गोपाल तामाङ र अजय तामाङ प्रहरीको इन्काउन्टरमा नै मारिएका हुन् : गृहमन्त्री थापा


चितवन, साउन २५ । गृहमन्त्री रामबहादुर थापा बादलले अपहरणपछि हत्या घटनामा संलग्न गोपाल तामाङ र अजय तामाङ प्रहरीको इन्काउन्टरमा नै मारिएको दाबी गरेका छन् ।

११ वर्षका बालक निशान खड्काको अपहरणपछि हत्या गर्ने उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएर इन्काउन्टरका नाममा गोली हानी हत्या गरेको आरोप लागिरहेका बेला गृहमन्त्री थापाको यस्तो अभिव्यक्ति दिएका हुन् ।

भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री थापाले अपहरणकारीलाई २४ घन्टामा निस्तेज पार्न सरकार सफल भएको बताउँदै फेक इन्काउन्टर हल्ला मात्र भएको दाबी गरेका छन् ।

उनले ११ वर्षीय बालक निशान खड्काका अपहरणकारीहरु इन्काउन्टरमै मारिएको दाबी गर्दै हल्लाका पछाडी नलाग्न समेत आग्रह गरेका छन् ।

सञ्चारकर्मीहरुको प्रश्नमा उनले २४ घण्टा भित्र नै अपहरणकारी र हत्यारालाई निस्तेज पार्न सरकार सफल भएको र मुल कुरा त्यो रहेको बताएका छन् । गृहमन्त्री थापा यो घटना घटेका बेला नेपाल बाहिर थिए ।

बिहिबार उनले घटनाका सम्धन्धमा छानविन गर्ने बताएका थिए । सिंहदरबारमा बसेको प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा इन्काउन्टरबारे गृहमन्त्रालयले छानविन गर्ने बताएका गृहमन्त्री थापाले आज गृहजिल्ला चितवनमा त्यो ‘फेक इन्काउन्टर’ नभएको ठोकुवा गर्दै गोपाल र अजय प्रहरीको इन्काउन्टरमा नै मारिएको दाबी गरेका हुन् ।

यसमा तपाइको मत