आगामी ३ वर्षभित्र नेपालको आर्थिक वृद्धिदर दुई अंक नजिक पुग्ने प्रक्षेपण


काठमाडौं, भदौ २४ ।  राष्ट्रिय योजना आयोगले आगामी ३ वर्षभित्र नेपालको आर्थिक वृद्धिदर दुई अंक नजिक पुग्ने प्रक्षेपण गरेको छ ।
सिंहदरबारमा आईतबार बसेको अर्थ समिति बैठकमा आयोगका सदस्य सचिव लक्ष्मण अर्यालले आर्थिक वर्ष ०७७–०७८ सम्म आर्थिक वृद्धि ९.५ प्रतिशत हुने अनुमान गरेको बताएका छन । त्यस्तै आगामी आर्थिक वर्ष ०७६–०७७ मा ९.१ प्रतिशत हुने अनुमान गरिएको उनको भनाई छ ।

आयोगको भूमिका , बिगतका प्रयास र भावि कार्यदिशाका बारेमा समितिलाई जानकारी गराउदै अर्यालले ३ वर्षमा कृषि क्षेत्रको ६.६ र गैरकृषिको १०.७ प्रतिशतले विस्तार हुने अनुमान गरिएको जानकारी दिए । सो अवधिमा गैरकृषि मध्ये उद्योगको १४.९ र सेवा क्षेत्र ९.४ प्रतिशतले विस्तार हुने पनि उनले बताएका छन ।

यस्तै सन् २०२२ सम्म ७५३ स्थानीय तहमा ऊर्जा र स्वास्थ्य सेवा पुर्याउने र सोही वर्ष विकाशशील मुलुकमा स्तरोन्नोती हुने, सन २०३० सम्म मध्यम आय भएको मुलुकको स्तरमा नेपाललाई पुर्याउने सरकारको लक्ष्य पुरा गर्नका लागी २ खर्ब १६ खर्ब चाहिने बताए । उनले राजनीतिक स्थायीत्वपछि मुुलुकको आर्थिक बृद्धि दर बढ्ने पनि बताएका छन ।

बैठकमा समिति सदस्यहरुले गरिवीको रेखामुनी रहेकाको संख्यालाई कम गर्न योजना आयोजले गरेको तयारीका बारेमा प्रश्न गरेका थिए । उनीहरुले कृषकलाई सुविधा दिनेतर्फ सोच्न पनि योजना आयोगको ध्यानाकर्षण गराएका छन् ।

व्यापार घाटा कम गर्न र लक्ष्य अनुसार आर्थिक वृद्धिदर पछ्याउन राष्ट्रिय योजना आयोगले गरेका योजनाका बिषयमा पनि बैठकमा सांसदहरुले प्रश्न उठाएका थिए ।

यसमा तपाइको मत