हिन्दु नारीहरुले सप्तऋषिको पूजा गरी ऋषि पञ्चमी मनाउँदै


काठमाडौं, भदौ २९ । भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमी पर्व आज हिन्दु नारीहरूले सप्तऋषिको पूजा आराधना गरी मनाउँदैछन् । ब्रतालु महिला आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३ सय ६५ वटा दत्तिवनले दाँत माझ्ने र गाईको गोबर, माटो र खरानी लगाई नुहाउने गर्दछन् ।

यसरी नुहाएपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गरिने हुँदा यसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ । सप्तऋषिको पूजा गर्ने पञ्चमीका दिन भएकैले आजको पञ्चमीलाई ऋषि पञ्चमी भन्ने गरिएको पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्राध्यापक डाक्टर रामचन्द्र गौतमले बताएका छन ।

रजस्वलाका समयमा कुनै त्रुटि भए आज सप्तऋषिको पूजा गर्नाले मुक्ति मिल्ने धार्मिक विश्वास छ । पूजाआजा सकेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कला खाने चलन छ । आज काठमाडौँको टेकु, मूलपानीलगायत मुलुकभरका ऋषेश्वर मन्दिरमा पूजाआजाका लागि श्रद्धालु महिलाको भीड लागेको छ ।

यसमा तपाइको मत