निर्मला हत्या प्रकरण : छानबिन समितिबाट राजीनामा दिएका केसीले राजिनामा फिर्ता लिए


काठमाडौं, भदौ २७ । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी किशोरी निर्मला पन्तको घटना जाँचबुझका लागि गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय छानबिन समितिबाट राजीनामा दिएका उपसचिव वीरेन्द्र केसीले राजीनामा फिर्ता लिएका छन् ।

समितिमा प्रदेश ७ को अन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट प्रतिनिधित्व गरेका उपसचिव वीरेन्द्र केसीले बुधबार गृहमन्त्रालयमा पत्रकार सम्मेलन गर्दे काममा फर्कने बताएका हुन् । उनले समितिका संयोजकसहित भएको छलफलबाट वास्तविक दोषी पत्ता लगाउने सम्बन्धी मन्त्रालय र आफ्नो उद्देश्यमा एक मत भएकाले पुनः छानबिन कार्यमा फर्कने निर्णय गरेको बताएका छन ।

त्यस्तै उनले सुरक्षाका बारेमा गृहमन्त्रालयलाई जानकारी गराएको र सुरक्षाको व्यवस्था गर्ने भनेपछि आफु काममा फर्केको बताए । केसीले आफुलाई राजीनामा फिर्ता दिन कतैबाट दवाव पनि नआएको दाबी गरेका छन । आफूले छोड्दा अपराधी छुट्ने सम्भावना रहने भन्दै उनले पुनः समितिमै रहेर काम गर्ने जानकारी पनि दिएका छन् ।

गृह मन्त्रालयले घटनाको अनुसन्धान गर्न आइतबार मात्रै समितिको म्याद १५ दिन म्याद थप गरेको छ । म्याद थपिएसँगै केसीले समितिबाट राजीनामा दिएका थिए । भदौ ७ मा सरकारले घटनाको छानबिन गर्न कारागार व्यवस्था विभागका महानिर्देशक सहसचिव हरि मैनालीको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

यसमा तपाइको मत