नेपालले व्यापार गर्ने १ सय २५ राष्ट्रमध्ये एक सय राष्ट्रसँग व्यापार घाटा


काठमाडौं, असोज १४ । नेपालले व्यापार गर्ने १ सय २५ राष्ट्रमध्ये झण्डै एक सय राष्ट्रसँग व्यापार घाटा देखिएको छ । भारतसँगको व्यापार घाटा थप असन्तुलन देखिएको छ ।

तथ्यांक विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार भारतमा नेपाली बस्तुको निर्यात जम्मा आठ अर्ब ३२ करोड रुपैयाँ पुग्दा भारतबाट एक खर्ब ४६ अर्ब २२ करोड रुपैयाँ बराबरको आयात भएको छ ।

नेपालको कुल  दुई खर्ब ४७ अर्बको व्यापारमा भारतसँग मात्रै एक खर्ब ५४ अर्ब रुपैयाँ अर्थात ६२ प्रतिशत व्यापार रहेको छ । त्यस्तै दुई खर्ब १७ अर्ब रुपैयाँको नेपालको व्यापार घाटा रहेकोमा भारतसँग मात्रै एक खर्ब ३७ अर्ब अर्थात ६३ प्रतिशत व्यापार घाटा रहेको छ ।

अमेरिकासंग भने नेपालको  व्यापार नाफामा रहेको छ । नेपालले धेरै व्यापार गर्ने राष्ट्रमध्ये अमेरिका १६ औँ स्थानमा पर्छ । दुई महिनाको अवधिमा नेपालबाट अमेरिका १ अर्ब ८२ करोड रुपैयाँको सामान गएको छ भने अमेरिकाबाट एक अर्ब ४६ करोड रुपैयाँको आयात भएको छ ।

अमेरिकासंग नेपाल ३६ करोड ८ रुपैयाँ भन्दा बढी नाफामा छ । स्वदेशी उद्योगहरू पूर्ण रुपमा चल्न नसकेको अवस्था र नयाँ उद्योग स्थापना नभएकाले व्यापार घाटा बढिरहेको हो । चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा नेपालको व्यापार घाटा दुई खर्ब १७ अर्ब पुगेको छ ।   

यसमा तपाइको मत