निर्मलाका बाबु, आमा तथा परिवारजन न्यायका लागि छट्पटिरहनु दुःखद् : राष्ट्रपति भण्डारी


काठमाडौं, भदौ २९ । राष्ट्रपति विद्यादेवी भण्डारीले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको हत्यामा सङ्लग्न अपराधीलाई कानूनी कारवाहीको दायरामा ल्याउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराएकी छन् ।

राष्ट्रिय बाल दिवस २०७५ मूल समारोहलाई शुक्रबार काठमाडौमा सम्बोधन गर्दे राष्ट्रपति भण्डारीले ढिलो गरी न्याय पाउनु भनेको न्याय नपाउनु सरह भएको भन्दै गम्भीरतापूर्वक मनन् गरी हत्यामा सङ्लग्न अपराधीलाई कानूनी दायराभित्र ल्याई दण्डित गर्न सबै पक्ष सम्बेदनशील बन्नुपर्नेमा समेत जोड दिएकी छन ।

राष्ट्रपति भण्डारीले निर्मला पन्तका बाबु, आमा तथा परिवारजन न्यायका लागि छट्पटिरहनु दुःखद् रहेको जिकिर गरेकी छन् ।  उनले पन्तको बलात्कारपछि हत्याको घटनाले आफूलाई अत्यन्त दुःखी तुल्याएको चर्चा गर्दै यस दुःखद् घटनाप्रति परिवारजनमा सहानुभूति प्रकट गरिन् ।

राष्ट्रपति भण्डारीले संविधानप्रदत्त बालबालिकासम्बन्धी मौलिक अधिकारलाई व्यावहारिक रुपमा कार्यान्वयन गर्न आग्रह गर्दै प्रभावकारी र व्यावहारिक कार्यान्वयनले मात्र बालबालिकामाथि हुने हिंसा, दुव्र्यवहार अन्त्य गर्न सकिने बताएकी छन् ।

त्यस्तै गर्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले बालबालिकामाथि हुने हिंसा, दुव्र्यवहार तथा बलात्कारका घटना अन्त्य गर्न सामूहिक प्रयासको खाँचो रहेको बताएकी छन् ।

कार्यक्रममा खगेन्द्र नवजीवन विद्यालय जोरपाटीमा कक्षा १० मा अध्ययरत छात्रा सविता थापाले पछिल्लो समय निर्धक्क रुपमा सडकमा हिडडुल गर्न नसकिने अवस्था सिर्जना भएको बताएकी छन । त्यस्तै बालअधिकारकर्मी गौरी प्रधानले बालबालिका शान्ति क्षेत्र हुन् यसका लागि तीनै तहका सरकारले बालमैत्री नीति अवलम्बन गर्नुपर्नेमा जोड दिएकी छन् ।

यसमा तपाइको मत