अर्जेन्टिनामा गर्भपतनलाई वैधता दिन ल्याइएको विधेयक संसदद्धारा खारेज


अर्जेन्टिनामा गर्भपतनलाई वैधता दिन ल्याइएको विधेयक संसदले खारेज गरेका छन् । विधेयकमा १४ हप्तासम्मको गर्भपतनलाई कानुनी मान्यता दिने प्रस्ताव गरिएको थियो ।

संसदमा १६ घण्टा लामो बहसपछि भएको मतदानमा ३८ सांसदले विधेयकको विपक्षमा मतदान गरेका थिए भने पक्षमा ३१ मत परेका थिए । विधेयक खारेज भएपछि विरोधीहरु खुशी भएका छन् भने समर्थक निराश भएको अन्तर्राष्ट्रिय संचार माध्यामले जनाएका छन् ।

विधेयकको पक्षमा रहेकाहरुले कानुनी मान्यता नदिइए पनि महिलाले गर्भपतन गराउने तर गैरकानुनी हुँदा ज्यान गुमाउन सक्ने खतरा भएको टिप्पणी गरेका छन् । विधेयक विरोधीले भने अवोध बच्चाको ज्यान लिने अधिकार कसैलाई नभएको भन्दै गर्भपतन गराउन पाउनु महिलाको समस्या समाधानको उपाय हुन नसक्ने जिकिर गरेका छन् ।

संसदमा विधेयकमाथि मतदान हुँदै गर्दा संसद भवन बाहिर दुवै पक्षले प्रदर्शन गरेका थिए । यसपटक विधेयक खारेज भएपछि यसलाई दोस्रो पटक संसदमा पेश गर्न एक वर्ष पर्खनु पर्नेछ । अर्जेन्टिनामा गर्भपतनलाई लिएर लामो समयदेखि बहस चलिरहेको छ ।

यसमा तपाइको मत