भाद्र शुक्ल चतुर्थी आजबिघ्नहर्ता गणेशको जन्मोत्सव मनाइँदै


काठमाडौं, भदौ २८ । भाद्र शुक्ल चतुर्थीका दिन बिहीबार बिघ्नहर्ता गणेशको जन्मोत्सव मनाइँदैछ ।  शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकारप्राप्त छ ।

हरितालिका तिजको व्रत पारायण गरी गणेशको व्रत गर्ने शास्त्रीय मान्यता रहेको छ । मध्याह्नकालमा ऋद्धि, सिद्धिसहितका गणेशको पूजा गरी अघ्र्य चढाउने विधि छ । भाद्र शुक्ल तृतीयाका दिन सुखद् दाम्पत्य जीवन तथा सुखशान्तिको कामना गरेका व्रतालुले बिहीबार जीवनमा बिघ्न नआओस् भनी कामना गर्न गणेश पूजा गर्ने विधान ‘गणेश पुराण’मा उल्लेख गरिएको छ ।

मङ्गल चतुर्थीसमेत भनिने यो दिन काठमाडौँको अशोकविनायक, चन्द्रविनायक, भक्तपुरको सूर्यविनायक, कमलविनायकलगायत देशभरका गणेश मन्दिरमा भक्तजनको भीड लाग्छ । नेवार समुदायले आजको दिनलाई ‘चथा’ पर्वका रूपमा मनाउँछन् । यस दिन बालबालिकालाई ‘छुस्यामुस्या’ बाँड्ने चलन छ ।

यसमा तपाइको मत