बा र चन्द्रमा : पुरुषोत्तम लम्साल


मैनले नबने पनि

नौनी नदले पनि

कोमल कोमल छ चन्द्रमा

शितल शितल छ

बा जस्तै

आमा जस्तै।

दिनभर सेकिएर तापमा

दिनभर धसिएर धापमा

दिनभर खेलेर लुकामारी दु:खमा

झुलुक्क झुल्कन्छ मेरो शिरानीमा

एक अञ्जुली न्यानो बोकेर

अंगालोभरीको स्नेह बोकेर

मलाइ बा जस्तो लाग्छ चन्द्रमा

मलाइ चन्द्रमा जस्तो लाग्छ बा ।

पूर्णे आयो

बा चम्किलो बनेर आउँछन्

दु:खको औंशीले छोप्दै जान्छ

बा कुना पसेर के गर्छन थाहा छैन

बिलौना साट्लान् सायद आमासँग

ताराहरुमा उज्यालो भर्न

नसकिएको

ताराहरुमा खुसी छर्न नसकिएको ।

मलाइ

शितमा पनि वासना आउँछ

बाको पसिनाको

र, बाको पसिना

जूनको गीत जस्तो लाग्छ

मलाइ बा र चन्द्रमा मितजस्तो

लाग्छ।

आँधीका गीतहरु

असिनाका भाकामा

बाले कसरी गाए होलान् ?

बा बनेपछि थाहा भो

बा भीर रहेछन्

पहाड रहेछन् चट्टानहरुका

मलाई उस्तै प्रिय लाग्छन् अचेल

बा र चट्टानका गीतहरु।

तिमीले बा चिन्यौ ?

बिहान हराउनुअघि

तिमीलाइ सुम्सुम्याउने हात तिम्रो

बाको हो

तिमीले त चिनेनौ होला

शिरानीमा थपथपाउने हात तिम्रो

बाको हो।

बा

मेरो सृष्टीको हिस्सा

बा

मेरो उत्पत्तिको स्रोत

मलाई डर लाग्दैन

बाँकि संसारसँग आँखा जुधाउन

त्यहीं मलाई डर लाग्छ

बासँग टाउको उठाउन

जहाँ पृथ्वी विपक्षमा होस्

मात्र बाले ठीक छ भने खास

लाग्छ।

जंघार काट्न

मलाइ कि जून चाहिन्छ

कि बा चाहिन्छ ।

जहिल्यै खोल्छु मनको दैलो

मलाइ बा चन्द्रमा जस्तो लाग्छ

मलाइ चन्द्रमा बा जस्तो लाग्छ।

बाको काखमै थियो आधा चन्द्रमा

बाको छातीमै थियो पूरा आकाश

त्यसैले मैले कहिल्यै जून मागिन

बासँग।

यसमा तपाइको मत