अब निजी क्षेत्रमा काम गर्ने श्रमिकले पनि पेन्सन र उपदान पाउने


काठमाडौं, भदौ २५ । निजी क्षेत्रमा काम गर्ने श्रमिकले पनि अब पेन्सन र उपदान पाउने भएका छन् । योगदानमा आधारित सामाजिक सुरक्षा कोष अन्तर्गत पेन्सन र उपदान दिन सरकार, रोजगारदाता तथा ट्रेड युनियनहरु सहमत भएका हुन् ।

त्यसको मस्यौदा समेत तयार भइसकेको छ । पहिलो चरणमा ५ वटा सुविधा सुरु हुनेछ । प्रस्तावित सुविधा अन्तर्गत यो कोषमा योगदान गरेका श्रमिकमध्ये २०७६ साउन १ गते अगाडी देखि नै कोषमा योगदान गर्ने श्रमिकले अवकास सुविधा पाउनेछन् ।

यसैगरी २०७६ साउन १ गते पछि रोजगारीमा आउने श्रमिकले ६० बर्ष पछि बाँचुञ्जेल पेन्सन पाउने भएका हुन् । तर यो सुविधा योगदानमा आधारित हुने भएका कारण जुन श्रमिक र उसको रोजगारदाताले योगदान गरेको हुन्छ उसले मात्र पाउनेछ । सुविधामा सहभागी हुन अब एक–डेढ महिना पछि सुरु हुने सूचीकरणमा आफूलाई सूचिकृत गर्नुपर्नेछ ।

सामाजिक सुरक्षा कोषमा सहभागी हुने नहुने भन्ने विषयमा श्रमिकलाई छनौटको अधिकार भएपनि रोजगारदाताले भने सहभागी हुन्न भन्न पाउँदैनन् । हाल मस्यौदा तयार भएको यो सुविधा योजनामा श्रमिकले अवकास र निवृत्तिभरण सुविधासँगै औषधि उपचार तथा स्वास्थ्य सुरक्षा सुविधा, मातृत्व सुरक्षा योजना, दुर्घटना र अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना सञ्चालनका लागि त्रिपक्षीय सहमति भइसकेको छ ।

यसमा तपाइको मत