निर्मला पन्तको मुचुल्कामा बाबुको ‘नक्कली’ औंठाछाप, निर्मलाको कपडा जलाएको पाईयो


काठमाडौं, असोज १० । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको मुचुल्कामा बाबुको ‘नक्कली’ औंठाछाप भेटिएको छ । साथै घटनास्थलमा बरामद भएको उनको कपडासमेत जलाएको पाइएको छ ।

गृहमन्त्री रामबहादुर थापा बादलले स्वयंले संसदीय समितिमा यसको खुलासा गरेका हुन् । संसदको राज्य व्यवस्था समितिको बुधबारको बैठकमा गृहमन्त्री बादलले भने, ‘लुगाहरु पनि जलाइएको रहेछ । यो त संरक्षण गर्नु पर्ने हो ।’

‘११ गते मुचुल्का उठाइएको थियो । त्यसमा उनको बाबुको पनि औंठाछाप भेटिएको छ । जबकी उनी १२ गते मात्र भारतबाट आएका थिए ।’

निर्मलाका बाबु यज्ञराज पन्तले पनि आफूले मुचुल्कामा औंठाछाप नलगाएको बताएका छन । ‘दाहसंस्कार गरेको ८/१० दिनपछि प्रहरी कार्यालयमा बोलाएर अर्कै कागजमा औंठाछाप लगाउन लगाएको थियो । मुचुल्कामा मेरो नाममा कसले औंठाछाप लगायो मलाई थाहा छैन ।’

शव भेटिएकै दिन ११ साउनमा प्रहरीले घटनास्थलमा भेटिएको निर्मलाको सुुरुवाल पानीमा पखालिदिएको थियो भने घटनास्थलको पनि संरक्षण गरेको थिएन ।

गृहमन्त्री बादलले निर्मला हत्यामा तत्कालीन प्रहरी टोलीले लापरवाही गरेको स्वीकार गरेका छन् ।

पन्तको हत्याबारे छानविन गर्न बनेको उच्चस्तरीय समितिले मंगलबार प्रतिवेदन बुझाएको र त्यसका आधारमा दोषीलाई छिट्टै पक्राउ गर्ने उनले बताएका छन । ‘यो मिति, गते भनेर त तोक्न सकिँदैन’ गृहमन्त्री बादलले भने, यति भन्नसक्छु, छिटो अपराधीलाई कानुनको कठघरामा उभ्याउन प्रयास भइरहेको छ ।’

यसमा तपाइको मत