ट हिथरले रुसी सरकारले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गर्दै आफ्नै नागरिकविरुद्ध जैविक हतियार वा घातक रसायन प्रयोग गरेको जिकिर गरेका छन् । प्रतिबन्ध २२ अगस्टदेखि लागू हुने प्रवक्ता हिथरले बताएका छन् ।

नयाँ प्रतिबन्धमा संवेदनशील खालका इलेक्ट्रोनिक सामानहरूलगायत अन्य प्राविधिक कुराहरूको निर्यात पर्ने बिबिसीले जनाएको छ । गएको ४ मार्चमा ६६ वर्षीय स्क्रिपल र उहाँकी ३३ वर्षीया छोरी यूलिया इङ्ल्याण्डको सेलिस्बरी सिटी सेन्टरमा बेहोस अवस्थामा भेटिएका थिए । हप्तौं लामो अस्पताल बसाईपछि अहिले उनीहरु दुवै पूर्णरुपमा ठिक भएका छन् ।

यो घटनाले बेलायत र रुसको सम्बन्ध पनि बिगारेको थियो । आक्रमणमा रुसको संलग्नता रहेको भन्दै बेलायतसहित विभिन्न २० भन्दा बढी देशले रुसी कुटनीतिज्ञलाई देश निकाला गरेका थिए । रुसले भने रासायनिक आक्रमणमा आफ्नो संलग्नता अस्विकार गर्दै आएको छ ।

यसमा तपाइको मत